ब्लग

नेपाली कला संस्कृतिलाई बिदेशी भूमिमा चिनाउने ‘हिमालय मेला’

"क्यान आइ ह्याब अ कफी?," एडमन्टन डाउनटाउनको एउटा टिमहर्टन  काउन्टरमा उभिएर मैले भने। 

अर्डर लिने गोरी केटीले अल्मलिय झैँ गरेर मलाई हेरी। म पनि केहि नबोली उसलाई हेरिरहे। 

"ह्विच कफी डु यु वान्ट ?", उसले अलिक असहज पाराले सोझी। 

" रेडिमेट कफी ", मैले तत्कालै भने। उसको अनुहारमा पुन: अल्मलिएको भाब देखियो।  

"वि ह्याब रेगुलर, डबल डबल, ट्रिपल ट्रिपल, डार्क रोस्ट' क्यापचिनो ...। ह्विच वन यु वान्ट? उसले मेरो अनुहारमा कम र कम्प्युटरको स्क्रिनमा अलि ज्यादा हेर्दै सोधी। उसले भनेको नाम समेत भन्न आउदैनथ्यो मलाई। किन पसेछु लाइनमा भन्ने भयो। मेरो पछाडी लाइनमा थुप्रै पसीसकेका थिए।  ति सबैले मलाई नै हेरे जस्तो लाग्यो। 

"रेडिमेट कफी ", मैले पुन त्यहि भने। कालो चिया, कागती हालेको चिया, दुध हालेको चिया, रेडिमेट चिया, मसला चिया भनेर अर्डर गर्ने बानि लागिको, त्यो भन्दा फरक  नाम होला भन्ने मैले सोचेकै थिइन। 

'मिडियम, लार्ज, स्माल, ह्विच साइज ?', फेरी सोधी।  मैले केहि मेसो पाएको भाँ मरिजाम। यो त जागिरको लागि इन्टरभिउ दिनु भन्दा कडा पर्यो। 

मैले त्यतिकै भने, " मिडियम।  बिल तिरेपछि उसले अर्को पट्टि गएर उभिन भनी।  म पनि त्यसैतिर लागे। त्यहाँ एकजना युरोपियन मुलको गोरे दाई पहिलेदेखि नै उभिए आफ्नो अर्डर कुर्दै रहेछ। सायद उसले मैले कफी अर्डर गर्दाको गतिबिधि राम्रैसंग हेरेको थियो होला, मलाई देख्नासाथ खिसिक्क हाँस्यो र मुन्टो दुइपल्ट तलमाथि गरायो। मेरो अनुहारमा भने जाँबो एउटा कफी पनि अर्डर गर्न नजानेको ग्लानिको भाब प्रष्ट नै थियो। उसले हेर्दा झन् लाज लग्यो। 

"ह्वेअर आर यु फ्रम", उसले आखाँमा साहनुभुतिको भाब देखाउदै सोध्यो। 

"नेपाल" मैले उसको अनुहारमा नहेरी भने। 

"ओं, कन्ट्री अफ हिमालयज, ब्युटिफुल कन्ट्री " भन्दै उसले मुन्टो हल्लायो। त्यतिकैमा मेरो कफी आयो। म कफी लिएर बाहिर निस्के। सडक पेटीमा उभिएर एकछिनसम्म कहाँबाट पिउने होला भने कपको बिर्कोको वरिपरि हेंरे। अझै मेसो पाइन। बिर्को खोलेर खानेहोला भनेर खोल्ने तरखर गर्दै थिए नजिकै उभिएको अर्को मान्छेले बिर्को संगै पिइरहेको देंखे। अलिपर कुनातिर गएर राम्रो संग नियालेपछिमात्र बिर्कोको छेउमा अलिकति काटेको देंखे। नङ गाडेर त्यहिँ भागलाई उप्काएर प्वाल पारे र एक सुरुप ताने। तातो कफी त्यो पनि टर्रो न टर्रो थुक्नु न निल्नु भयो। रेडीमेट भनेको त उसले सुद्द कफीको झोल पो दिईछ। अलिपर बाटोको छेउमा राखेको गार्बेज बिनभित्र थन्काएर कामतिर लागे। यस्ता खाले 'कल्चरल सक्' थुप्रै चोटी लागेको छ मलाई। 

