दृष्‍टिकोण

‘महिला सशक्तिकरण र उद्यमशीलता’ एक चुनौति

महिला परिर्वतनका संवाहक भएको हुँदा अर्थतन्त्रमा उनीहरुको योगदान पछिल्ला दिनहरुमा बढिरहेको छ । लैङ्गिक समानताको कुरा गरिरहँदा व्यवहारमा भने बेला बखत कार्यस्थलमा हुने हिंसादेखि महिलाप्रति हुने विभेद र दुर्व्यवहारका घटनाले प्रश्न उब्जाईरहेको छ । देशका प्रशासनिक, व्यवसायिक प्रतिष्ठान, विश्वविद्यालय, यातयात लगायत हरेक क्षेत्रमा जुनसुकै योग्यता र दक्षता भएको बाैद्धिक व्यक्तित्व भएका वा नभएका केही पुरुषमा अझै पनि महिलाप्रतिको यौनिक नजरले हेर्ने र तदनुरुप व्यवहार गर्न खोज्ने र आफू अनुकुल कार्य नभएमा महिलालाई हरेक क्षेत्रमा दु:ख दिने प्रवृतिमा तात्विक सुधार देखिँदैन ।

हाम्रो जस्तो पुरुष प्रधान देशमा पुरुषको तुलनामा महिलाले कठिन संघर्ष गर्दै रोजगारी, शिक्षा, बालबच्चा, सासु, ससुरा, पतिसमेतको हेरचाहमा लागेको दृष्टान्तप्रति कसैको असहमति नरहला । तथापी उपरोक्त कार्यहरुको शिलशिलामा परोक्ष वा अपरोक्ष रुपमा महिलाहरु यौनहिंसाको शिकार भइरहेको समाचार दिनहुँ पढ्न र सुन्न पाईन्छ । कुल जनसंख्याको ५०.४ प्रतिशत अर्थात पुरुषभन्दा बढि महिलाको संख्या रहेको मुलुकमा शिक्षाको स्तर हेर्दा ४४.५ प्रतिशत छ भने पुरुषको ७१.६ प्रतिशत रहेको छ । देश विकासमा महिला सहभागिताको मुख्य चुनौति भनेको शिक्षा, रोजगारी, यौन शोषण, घरेलु हिंसा, बच्चा पाउनुपर्ने अवस्थाले बढि बिदा, महिला उद्यमशीलता सम्बन्धी नीति र महिला हिंसा, महिलाले पुरुष सरह काम गर्दैनन भन्ने भावना लगायत देखिन्छ । तसर्थ उपरोक्त समस्याको निराकरणको लागि महिला स्वयम् सचेत हुनुपर्ने, महिलामा म केही गर्न सक्छु भन्ने भावनाले नै महिला सशक्तिकरणमा योगदान पुर्‍याउन सक्छ । समाजका सचेत पुरुषले महिलालाई तिमीमा केही गर्ने खुबि छ तिमीले हरेक क्षेत्रमा आफ्नो काम सजिलै गर्न सक्ने अवस्था छ मात्र तिमीमा इच्छा शक्ति हुनु पर्‍याे भनेर उत्साहित बनाउने र सहयोग गर्न सकेमा महिला सशक्तिकरण धेरै टाढा छैन भन्ने कुरामा कसैको बिमति नरहला । हुनपनि आज व्यवसायिक प्रतिष्ठान, होटल, रेष्टुरेष्ट हवाई क्षेत्र, बैंकिङ्ग, सरकारी कार्यालय, घरेलु कामदार, वैदेशिक रोजगार, राजनीति र शिक्षा क्षेत्र लगायतमा महिलाले विभिन्न उच्च तहदेखि निम्न र मध्यम तहसम्म रहेर पुरुषभन्दा उत्कृष्ट ढंगले काम गरिहेको पाइन्छ । 

आर्थिक, सामाजिक र राजनीतिक परिर्वतनको लागि महिलाको भूमिका महत्वपूर्ण हुने हुँदा हरेक क्षेत्रमा महिला सहभागिता अपरिहार्य देखिन्छ । महिला सहभागिता हेर्दा पर्यटन, कृषि, उद्याेग, वाणिज्य, व्यापार, बैंकिङ्ग र विभिन्न व्यवसायिक लगायतमा दिनहुँ बढ्दो छ जसले महिलाको उद्यमशीलताको विकासको साथै आत्मनिर्भरतालाई बढाई रहेको छ । कुल महिला जनसंख्याको करिब ७० प्रतिशत महिला कृषिमा निर्भर छन् । हालैको जनगणना सम्बन्धी तथ्यांकले देशमा महिला जनसंख्या ५१.०२ प्रतिशत देखिएको छ तथापी राज्यबाट प्रदान गरिने अवसरमा भने महिलाहरु बञ्चित हुनु परेको अवस्था छ । करिब ३२ प्रतिशत महिलाहरु घरेलु हिंसा एवं यौन दुर्व्यवहारबाट पीडित पाईन्छ त्यसमा पनि अधिकांश त आफ्नै पतिबाट पीडित देखिन्छन् । ७९ प्रतिशत महिलाहरु श्रमक्षेत्रमा सहभागी भएर काम गरेको एक अध्ययनले देखाएको छ ।

