गाउँ सहर

सार्वजनिक सवारीको नयाँ भाडादर आजबाट कायम

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सरकारले अन्तर प्रदेशमा चल्ने सवारीको भाडादर घटाएको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपियाँ घटेसँगै सरकारले भाडादर पनि घटाएको हो ।

डिजेल र मट्टितेलको मूल्य १६५ रुपियाँबाट १५५ रुपियाँ प्रतिलिटरमा झरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार स्वचालित मूल्य प्रणालीको आधारमा नै सार्वजनिक यातायातको भाडादर घटेको हो । यात्रुवाहक सवारी साधनमा ३.२० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको हाे ।

अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तर पालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुने भएकाले प्रदेशभित्र सञ्चालित हुने यातायातका सन्दर्भमा विभागले कुनै निर्णय नगरेको उनको भनाइ छ ।

बागमती प्रदेशले नयाँ भाडा दर आज सार्वजनिक गर्ने

सार्वजनिक यातायातको घटेको भाडा आजदेखि लागु हुने यातायात व्यवस्था विभागले जनाए पनि काठमाडौं उपत्यकामा सञ्चालित सार्वजनिक यातायातका साधनले भने छुट दिएका छैनन् । प्रदेश सरकारले भाडादर घटेको सूचना जारी नगर्दा प्रदेशभित्र सञ्चालन भएका कुनै पनि यातायातका साधनले भाडा घटाएका छैनन् ।

श्रम रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशका उपसचिव सङ्कर राज पाठकले भाडा दर घटाउने विषयमा मन्त्रालयमा गृहकार्य चलिरहेको बताए । उनले भने, “यातायात व्यवस्था विभागले घटाएको मूल्यका आधारमा नै प्रदेश भित्र सञ्चालन हुने यातायातको भाडा घटाउनका लागि अहिले गृहकार्य चलिरहेको छ । भोलिसम्म सार्वजनिक गछौँ ।”

यस्तै अन्य छ वटा प्रदेशहरूले पनि आफ्नो प्रदेशभित्र सञ्चालन हुने यातायात साधनको भाडादर घटाउने तयारी गरिहरेका छन् । गत वर्षको असार २७ मा डिजेलको मूल्य १७२ रुपियाँ प्रतिलिटर हुँदा भाडादरमा स्वचालित मूल्य प्रणाली लागु गरिएको थियो । जस अनुसार पेट्रोलियम पदार्थको मूल्य पाँच प्रतिशत तलमाथि हुँदा भाडा दर घटने वा बढ्ने व्यवस्था छ ।

जस अनुसार अहिले डिजेलको मूल्य १५५ रुपियाँ प्रतिलिटर पुग्दा भाडादर ३.२० प्रतिशतले घटेको हो ।

गाउँ सहर संवाददाता

तपाईँको मत