विदुर तिमल्सिनाकाे कविता : भाग्य र कर्म
- विदुर तिमल्सिना \'देवदूत\'
- १६ मङ्सिर शनिबार, २०८० | ०९:१४:०० मा प्रकाशित

एक थुङ्गो फूल चिहानमा झर्याे
अर्को थुङ्गो फूल मन्दिरमा चढ्यो ।
चिहान वा मन्दिर
भाग्यको कुरा हो,
झर्नु वा चढ्नु
भाग्यको कुरा हो ।
एउटा चिल्लो पत्थर मूर्ति बन्यो
मन्दिर भित्र स्थापित गरियो,
एउटा खस्रो पत्थर, पत्थर नै रह्यो
मन्दिर उक्लिने सिँढीमा प्रयोग गरियो,
भक्तहरू खस्रो पत्थरको सिँढी चढेर
चिल्लो पत्थरको दर्शन गर्न जान्छन् ।
चिल्लो वा खस्रो
भाग्यको कुरा हो,
मन्दिर वा सिँढी
भाग्यको कुरा हो,
पैताला मुनि वा शिर माथि
भाग्यको कुरा हो ।
मेरो ठुलो असहमति त छैन !
तर
म आफूलाई फूलसँग किन दाँजौँ ?
फूल मालीको सम्पति हो
म मेरै सम्पति हुँ
म फूल हुँ, मै माली हुँ
म आफूलाई मन परेको ठाउँमा, आफ्नो खुसीले फुल्छु
आमाको हृदय र प्रियतमाको शिरमा फुल्छु
भाग्यले मेरो अंकुरणमा हस्ताक्षर गर्याे
मेरो पल्लवन र पुष्पनमा म आफैँ हस्ताक्षर गर्छु ।
म आफुलाई
मूर्ति वा पत्थरसँग किन दाँजौँ ?
चिल्लो र खस्रोसँग किन दाँजौँ ?
म सँग जीवन छ
म खस्रो भाग्यलाई चिल्लो बनाउँने कर्म गर्न सक्छु
म पत्थर भाग्यलाई मूर्ति बनाउँने कर्म गर्न सक्छु ।
भाग्य र भरोशाले नखुलेका कयौँ ढोका
कर्म र निरन्तरताले खुल्छन् मित्र !
जस्तो कि,
भाग्यले तिमी मान्छे बन्यौ
कर्मले तिमीलाई असल मान्छे बनाउँछ
अमर मान्छे बनाउँछ ।
प्रतिकृया दिनुहोस