राजनीति

नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष घिमिरेले लिइन् शपथ

काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

बुधबार शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले घिमिरेलाई शपथ खुवाएका हुन् । घिमिरे बुधबार नै उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । 

बुधबार भएको उपाध्यक्षको निर्वाचनमा घिमिरे कांग्रेस उम्मेदवार विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै निर्वाचित भएकी हुन् ।

५९ सदस्यीय राष्ट्रियसभामा ३९ मतसहित घिमिरे उपाध्यक्षमा निर्वाचित भएकी छन् । उनलाई नेकपा एमाले, माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीका सांसदले मत दिएका हुन् । उपाध्यक्षकी अर्की प्रतिस्पर्धी कांग्रेसकी पुडासैनीले १६ मत मात्र पाइन् ।

२०७६ सालमा भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा घिमिरे लुम्बिनीबाट विजयी भएकी थिइन् । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा ८ हजार तीन सय ३८ मत प्राप्त गर्दै उनले काँग्रेस उम्मेदवार गिरिजादेवी न्यौपानेलाई पराजित गरेकी थिइन् । कपिलवस्तुको वाणगंगा निवासी घिमिरेको जन्मस्थान भने अर्घाखाँची हो ।

घिमिरे सामन्ती प्रवृत्तिको विरोध गर्दै राजनीतिमा होमिइएकी थिइन् । बुवा भारतमा काम गर्ने र परिवारमा जेठो सन्तान भएपछि घरधन्दा पनि मिलाउनुपर्थ्यो । यस्तो थिचोमिचो हटाउनका लागि उनले स्कुल जीवनबाटै राजनीति सुरू गरेकी थिइन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत