शिक्षा

पोखरा विश्वविद्यालयको अठारौँं दीक्षान्त समारोह, शैक्षिक जनशक्तिको पलायन रोक्न सबै गम्भीर बनौँ : प्रधानमन्त्री

पोखरा विश्वविद्यालयको अठारौँं दीक्षान्त समारोह संपन्न भएको छ। प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ले सामाजिक न्याय, सुशासन र समृद्धि प्रतिको नेपाल सरकारको लक्ष्य हासिल गर्न शिक्षा क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

पोखरा विश्वविद्यालयको अठारौँं दीक्षान्त समारोहलाई आज विश्वविद्यालयको केन्द्रीय कार्यालय पोखरा–३० खुदी, ढुङ्गेपाटनमा सम्बोधन गर्दै उनले सङ्घीय शिक्षा ऐनमार्फत शिक्षा क्षेत्रका नीतिगत, संस्थागत, संरचनागत र कार्यगत चुनौती एवम् समस्या सम्बोधन हुने अपेक्षा गरिएको बताए।

 विश्वविद्यालयका कुलपतिसमेत रहेका उनले  विश्वविद्यालयबाट दीक्षित विद्यार्थीले विश्वबजारमा प्रतिस्पर्धी र अब्बल प्रमाणित गर्र्ने विश्वास व्यक्त गरे।

भूकम्प, कोभिड, रसिया युक्रेनयुद्ध लगायतले विश्वव्यापी अर्थतन्त्रमा पारेको असर र त्यसबाट नेपालको अर्थतन्त्रमा पारेको बाछिटालाई न्यूनीकरण गर्न र जलवायु परिवर्तनका कारण भविष्यमा आउन सक्ने सङ्कटबाट मुलुकलाई जोगाउने जिम्मेवारी बिध्यार्थी को काँधमा आएको वताए  ।

विश्वविद्यालायबाट प्राप्त ज्ञानलाई मुलुकमा उत्पादन, रोजगारी सिर्जना, शान्ति, स्थिरता र समग्र विकासको क्रमसँग जोड्न सक्नुपर्ने बताउँदै प्रधानमन्त्री दाहालले त्यसका लागि सिकाइलाई जीवनपर्यन्त प्रयोगमा ल्याउने, भावी पुस्तालाई उक्त ज्ञानको हस्तान्तरण गर्ने र नवप्रवर्तन र उद्यमशीलता प्रयोग गरी समाजको रुपान्तरणमा ठोस् योगदान पु¥याउनुपर्नेमा जाेड दिए । 

राज्यले प्राथमिकता क्षेत्र निर्धारण गरेका विषयमा अध्ययन अध्यापन तथा अनुसन्धानलाई जोड दिँदै शिक्षा, स्वास्थ्य, पर्यटन र उद्योगका विविध पक्षलाई सम्बोधन गरी विश्वविद्यलायले आफ्ना नीति तथा कार्यक्रमलाई विस्तार गर्नुपर्ने उनको भनाइ थियो । 

आफू कास्कीमा नै जन्मेको उल्लेख गर्दै उनले यो जिल्ला शिक्षा, स्वास्थ्य, पर्यटन र साहसिक खेलको धेरै सम्भावना बोकेको जिल्ला भएको वताए । सोही अवसरमा प्रधानमन्त्री दाहालले विभिन्न विधामा उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई पदक प्रदान गरेका थिए ।

दीक्षान्त समारोहमा प्रधानमनोी प्रचण्डले गरेकाे सम्वोधनको पूर्णपाठ

पोखरा विश्वविद्यालयको कुलपतिको हैसियतले अठारौं दीक्षान्त समारोहलाई सम्बोधन गर्न पाउँदा म गौरवान्वित भएको छु। देशको दोस्रो पर्यटकीयस्थल, कवि शिरोमणि लेखनाथ पौडेलको जन्मस्थल साततालको बाटिका शहर लेखनाथमा अवस्थित पोखरा विश्वविद्यालयको अठारौं दीक्षान्त समारोहमा विभिन्न कार्यक्रममा तह पार गरी दीक्षित हुनुहुने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाइ दिन चाहन्छु। तपाईहरूका लक्ष्य एवम् प्रगतिहरूले आउँदा दिनमा अझ बढी स्तरोन्नतिको अवसर पाओस् भन्ने शुभेच्छासहित तपाईहरूको भविष्य सफल तथा उज्ज्वल रहोस् भन्ने शुभकामना प्रकट गर्दछु।