कोभिड-१९ पछि भने महिला बेरोजगारीको दर नेपालमा विकराल रुपमा बढ्दै गएको देखिन्छ एकातर्फ भने अर्कोतर्फ उद्याेग, व्यापार एवं अन्य व्यवसायिक कार्यमा संलग्न महिलाहरु पनि व्याय योग्य आयको कमि र महँगीले निराश देखिन्छन् । नेपाल जस्तो कम आम्दानी भएका मुलुकहरुको महिलाहरुलाई आत्मनिर्भर बनाउनको लागि र महिलामा केही गरौँ भन्ने भावना जगाउनको लागि महिला उद्यमशीलता जरुरी छ । जोखिम वहन गर्दै स्रोत र साधनको उच्चतम परिचालन गर्ने प्रकृया उद्यमशीलता हो । हाम्रो जस्तो पुरुष प्रधान देशमा संविधानमा महिलाको लागि ३३ प्रतिशत आरक्षणका कुरा उठेता पनि व्यवहारमा लागु भएको देखिँदैन । बरु महिलाले काम गर्न सक्दैनन र उनीहरुमा योग्यता र दक्षता एव व्यवसायिकताको अभाव छ र उनीहरु घरकै चुलो चौकोमा रहनुपर्दछ भन्ने जस्ता परम्परावदी सोचबाट हामी मुक्त हुन सकेका छैनौँ । जसले महिलालाई नेतृत्व तथा व्यवसायिक अवसर एव राज्यको सुविधाबाट पछाडि धकेल्ने प्रवृतिले महिला सशक्तिकरण र उद्यमशीलता चुनौति थपेको छ । 

महिला उद्यमीलाई आर्थिक स्रोत र साधनको उपलव्धतालाई हेर्दा सरकारी अनुदान, वित्तीय क्षेत्रबाट ऋण सहयोग, सरकारी तथा गैरसरकारी संस्थाबाट आर्थिक सहयोग, महिला उद्यमशीलता कर्जा घरेलु विभागमार्फत आयआर्जन कार्यक्रम आदि देखिन्छ । सरकारको महिला मन्त्रालयले समेत समयमा नै महिला उत्थान, सशक्तिकरण, महिला आत्मनिर्भरता र महिला उद्यमशीलताको विकासमा पर्याप्त ध्यान दिनुपर्दछ तबमात्र महिला उद्यमशीलताको विकास भई महिला आत्मनिर्भरताको विकास हुन्छ । नाफा कमाउने उद्देश्यले महिलाद्वारा प्रवर्द्धित तथा व्यवस्थापन गरिएको कुनै पनि क्रियाकलापलाई महिला उद्यमशीलता भनिन्छ । महिला उद्यमशीलताको मुख्य लक्ष्य साना तथा मझौला उद्याेगको विकासमार्फत देशमा गरिबी हटाउने र नारी पुरुषबीचको विभेद हटाउने देखिन्छ ।

नेपाल जस्तो कम आम्दानी भएका मुलुकहरुको महिलाहरुलाई आत्मनिर्भर बनाउनको लागि र महिलामा के गरौँ भन्ने भावना जगाउनको लागि महिला उद्यमशीलता जरुरी छ । जोखिम बहन गर्दै स्रोत र साधनको उच्चतम परिचालन गर्ने प्रक्रिया उद्यमशीलता हो । महिलालाई प्रोत्साहन गर्नुको साटो महिलाले काम गर्न सक्दैनन् र उनीहरुमा योग्यता र दक्षता एव व्यवसायिकताको अभाव छ जस्ता आरोप लगाई महिलालाई नेतृत्व तथा व्यवसायिक अवसर, राजनीति एव राज्यको सुविधावाट पछाडि धकेल्ने प्रवृति अहिले पनि हाबी देखिन्छ । नेपालमा महिला उद्यमीको विकासको लागि नेपाल सरकारले महिला उद्यमी विकास कोष खडा गरि  विभिन्न निकायमार्फत महिला उद्यमीहरुलाई बैङ्किग क्षेत्रमार्फत ऋण सुविधा  र अन्य सहयोगसमेत उपलब्ध गराउँदै आएको छ । उद्याेग मन्त्रालयको सुरुवातीमा घरेलु तथा साना उद्याेगमार्फत विनाधितो सहुलियत दरमा विभिन्न बैंकमार्फत महिला उद्यमीलाई ऋण सहयोग प्रदान गर्दै आएको छ । सरकारको कार्यक्रम लागु गर्ने कर्तव्य बैंक तथा वित्तीय संस्थाको हो एकातर्फ भने अर्कोतर्फ बैंक तथा वित्तीय संस्थालेसमेत महिला लक्ष्यित कर्जा कार्यक्रमलाई बृहत रुपमा अगाडि बढाउन सकेमा मात्र देशमा महिला उद्यमशीलताको विकास संभव रहन्छ । साहसकासाथ महिला उद्यमीहरुले महिला व्यवसायको स्थापना, जोखिम र अनिश्चितताको वहन, नयाँ कुराको खोजी, नेतृत्व र निरीक्षण तथा सुपरिवेक्षण जस्ता कार्य प्रशंसनीय ढंगले नगरेका भने होइनन् । 

