कला

निर्देशकीय भूमिकामा मोहन कार्की

काठमाडाैँ । पत्रकारिता क्षेत्रमा लामो समयदेखि क्रियाशील रहेका तथा माइली उपन्यास लेखेर चर्चा कमाएका मोहन कार्की अव निर्देशकीय भूमिकामा समेत देखा परेका छन् ।

गीतकार तथा स्रष्टा बिनोद कार्कीको शब्द संयोजन रामकृष्ण थापाको संगीत तथा शिव सागर खड्का र चर्चित गायिका शान्ति श्री परियारले आवाज दिएको गीतमा जनआकाश मिडिया प्रा.लि.ले निर्माण गरिरहेको म्युजिक भिडियोमा निर्देशकको भूमिकामा मोहन देखा परेका छन् ।

पत्रकारिता क्षेत्रमा सक्रिय रहेका निर्देशक मोहन कार्कीका लागि निर्देशन नयाँ चुनौति भएतापनि गीतको भावना गाऊँले परिवेशको स्मृति अनि नयाँ कर्मप्रतिको रुचिका कारण पत्रकारितामा स्थापित भएजस्तै निर्देशनमा समेत गहन रुपमा प्रस्तुत भई दर्शक स्रोताका भावनामा शब्द, सुर र तालको त्रिवेणी संयोजनले अमिट छाप छोड्ने जमर्को नयां भूमिका निर्माण गर्ने प्रयासलाई स्वीकार गरेको बताउँछन् ।

जनआकाश साप्ताहिकमा कार्यरत सहकर्मी विनोद कार्कीको शब्द संकलन रहेको ‘ए हो कति राम्रो रामेछापको सीन कहिले होला तिमी र म सँगै हुने दिन । रामेछापको गाऊँले परिवेशलाई झल्काउने लोकजीवन एवं प्राकृतिक सुन्दरताले यहाँ घुम्न आउने पर्यटकको चित्ताकर्षण पार्ने वा गर्ने कुरालाई गीत मार्फत आकर्षक रुपमा प्रस्तुत गरेका छन् ।

अनामनगर स्थित वेभ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा छायांकनका क्रममा स्थानीय कलाकारहरु नवीन गौतम तथा बविता पोखरेलले मुख्य भूमिका निभाएका छन् भने कल्पना कार्की, सविना गर्बुजा कृष्ण पुन, नरेश पुन, केशव पुन, विनिता भण्डारी, लक्ष्मण नेपाल, कविर श्रेष्ठ, सविन गुरुङ र मन्दिप पुन,तथा करिश्मा पुन लगायतले नृत्य गरेर साथ दिएका छन् भने बरिष्ठ नृत्य निर्देशक गोविन्द प्रभातले समेत आफ्नो निर्देशनको लामो अनुभवलाई सदुपयोग गर्दै सहयोगी भूमिका निर्वाह गरेका थिए ।

मोहन कार्कीद्वारा निर्देशन गरिएको म्युजिक भिडियोको सम्पादन प्रेम शर्मा पौडेलले गरेका छन् भने कोरियोग्राफी कृष्ण रसाल र ड्रोन अपरेटिङमा कृष्ण ब्लोन रहेका छन् । काठमाण्डौ लगायत रामेछापका सुन्दर स्थानमा छायांकन गरिएको उक्त म्युजिक भिडियो निर्माणमा राजन महतराका साथै रामेश्वर जिरेल समेतको संलग्नता रहेको छ ।

उक्त गीतलाई जनआकाश साप्ताहिकको १६ औं वार्षिकोत्सवको अवसर पारेर काठमाडौं स्थित नेपाल–प्रज्ञा प्रतिष्ठान कमलादी लेखनाथ सदनको हलमा विमोचन गर्ने कार्यक्रम रहेको छ । साथै उक्त अवसरमा ‘स्रष्टा र सृर्जना सम्मान २०८०’ समर्पण गरिने कार्यक्रमसमेत रहेको छ । साथै यसै वर्षदेखि नेपाली नारीहरुको महत्वपूर्ण पर्व तीजलाई जनआकाश मिडियाले विशेष बनाउन २०८० असार २० गतेबाट साउन ५ गतेसम्म तीज गीत छनौटको लागि रचना पठाउन आव्हान गरेको थियो । जसमा प्राप्त रचनामध्ये उत्कृष्ट एकजनालाई सोही अवसर पारेर सुसेली सम्मान प्रदान गर्ने कार्यक्रमसमेत रहेको छ । सोही उत्कृष्ट ‘सुसेली ‘ तीजलाई जनआकाश मिडियाले निर्माण गरेर तीज अगावै म्युजिक भिडियोको रुपमा ल्याउने जनाएको छ ।

तपाईँको मत