उपस्थित आदरणीय महानुभावहरू,

आजभन्दा १४ वर्ष पहिले पोखरा विश्वविद्यालयको कुलपतिको हैसियतमा मैले वि.सं. २०६५ साल पौष २६ गते प्राज्ञिक भवन कम्प्लेक्सको उद्घाटन, नवौं सभाको बैठकको अध्यक्षता र २०७३ साउन २७ गते सम्पन्न भएको यसै विश्वविद्यालयको १७ औं सभाको अध्यक्षता, कुलपतिको हैसियतमा २०७३ फागुन ९ गते सोमबार आयोजित विश्वविद्यालयको १४ औं दीक्षान्त समारोहको अध्यक्षता र आज पुनः विश्वविद्यालयको १८ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्न पाउँदा खुशीका साथ निकै गौरवको अनुभूति भएको छ। मेरो जन्म कास्की जिल्लाकै ढिकुरपोखरी गा.वि.स. वडा नं. २ लिवाडेमा भएकोले यस जिल्लासँग मेरो भावनात्मक सम्बन्ध पनि रहेको छ। यो ठाउँ सुन्दर छ, रमणीय र मनमोहक पनि त्यत्तिकै छ। यो जिल्ला शिक्षा, स्वास्थ्य, पर्यटन र साहसिक खेलको धेरै सम्भावना बोकेको जिल्ला हो। त्यसैले पोखरा विश्वविद्यालयले अरू विश्वविद्यालयको तुलनामा शैक्षिक पर्यटन र स्वास्थ्य पर्यटनको विकासमा महत्वपूर्ण योगदान दिन सक्दछ भन्ने कुरामा बिमति रहँदैन। यसर्थ विश्वविद्यालयले स्तरीय उच्च शिक्षा, स्वास्थ्य र सामुदायिक सेवाको माध्यमले शैक्षिक र स्वास्थ्य पर्यटनको विकास र प्रबद्र्धनमा आफ्ना नीति तथा कार्यक्रम तय गर्दै अघि बढिरहेको छ। आजको यो गरिमामय समारोहमा तपाईहरूसामु उपस्थित भइरहँदा विश्वविद्यालयले देशका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गरेको छ भन्ने मैले विश्वास लिएको छु।

विश्वविद्यालयले उत्पादन गरेका जनशक्ति राष्ट्रको उन्नयन र विकास लागि महत्वपूर्ण स्रोत हुन् भन्नेमा कसैको दुईमत रहँदैन। जोश, जाँगर, आत्मबल र इच्छाशक्ति भएका युवा जनशक्तिहरू राष्ट्र निर्माणका अभिन्न अङ्ग हुन्। मुलुकको राजनीतिक, आर्थिक, सामाजिक एवम् शैक्षिक रूपान्तरणका लागि चाहिने योग्य जनशक्ति उत्पादन गर्ने थलो भनेको विश्वविद्यालय नै हो। यसका लागि राष्ट्रिय शिक्षा नीति २०७६ मा उल्लेख भएका उदेश्य अनुरुप ज्ञानमा आधारित समाज र अर्थतन्त्र निर्माणका लागि उच्च शिक्षाको पहुँच र गुणस्तर अभिवृिद्ध गरि विभिन्न क्षेत्रहरुमा सक्षम नेतृत्व प्रदान गर्न योग्य, दक्ष, वैज्ञानिक, नवप्रवर्तनात्मक, अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी र अनुसन्धानमुखी मानव संसाधन विकास गर्ने दिशामा यस विश्वविद्यालयले कार्य गर्नुपर्नेछ।

विभेदपूर्ण राज्य संरचनालाई चिर्नका लागि तीन दशक अघिदेखि थालेको महान् जनयुद्ध भन्नुस् अथवा जनआन्दोलन भन्नुस् त्यसको लक्ष्यलाई निचोडमा पु¥याउन हामी अझै प्रयासरत रहेको तथ्य यहाँ अभिव्यक्त गर्न चाहन्छु। विविध कारणले जकडिएका र उब्जिएका समस्याहरूको निराकरण गर्दै हरेक विसंगति र विकृतिहरूको अन्त्य र लोकतान्त्रिक मूल्य मान्यताका आधारमा स्वाधीन, स्वतन्त्र र आत्मनिर्भर राष्ट्र निर्माण गर्न शैक्षिक दक्ष जनशक्तिले महत्वपूर्ण योगदान दिन सक्छन्। तसर्थ पोखरा विश्वविद्यालयको यो चौधौं दीक्षान्त समारोहमा विभिन्न तह पार गरी दक्ष जनशक्तिको रूपमा उदाउनुभएका विद्यार्थी भाइबहिनीहरूले समाजमा प्रतिस्पर्धी र अब्बल प्रमाणित हुन कुनै कसर बाँकी राख्नु हुनेछैन भन्ने विश्वास लिएको छु।