जतिबेला हामि अन्य समुदायका मान्छेहरुसँग हुन्छौँ, त्यतिबेला रमाइलो गर्ने भन्दा पनि कतै गल्ति हुन्छ कि भनेर हरपल सचेत अवस्थामा हुन्छौ। कामगर्ने स्टाफहरुको गेटटुगेदर पनि रमाइलो हुदैन। सानो ठुलो कल्चरल सक लाग्छ लाग्छ। खुलेर हाँस्ने, रमाइलो गर्ने भनेको आफ्नै समुदायका साथीभाईहरु संग हो। 

क्यानडाको टोरोन्टोमा मात्रै  दुई दर्जन भन्दा बढी त नेपालि संघ सँस्थाहरु छन्। धेरै जसोको काम भनेको बर्षको एकपल्ट पार्कमा भेला भएर कुखुराका टंग्डी पोलेर खानी हो। कहिलेकाँही त लाग्छ टंग्डी पोल्नकै लागि त किन सँस्था खोल्नु पर्यो बाबै। तर जे होस् रमाइलो त गरेका छन्। साथीभाई भेट भएर खुलेर हाँसेका छन्। मज्जाले गफ छुटेका छन्। जानीनजानी हो मा मिलाएर नाँचेकै छन्। कहिलेकाँही त लाग्छ  बास्तबिक रमाइलो आफ्नो मन हो। यदि मन रमाएको छैन भने बाहिर  जतिसुकै हरियाली भएपनि भित्रि मनमा धुम्म बादलले ढाकेको हुन्छ। न कसैलाई भेट्न मन लाग्छ, न कसैसंग बोल्न। तर कहिले काँही त्यहि मनको बादल फटाउनको लागि भएपनि साथीभाईहरुसँग जबर्जस्ति बसेर पिउनु पर्दो रहेछ। देखावटी भएपनि हाँस्न पर्दो रहेछ। 

यसरि समरमा  सबैभन्दा धेरै नेपालीहरु भेला भएर टिम्हर्टनको कफी पिउने र गफ चुट्ने जक्सन हो स्कार्बोरो स्थित डेन्टोनियाँ पार्क। गत शनिबार स्वही कार्यक्रममा कुनैबेलाका चर्चित लोक गायक बुद्दिसागर बस्यालले अगष्ट १३ मा हुन गैरहेको  हिमालयन मेलामा  सबै नेपालिहरुलाई आउनको लागि अनुरोध गर्दै थिए। त्यहिबेला मेरो सात बर्षकी छोरी नजिकै आएर सोधिन् "बाबा ह्वाट इज हिमालयन मेला?"

"इट इज अ फेस्टिभल", मैले भने। 

"ओं नेपाली फेस्टिभल लाइक दशैँ ", उनले स्वाभाविक पाराले सोधिन। "एस" भनौ कि "नो " म अली अलमलमा परे। 

हिमालयन मेलामा सबैलाई निमन्त्रणा गर्दै गर्दा हिमालयन मेला के हो  भनेर ति कुथुन कुथुन गर्दै बल हान्दै गरेका कलिला केटाकेटीहरुले बुझ्ने गरेर भनेको भए हुने। त्यति मिठो स्वरका धनि बुद्दिसागरले एउटा गित गाएर यस्तै यस्तै गीतहरु गाउने, नेपालि मम, समोसा खाने भनेको भए उनीहरु पनि अगस्ट १३ कहिले आउछ भनेर कुर्थे कि झैँ लाग्यो। हुनत बाबुआमाले लगे जाने त हुन् उनीहरु। तरपनि हिमालयन मेलाको महत्व थाहा पाउथेकि कि भन्ने हो।  मैले हिमालय मेला एड्मन्टनको हेरिटेज फेस्टिभल जस्तै हो भनेर सम्झाएँ। उनीहरुले जसरि बुझ्छन त्यसरी नै सम्झाउन पर्यो। हेरिटेज भन्दासाथ् उनीहरुले सम्झे आइसक्रिम, मम, म्याङ्गो लस्सी, समोसा, कटन क्यान्डी। 