नेपालमा महिला उद्यमीहरुले धेरै समस्या भोग्नु परेको देखिन्छ जसमा पूँजीको अभाव, कच्चा पदार्थ अभाव, शिक्षाको अभाव, पुरुषको अधिपत्य रहेको समाज, पारिवारिक प्रेसर, गतिशिलताको अभाव (सामाजिक संरचनाको कारण), प्रतिस्पर्धा, जोखिम व्यहोर्ने क्षमताको अभाव, प्राविधिक सीप र दक्षताको कमी देखिएता पनि महिला उद्यमशिलताको क्षेत्रमा विगत केही समयदेखि उत्साहजनक प्रगति नभएको भने होइन । महिला उद्यमीले नियमित तालिमको व्यवस्था, महिला उद्यमीबारे जनचेतना फैलाउने, महिलाद्वारा संचालित उद्याेग तथा व्यवसायमा विशेष सहुलियतको व्यवस्था, बजार तथा बैंक ऋणको व्यवस्थापनमा सहयोग, निजी क्षेत्र र सरकारको साझेदारी जस्ता रणनीति बनाउने र कार्यान्वयन गर्ने कार्यमा पनि महिला अग्रपंक्तिमा देखिन्छन् । नेपालको संघीय राज्य प्रणालीमा महिला उद्यमीको भूमिकालाई हेर्दा राज्यको राजस्व दरमा वृद्धि, रोजगारीको सृजना, देशको निर्यातलाई बढाउन सकिने, सामाजिक चेतनाको अभिवृद्धि, आत्मनिर्भरताको वृद्धि, निर्णय क्षमताको विकास, स्रोत साधनको उचित परिचालन, महिला परिवर्तनका संवाहक जस्ता छन् ।

यसर्थ बैंक तथा वित्तीय संस्थाहरुले महिला उद्यमीको विकासको लागि विभिन्न कार्यक्रममार्फत वित्तीय सहयोग गरिरहेको छन् तापनि यो पर्याप्त देखिँदैन । बैंक तथा वित्तीय संस्थामासमेत महिलाप्रतिको विश्वासमा कमी देखिन्छ । महिलाहरुमा उद्याेग धन्दाको लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन निकै कठिन भन्ने गुनासो दर बढि रहेको अवस्थामा महिलाहरुलाई लक्ष्यित कर्जा कार्यक्रमको विस्तार र विकासको लागि बैंकहरुले महिला सम्बन्धित कर्जा हेर्ने र उद्यमशिलताको विकास गर्ने हेतु छुट्टै विभागसमेत गठन गर्ने बेला टड्कारो रुपमा देखा परेको छ यसतर्फ राष्ट्र बैंकले पनि आवश्यक कदम चाल्न ढिला गर्नुहुँदैन । महिला उद्यमशीलतामा बैंकिङ्ग क्षेत्रको भूमिका भएता पनि नेपाल राष्ट्र बैंकको व्याज अनुदानमा आधारित सहुलियतपूण कर्जा लिन सहज नभएको महिला उद्यमीहरुको गुनासो छ । सरकारले कार्यक्रम त राम्रो ल्याउँछ तर कार्यान्वयन पक्ष अत्यन्तै कमजोर रहेको गुनासो उनीहरुको छ । महिला उद्यमीले बैंकबाट विनाधितोे कर्जा समेत पाउने प्रावधान छ । महिलामा वित्तीय साक्षरताको अभावको कारण पनि यस्ता कर्जाको सदुपयोगितामा कमी आएको हो एकातर्फ भने अर्कोतर्फ कुल वित्तीय रुपमा साक्षर जनसंख्या नै जम्मा ५८ प्रतिशत रहेको तथ्यांक छ तथापी यसमा महिला साक्षरताको प्रतिशतमा अपेक्षित सुधार गर्नको लागि सम्बन्धित निकायको समयमा नै ध्यान जान जरुरी देखिन्छ ।

(लेखिका त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायमा स्नातकाेत्तर तहमा अध्ययनरत छिन् ।)

तपाईँको मत