गाउँ सहर

किन खुलिरहेकाे छैन सिन्धुपाल्चाेककाे तातोपानी नाका ?

  • ६ बैशाख बिहीबार, २०८१ | ०७:११:०० मा प्रकाशित

सिन्धुपाल्चोक । तातोपानी नाकालाई पुरानै लयमा फर्काउन नेपाल पक्षका संवम्बद्ध निकाय तथा व्यक्तिहरुले छलफल गरेका छन्। २०७२ सालको भुकम्पछि बन्द अवस्थामा रहेको तातोपानी नाका खुलाउन नेपाल र चीनबीच पटक पटक संवाद भए पनि सार्थकता पाउन सकेको छैन।

बुधबार तातोपानी नाका खुलाउने विषयमा सङ्घदेखि स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, भन्सार प्रमुख, अध्यागमन, क्वारेन्टाइन, उद्योग वाणिज्य सङ्घ र स्थानीयको उपस्थितिमा तातोपानी नाका सञ्चालन तथा चुनौतीबारे छलफल भएको छ।

सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटाको अग्रसरतामा तातोपानी भन्सार कार्यालयमा भएको सर्वपक्षीय छलफल भएको हो।

बाह्रबिसेदेखि लिपिङसम्मको सडक मर्मत हुन नसक्दा नाका सञ्चालनमा समस्या आएको उपस्थितहरुको भनाइ थियो।

लामो समय बन्द रहेर गत भदौ १५ गतेदेखि मानवसहित दोहोरो आवतजावत खुलेको नाकाको सञ्चालन र चुनौतीबारे पूर्वबजेट छलफल तथा वर्षात्को समय सुरु हुन लागेकाले छलफल राखिएको उनले जानकारी दिए।

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नाका पुग्ने सडकको स्तरोन्नति चीनले गरिदिने विषयमा भएको सहमतिका सन्दर्भमा चिनियाँ पक्षसँग छलफल भएको जानकारी दिँदै सांसद सापकोटाले सडक विभागले बनाएको डिपिआरअनुसार सडक स्तरोन्नति गरिदिन आग्रह गरिएको बताए।

चीनले नेपालले तयार गरेको डिपिआरअनुसार काम गरेर सडक हस्तान्तरण गर्ने अवस्था नभएमा अर्थ मन्त्रालयबाट बजेट विनियोजन गरेर सडक स्तरोन्नति गरिने उनको भनाइ छ। सडक स्तरोन्नति, नाकामा अध्यागमनसहितको एकीकृत भवन, नेपालतर्पm स्वागतद्वारका विषयमा आफूले गम्भीरतापूर्वक अग्रसरता लिएर काम गरिरहेको सांसद सापकोटाले जानकारी दिए।

जुरेदेखि लिपिङखण्डलाई प्राथमिकता दिएर काम गर्न सडक विभागलाई सुझाव दिँदै उनले कोदारीको इको पहिरो क्षेत्र, डाक्लाङ क्षेत्र, जुरे र बाह्रबिसे क्षेत्रमा सडक सञ्चालन गर्ने साधन तयारी अवस्थामा राख्न निर्देश गरे। सांसद सापकोटाले सडक विभागका अधिकारीलाई तत्कालीन र दीर्घकालीन प्राथमिकताअनुसार काम गर्न सुझाव दिए।

भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पाले स्थानीय सरकारले नाका सञ्चालनका लागि सहजीकरण गरिरहेको बताए। अर्बौंको राजस्व उठाउने तातोपानी नाकालाई राज्यले गाईको दूध खाएर स्याहार नगरेजस्तो भएको गुनासो गरे।

उनले आगामी वर्षसम्म पनि सडक सुधार नभए नाका सञ्चालनमा कठिनाइ हुनसक्ने भन्दै चिन्ता व्यक्त गरे। अध्यक्ष शेर्पाले राजस्व उठेअनुसार राज्यले तातोपानी नाकालाई विशेष ध्यान दिनुपर्ने माग गरे।

प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले नाका क्षेत्रमा क्रमिक सुधार भए पनि धेरै काम हुन बाँकी रहेको सुनाए। बाटोलाई प्राथमिकता दिने सवालमा सबैको एकमत रहेको बताउँदै आचार्यले संघीय सरकारले बजेट निर्माण गर्दा सडक स्तरोन्नतिको विषयलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

छलफल आयोजनाका लागि सांसद सापकोटालाई धन्यवाद दिँदै उनले नेपालका गाडी लिएर चीनतर्फ जाने विषयमा छलफलको पहल गरिदिन र निकट भविश्यमा हुने नेपाल–चीन उच्चस्तरीय छलफलमा नाकासँग जोडिएका विषय उठाइदिन आग्रह गरे।