एड्म्न्टनको हर्लेक पार्कमा बर्सेनि हुने हेरिटेज फेस्टिभलमा नेपालको मात्रै नभएर संसारभरिबाट त्यहाँ आएर बसोबास गरेका मान्छेहरुरुले आफ्नो देशको झण्डासहित आफ्नो आफ्नो स्टल राख्छन। खानाको  विभिन्न परिकारहरु, नृत्य संगीतका साथै आफ्नो संस्कृति झल्किने विभिन्न झाँकीहरु समेत प्रस्तुत गर्छन। त्यो कार्यक्रम के बूढाबुढी, के केटाकेटि सबैले निकै रमाइलोका साथ् अबलोकन गर्दछन। क्यानाडा आएदेखि प्रत्यक वर्ष  हामि त्यो मेलामा जाने गरेका थियौ। अहिले त्यो सबैभन्दा ठुलो मल्टिकल्चरल फेस्टिभल एडमन्टन एक्स्पो सेन्टरमा चलिरहेको छ। 

एडमन्टनबाट टोरोन्टो मुभ भएको बर्ष म हिमालय मेलामा गएको  थिए। तानसेनमा आई ए सँगै पढेका तर त्यसपछि बिस तिस बर्ष नभेटेका  केही साथीहरु त्यहि मेलामा भेटेको थिएँ। यसरि बर्षौ पुराना साथीहरुसंग भेट गराएको थियो हिमालय  मेलाले। कयौ परिचित अनुहारहरु देखेको थिएँ त्यहाँ।  त्यसछि कोरोनाले गर्दा साथीहरु भेटघाट गर्ने तथा त्यस्ता खाले मेलाहरु पुरै बन्द भयो। लामो समय घर भित्रै बित्यो। त्यसपछि पनि धेरैजसो समय काममा नै बितेको छ। फाट्टफुट्ट कुनै कार्यक्रम भएपनि सबैतिर जान भ्याइदैन। 

काम गर्नेबेला हामीहरु प्रायजसो बिदेशीहरुसँगै हुन्छौ। त्यहाँ हामीहरु 'फिट इन् ' हुने कोशिस गर्छौँ तर बिलोंङ्ग गर्दैनौँ। आफ्नो वास्तविक सेल्फ भन्दा पनि बनावटी सेल्फमा अल्मलिएका हुन्छौ। जब हामि नेपालीहरुको कुनै जमघटमा जान्छौ तब मात्र हामीलाई त्यहाँ फिट् इन् को जरुरत पर्दैन। हामि त्यहाँ बिलोङ्ग गर्छौ। खुलेर हाँस्न पाउछौ। टाँठो टाँठो बोल्न पाउछौ। कुनैपनि कुरा बनावटी गर्नै पर्दैन। अझ भेगिए जमघटका बेला त गाँउघरमै भएको अनुभब हुन्छ। बाग्लुङ्ग सेवा समाजले बर्षेनी आयोजना गर्ने बनभोज कार्यक्रमले त  उतै गल्कोटतिरको  कुनै गाँउ ठाँउमा भएको भान गराउछ। पन्चेबाजा तथा भजनले पुराना स्मृतिहरु झल्झली आँखै अगाडी ल्याइदिन्छन। दिनभरी खेतमा काम गरेर राति बिहे तथा छैटीमा राम हेर्न गएका ति पुराना दिनहरुको याद आउछ। 

आउदो अगस्ट १३ का दिन टोरोन्टोमा  हुन गैरहेको हिमालयन मेला नयाँ आएका बिद्यार्थीहरुको लागि पनि फाइदाजनक नै हुनेछ। त्यो किनभने, एक त धेरै जसो बिद्यार्थीहरु नेपालि संघ संस्थाहरुले गर्ने कुनैपनि कार्यक्रममा (एक दुइजना बाहेक) गएको भेटिदैन।  एक त उनहरुले थाहा नै पाउदैनन। अर्कोकुरा यस्ता कार्यक्रमहरु भन्दा उनीहरुको लागि काम तथा पढाइनै ठुलो हुन्छ। बरु ठुलो बाकस जस्तो झोला बोकेर लाग्छन उबर गर्न। हिडेरै उबर गरेपनि पचास देखि सय डलरसम्म कमाउछन दिनभरमा। कहिले काँही यस्ता कार्यक्रमहरुमा नयाँ साथीहरु बनाउने मौका मिल्छ। नेटवोर्क बढ्छ। साथीहरुकै नेटवर्कले काम पाउन सजिलो समेत हुन्छ।  मेरो अनुभबमा थुप्रै नेपालि बिद्यार्थीहरु यहाँ आफ्नै साथीहरुको नेटवर्कबाट काम पाएका छन्।  अर्को कुरा केहि समयको लागि भएपनि नेपालि गित संगीतले तनाबबाट मुक्ति दिलाउने छ। मैले शुरुमा भने झैँ कल्चरल सक् लागेकाहरुलाई यो कार्यक्रमले बिर्साइदिने छ। 

