कविता : देशको भविष्य विदेशमा छ
- विदुर तिमल्सिना \'देवदूत\'
- ५ असोज शुक्रबार, २०८० | ०९:११:०० मा प्रकाशित

आन्दोलन राजनीतिक संस्कार बनेपछि
बिना आन्दोलन आवाज बुलन्द नहुने भएरै होला
हालको सबै भन्दा ताजा खबर स् शिक्षकहरू सडकमा छन्
शिक्षकहरू आन्दोलनमा छन्
शिक्षा तालाबन्दीमा छिन्
विपन्न विद्यार्थीहरू छुट्टीमा रमाउँदैछन्
उनीहरूको भविष्य पनि छुट्टीमा छ ।
संपन्न विद्यार्थीहरू भिसा लाग्यो भन्दैछन्
उनीहरूको भविष्य अर्कै देश र दिशामा छ ।
ठीक यही बेला,
म देशको भविष्य सोच्दैछु
यो देशको खण्डित भविष्य-
आन्दोलनको अराजकतामा छ
छुट्टी बसेको सिकाईमा छ
भत्ता पचाउने सत्तामा छ
आँखामा पट्टी बाँधेर अन्यायको फैसला पढ्ने न्यायलयमा छ
दाम, खाम, नाम र तमामको लगाम मुताबिक
सेतोलाई कालो प्रमाणित गर्न सक्ने
कानूनी व्याख्या र अपव्याख्यामा छ ।
संकटको भुमरीमा आमालाई एक्लै छोडेर
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट
भविष्यले नै उडान भर्दै गरेको
मेरो देशको
यो कस्तो भयावह भविष्य !
हे जननी !
भोली म एक्लै भए पनि जानेछु
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द गर्न
म एक्लै भए पनि जानेछु
बन्द विद्यालयका तालाहरु फोड्न
यो देशको निधारमा समृद्द नेपाल, सुखी नेपाली लेख्न
म एक्लै भए पनि बगाउनेछु पसिना
म एक्लै भए पनि बागाउनेछु खुन ।
प्रीय पाठक;
अब उप्रान्त
यो देशको भविष्य विदेश पलायन भएको कविता लेखेर
देशको भविष्य विदेशमा छ लेखेर
मलाई कवि कहलिनु छैन ।
प्रतिकृया दिनुहोस