प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले प्रहरीले सीमाक्षेत्रको सुरक्षा संवेदनशीलतालाई विशेष ख्याल गरेको जानकारी दिँदै राजस्व चुहावट र अवैध सामान नियन्त्रणका सम्बन्धमा सुरक्षा सजकता अपनाइएको ब्रिफिङ गरे।

नेपाली पक्षबाट हुने सानो गल्तीले नकारात्मक सन्देश प्रवाह हुने भएकाले प्रविधिमा भएको उच्चस्तरको विकासलाई सुरक्षा क्षेत्रमा प्रयोग गर्ने वातावरण बनाउनुपर्ने धारणा राखे।
जिल्लाका सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेश्वर पोखरेलले जनशक्ति र स्रोतसाधनको अभावकाबीच नाकाक्षेत्रमा सुरक्षा दिइरहेको जानकारी दिए। भोटेकोसी गाउँपालिकामा नौ वटा सीमा पिल्लर रहेकामा बोक्चेन क्षेत्रमा ५४ दशमलव २ नं को पिल्लरको सुरक्षा एवं २०७१ सालमा भोटेकोसी बाढीले बगाएको ५४ दशमलव ३ नं को सीमा पिल्लर राख्नुपर्ने आवश्यकता औँल्याए।

अनुसन्धानका प्रमुख राजन प्रजापतिले भू–राजनीतिक हिसाबले महत्वपूर्ण नाकाबारे विशेष ख्याल गरिएको बताए। तातोपानी भन्सार प्रमुख दयानन्द केसीले भन्सारले तोकिएको लक्ष्यअनुसार रु आठ अर्ब राजस्व उठिसकेको जानकारी दिँदै यस वर्ष १२ अर्ब राजस्व उठ्ने विश्वास व्यक्त गरे।

नाका सञ्चालन भएपछि व्यापार, राजस्व, मानिसको आवतजावत बढिरहेको केसीले बताए। आगामी साउनदेखि तातोपानी नाका देशकै अत्याधुनिक नाका बन्ने चरणमा रहेको केसीको भनाइ छ । उनले भन्सार पुरानै लयमा फर्किए पनि सडक र पूर्वाधारका कारण चुनौती कायम रहेको बताए।

विगत १९ महिनायता भन्सार प्रमुख रहेका केसीले तातोपानी नाका भएर स्थलमार्गबाट आउने चिनियाँ पर्यटकको सङ्ख्या बढिरहँदा नेपालमा झमेला रहेनछ भन्ने सन्देश दिन नहुने भन्सार प्रमुख केसीले बताए।

तातोपानी नाका उज्ज्वल भविष्य भएको नाका रहे पनि अहिले आउनेहरुले ०७२ अघिभन्दा पनि कमजोर अवस्थाको बाटो देखेर दिक्क मान्ने गरेको केसीले सुनाए।

कृषि मन्त्रालयअन्तर्गत प्लान्ट, पशु र खाद्य गरी तीन क्वारेन्टाइन हेरिरहेका कौशल ओझा, विकास धौभन्जर र कल्पना पाण्डेले सहजरुपमा काम भइरहेको बताए।

डिभिजन सडक कार्यालय चरीकोटका इञ्जिनियर सुरज महर्जनले अरनिको राजमार्गको बाह्रबीसेदेखि कोदारी क्षेत्रको स्तरोन्नतिका लागि चार अर्ब खर्च लाग्ने देखिएको जानकारी दिँदै यसका लागि बजेट सुनिश्चित हुन नसकेको बताए।

उनले यस वर्ष बजेट अभावका कारण बिग्रेको बाटो पन्छ्याउने बाहेकका काम गर्न सकिने अवस्था नरहेको बताए। उनले अलिअलि भएको बजेटले टालटुलको काम मात्रै भइरहेको जानकारी दिए।

अध्यागमन अधिकृत दीपेन्द्र पौडेलले तातोपानी अध्यागमन कार्यालयसमेत नभएर अप्ठ्यारो झेलिरहनु परेको गुनासो गरे। सरदरमा दैनिक सय जना चिनियाँ पर्यटकले तातोपानी नाका भएर आवतजावत गर्ने गरेको जानकारी दिँदै उहाँले नेपाललाई देख्ने पहिलो मुहार अध्यागमन कार्यालय नै नाजुक अवस्थामा रहेकाले भौतिक अवस्था सुधारका लागि पहल गरिदिन आग्रह गरे।

उद्योग वाणिज्य सङ्घका महासचिव ईश्वर गुभाजुले भन्सार कार्यालयले व्यापारीलाई गरिरहेको सहजीकरणप्रति धन्यवाद ज्ञापन गर्दै नाका खुलेको आठ महिनामा पलाएको आशा कायम रहने वातावरण बन्ने विश्वास व्यक्त गरे।

भोटेकोसी गाउँपालिका–३ का अध्यक्ष निमा सोनामा शेर्पाले खुर्सानीबारीदेखि नाकासम्म पुग्ने सडकलाई नै पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिए।रासस

तपाईँको मत