डेन्टोनिया  पार्कमा भेला भएको बेला हिमालयन मेला आयोजक मध्येका एकजना मित्रले कसैलाई भन्दै थिए, "अहिले नेपालबाट थुप्रै बुवा आमाहरु आउनुभएको छ। हिमालयन मेलामा बज्ने पन्चे बाजा, नेपाली लोक भजन तथा विभिन्न जातजाति समुदायले प्रश्तुत गर्ने सांगीतिक तथा साँस्कृतिक कार्यक्रमले उहाँहरुलाई नेपाल सम्झाउने छ। बुवा आमाहरुले आफ्नै देशमा जस्तै कार्यक्रममा सहभागी भएर नेपाल फर्कदा एक सुखद अनुभब  लिएर फर्कनु हुने छ। तपाइहरुले पनि बुवाआमाहरुलाई जसरि भएपनि ल्याएर आउनुहोला है।" 

उनले कुरासके पछि मैले सोधे, " नेपालबाट को को कलाकार आउदै छन्? ' किनकि यस्ता कार्यक्रमहरुमा प्रमुख आकर्षक भनेकै नेपालबाट ल्याइने कलाकार हुन्। मेरो प्रश्नको उत्तरमा उनले थुप्रैजनाको नाम लिए। यो लेख्दै गर्दा भने मलाइ  शिब परिवारको नाम मात्र याद भयो। हुन त जतिजना आएपनि मुख्य कलाकारले अन्य कलाकारलाई छाँयामा पारिहाल्छन। हामीले एकछिन मनोरंजन लिने न हो। जुन कलाकार आएपनि हामिलाई के पो फरक पर्छ र ?

"खाना खानको लागि अहिले थुप्रै भेन्डोरहरु छन्। भोकै आउनुहोला,' आयोजक मध्यकै अर्को एकजनाले मजाक गर्ने शैलीमा भने। "खाना फ्री मा हो त?", मैले पनि जिस्किदै सोधे। उनले हाँस्दै भने "खानालाई टिकट लिनुस, कार्यक्रम फ्री।" उनले दश भन्दा बढी फुड भेन्डोरले आफ्नो स्पोट बुक गरिसकेको जानकारी पनि गरे। एउटा फुच्चे समुदायले शहरको मध्यभागमा त्यो पनि दश दश फुड भेन्डोर सहित यो कार्यक्रम गर्नु टोरोन्टोबासि नेपालिहरुको लागि पक्कै पनि खुशीको कुरा हो। यस्ता खाले कार्यक्रमहरुमा भेला भएर नाँच्दा, रमाउदा बेला बेला लाग्ने 'कल्चरल सक्' तथा मानशिक तनाबबाट हामि सबैलाई थोरै भएपनि राहत पक्कै पनि मिल्ने छ। 

खयर जे होस् हिमालय मेलाले नेपालि कला संस्कृतिलाई बिदेशी भूमिमा चिनाउन सहयोग गरोस। यहाँ हुर्किदै गरेको नयाँ पुस्ताहरुमा नेपालि हुनुको गर्ब महशुश गराओस्। काम छोडेर होस् या काम बाट सिधै नेथान फिलिप्स स्क्वेर पुगेका नेपालि दाजुभाई तथा दिदिबैनिहरुको अनुहारमा खुशी ल्याओस। भर्खर भर्खर नेपालबाट यहाँ आएका विद्यार्थीहरुले पनि यो मेलाको भरपुर फाइदा उठाउन। कार्यक्रम सफलताको कामना।

तपाईँको मत