कला

गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापना दिवसमा सात जना श्रष्टालाई सम्मान अर्पण

पोखरा । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित भएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठानले दोस्रो वार्षिकोत्सवको अवसरमा उनीहरुलाई शुक्रबार एक भव्य कार्यक्रमको आयोजना गरेर सम्मान अर्पण गरेको हो ।

यसरी सम्मानित हुनेहरुमा गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका श्रष्टा तीर्थ श्रेष्ठ, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट पर्वतका श्रष्टा शान्तिनारायण श्रेष्ठ, गण्डकी प्रज्ञा संगीत सम्मानबाट स्याङजाका श्रष्टा अम्मर गुरुङ पोखरेली, गण्डकी प्रज्ञा कला सम्मानबाट तनहुँका श्रष्टा आलोक गुरुङ छन् । उनीहरुलाई जनही एक लाख रुपैयाँ नगद, सम्मानपत्र, दोसल्ला सहित उच्च अदालत पोखराका मुख्य न्यायाधीश डिल्लीराज आचार्य, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकीका सचिव हेमराज सुवेदी, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का बिखर्ची, वरिष्ठ लोक दोहोरी गायिका हरिदेवी कोइराला, गण्डकी प्राविधिक शिक्षा तथा तालिम केन्द्रका निर्देशक डा. सोमनाथ सापकोटा लगायतले सम्मान अर्पण गरे  ।

यसैगरी गण्डकी प्रज्ञा प्रतिष्ठान नारी सम्मानबाट लमजुङकी माया गुरुङ सम्मानित भएकी छन् । उनलाई नगद पचास हजार रुपैयाँको साथमा सम्मानपत्र र दोसल्लाले सम्मान गरियो ।गण्डकी प्रज्ञा युवा सम्मानबाट मोती बहादुर कार्की परिवर्तन र लक्ष्मी थापा सम्मानित  भएका छन् । उनीहरुलाई नगद २५ हजार रुपैयाँको साथमा सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको हो ।

प्रतिष्ठानका कुलपति  विखर्चीको संयोजकत्वमा गठन भएको छनोट समितिले उनीहरुलाई छनोट गरेको हो । छनोट समितिमा वरिष्ठ कलाकार दुर्गा बराल वात्स्यायन, वरिष्ठ लोक दोहोरी गायिका प्राज्ञ हरिदेवी कोइराला, प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ र सदस्य सचिव मनकुमार श्रेष्ठ सदस्य रहेका थिए ।

तपाईँको मत