विद्यार्थी भाइबहिनीहरू,

तपाईहरूले यस विश्वविद्यालयबाट प्राप्त गरेको ज्ञानलाई मुलुकमा उत्पादन, रोजगारी सिर्जना, शान्ति, स्थीरता र समग्र विकासको क्रमसँग जोड्न सक्नुपर्नेछ। त्यसका लागि तपाईहरूको सिकाइलाई जीवनपर्यन्त प्रयोगमा ल्याउने, भावी पुस्तालाई उक्त ज्ञानको हस्तान्तरण गर्ने र नवप्रवर्तनात्मक र उद्यमशीलता प्रयोग गरी समाजको रूपान्तरणमा ठोस योगदान पु¥याउनुपर्ने जिम्मेवारी तपाईहरूको काँधमा आएको छ। हिजो विश्वविद्यालयको कक्षाकोठामा पुस्तक अध्ययन र प्राध्यापकहरूको प्रयासबाट तपाईहरूले विभिन्न विधामा सैद्धान्तिक एवं व्यवहारिक ज्ञान आर्जन गर्नुभयो, अब त्यो ज्ञानलाई मुलुकको आर्थिक, सामाजिक तथा अन्य क्षेत्रमा देखिएका चुनौतीहरूलाई सामना गर्दै अवसरमा बदल्नुपर्ने बेला आएको छ। निसंकोच, इमान्दारिता र कर्तव्यनिष्ठ भई आफूलाई उदाहरणीय व्यक्ति हुने गरी समाजमा प्रस्तुत गर्नुहोस्। आगामी उर्जाशील वर्षहरूमा विभिन्न क्षेत्रमा रही तपाईहरूले मुलुकको लागि योगदान गर्ने बेला आएको छ। यसको लागि म तपाईहरूलाई अग्रिम शुभकामना दिन चाहन्छु।

राज्यले प्राथमिकताको क्षेत्र निर्धारण गरेका विषयहरूमा अध्ययन अध्यापन तथा अनुसन्धानलाई जोड दिँदै शिक्षा, स्वास्थ्य, पर्यटन र उद्योगका विविध पक्षलाई सम्बोधन गरी पोखरा विश्वविद्यालयले आफ्ना नीति तथा कार्यक्रमहरूलाई विस्तार गर्दै लैजानुपर्छ। विद्यार्थी संख्याका दृष्टिले यो त्रिभुवन विश्वविद्यालयपछिको दोस्रो ठूलो विश्वविद्यालय हो। दक्ष जनशक्ति उत्पादनका दृष्टिले पनि यसको स्थान अब्बल छ। वर्षेनी सीमान्तकृत, पिछडिएका विपन्न परिवारका सयौंको संख्यामा विद्यार्थीहरूलाई निःशुल्क छात्रवृत्ति दिनु भनेको सामान्य विषय होइन। विश्वविद्यालय जुन उद्देश्यलाई आत्मसात गर्दै अघि बढिरहेको छ, त्यसमा राज्यको पूर्ण समर्थन र सहयोग रहनेछ भन्नेमा ढुक्क हुन म सबैमा हार्दिक आग्रह गर्दछु।

वर्तमान सरकार नेपालको संविधानले व्यवस्था गरेबमोजिम निशुल्क शिक्षाको हकलाई व्यवहारमा कार्यान्वयन गर्न संघीय शिक्षा ऐनको अन्तिम तयारी गरिरहेको छ। संघीय शिक्षा ऐनमार्फत् शिक्षा क्षेत्रका नीतिगत, संस्थागत, संरचनागत र कार्यगत चुनौती एवं समस्या सम्वोधन हुने अपेक्षा गरिएको छ। सरकारको यस प्रयासमा यहाँहरू लगायत सम्पूर्ण शैक्षिक जगतको महत्वपूर्ण सहयोग रहनेछ भन्ने मैले विश्वास लिएको छु। सामाजिक न्याय, सुशासन र समृद्धि प्रतिको नेपाल सरकारको लक्ष्य हासिल गर्न शिक्षा क्षेत्रको भूमिका सबैभन्दा अग्रणी रहन्छ। शिक्षा क्षेत्रका सम्पूर्ण बौद्धिक महानुभावहरूको उच्च बौद्धिक सक्रियता, सकारात्मक  तथा रचनात्मक सहयोग, सहकार्यबाट नै सरकारले उल्लेखित लक्ष्य हासिल गर्न सकिनेछ भन्ने मैले विश्वास लिएको छु।

दीक्षित हुनुहुने विद्यार्थी भाइबहिनीहरू,

पोखरा विश्वविद्यालयका विभिन्न शैक्षिक कार्यक्रमहरूका विभिन्न शैक्षिक विधा र तहहरु पार गरी विज्ञको रूपमा आफुमा रुपान्तरण गर्नु भएका विद्यार्थी भाइबहिनीहरूले मुलुकको सर्वाङ्गीण विकासमा आफूले आर्जन गरेको ज्ञान र सीपलाई पूर्ण सदुपयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु। विश्वबजारमा प्रतिस्पर्धी र अब्बल प्रमाणित गर्न तपाईहरूबीच चुनौतीका चाङ भए पनि धैर्य, संयमित र दूरदर्शी भएर पोखरा विश्वविद्यालय लगायत मुलुककै प्रतिष्ठा उँचो राख्नुहुनेछ भन्ने आशा र विश्वास मैले राखेको छु। विभिन्न कारणले विदेश पलायन हुने जनशक्तिलाई रोजगारी र सीपका माध्यमले स्वदेशमै बस्नसक्ने वातावरण निर्माण गर्ने महत्वपूर्ण अभिभारा तपाईहरूको काँधमा पनि छ। एकातर्फ भूकम्प, कोभिड, रसिया–युक्रेन युद्ध लगायतले विश्वव्यापी अर्थतन्त्रमा परेको असर र त्यसबाट नेपालको अर्थतन्त्रमा परेको बाछिटाहरूलाई न्यूनिकरण गर्न राज्यले तपाईहरूको ज्ञान र सीपको अपेक्षा गरेको छ भने अर्कोतर्फ वातावरणीय र जलवायु परिवर्तनका कारण भविष्यमा आउनसक्ने संकटबाट मुलुकलाई जोगाउने जिम्मेवारी तपाईहरूको काँधमा आएको छ।

बदलिएको राजनीतिक व्यवस्थाबमोजिम जनताको अवस्था बदल्न एवं राष्ट्र निर्माणको अभिभारा पूरा गर्न तपाईहरू दिलोज्यानले समर्पित हुनुहुनेछ भन्ने मैले विश्वास लिएको छु। त्यसैले तपाईंहरू आ–आफ्नो कार्य क्षेत्रमा एक साहसिक र कर्मठ योद्धाका रूपमा निर्भिक र निडरका साथ इमान्दारी र कर्तव्यनिष्ठ भई देशको गौरव, प्रतिष्ठा र इज्जत अभिवृद्धि गर्ने कार्यमा हरदम प्रयासरत रहनुहुनेछ। तपाईंहरूको निरन्तर सफलताको कामना गर्दै तपाईहरूले आर्जित गरको शिक्षा र ज्ञान समाजका लागि उपयोगी बनोस् भन्ने हार्दिक शुभेच्छासमेत प्रकट गर्दछु।

अन्त्यमा दीक्षान्त समारोहका प्रमुख अतिथिज्यू, विश्वविद्यालय परिवार, सम्पूर्ण अतिथिज्यूहरू लगायत आज दीक्षित हुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू र उहाँहरूका अभिभावक र परिवारलाई आजको यो भव्य र सभ्य गरिमामय पोखरा विश्वविद्यालयको १८ औं दीक्षान्त समारोहको अवसरमा हार्दिक बधाइ दिँदै यहाँ उपस्थित सम्पूर्ण भद्रजन तथा विशिष्ट अतिथिहरूमा धन्यावादसहित आजको दीक्षान्त समारोह यहीँ समापन भएको घोषणा गर्दछु। धन्यवाद।

तपाईँको मत