रोहित भर्सेस वेस्टइन्डिज ‘ए’ ! तेस्रो हारसँगै नेपालले सिरिज गुमायो
- गाउँ सहर संवाददाता
- २० बैशाख बिहीबार, २०८१ | १६:५०:०० मा प्रकाशित
काठमाडौं । वेस्टइन्डिज ‘ए’ले चौथो टी २० खेलमा घरेलु टोली नेपाललाई २८ रनले हराउँदै एक खेल अगावै सिरिज जितेको छ ।
पाँच खेलको सिरिजमा वेस्टइन्डिज ३–१ ले अघि छ । पहिलो खेल हारे पनि त्यसपछि लगातार तीन खेलमा जितका साथ सिरिज जितेको हो ।
११० रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा १८१ रनमा अल आउट भएको छ । नेपालका कप्तान रोहित पौडेलले ४७ बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक ८२ रन बनाए पनि जित्नलाई पर्याप्त भएन ।
रोहितले पहिलो खेलमा ११२, दोस्रो खेलमा ७१ रन र तेस्रो खेलमा विश्राम गरेका थिए । रोहित बाहेक आजको खेलमा पनि अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
स्पिनर हेडन वाल्स जुनियरको १४औं ओभरको तेस्रो बलमा रोहित लङअफमा म्याथ्यु फर्डबाट क्याच आउट भएपछि शतकको अवसर गुमाएका थिए ।
ओपनर आसिफ शेख शून्य र कुशल भुर्तेल १ रनमा आउट भएका थिए । कुशल मल्ल ४, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी र गुलशन झा १९–१९ रनमा आउट भए ।
अभिनाश बोहरा ८ बलमा २ चौका र १ छक्कासहित १७ र सोमपाल कामी १० रनमा आउट भए ।
वेस्टइन्डिजका स्पिनर हेडन वाल्स जुनियरले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । म्याथ्यु फर्डले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । फबिएन एलेनले २ विकेट लिए ।
त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिजले २० ओभरमा ३ विकेट गुमाउँदै २०९ रन बनाएको थियो । वेस्टइन्डिजले लगातार चौथो खेलमा टस जितेर ब्याटिङ रोजेको थियो ।
शीर्षक्रमका ब्याटर आन्द्रे फ्लेचरले ५४ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक ८४ रन बनाए । फबिएन एलेन १९ बलमा २ चौका र ३ छक्कासहित ३३ रनमा नट आउट रहे । ओपनर जोनसन चाल्र्स ३० बलमा ३ चौका र ६ छक्कासहित ५८ रनमा आउट भएका थिए ।
ओपनर एलिक एथानाजेलाई प्रतिश जिसीले ५ रनमा आउट गरेका थिए । त्यसपछि जोनसन चार्ल्स र आन्द्रे फ्लेचरले ९२ रनको साझेदारी गरेका थिए । केसी कार्टी भने १० बलमा ४ रन बनाएर आउट भएका थिए ।
नेपालका तीव्र गतिका बलर प्रतिश जिसीले ४ ओभरमा ४३ रन खर्चेर १ विकेट लिए । कुशल भुर्तेलले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा नेपाल १० रन र तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो । पाँचौं तथा अन्तिम खेल शनिबार हुनेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सदनमा कांग्रेस र एमाले सांसदबीच कुँम ठाेकाठाेक
- संसदमा झडप (लाइभ)
- यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय
- शेरबजार : नेप्सेमा ४ अर्ब २३ करोडको कारोबार
- गिरीबन्धु टि-स्टेट प्रकरणमा देउवा-ओली आमने सामने
- संसद बैठक चार बजे
- कुनैपनि राजनीतिक दलको धम्कीमा हामी डराउँदैनौँ - डा. शेखर काेइराला
- सफाइ पाएसँगै सन्दीपको निलम्बन फुकुवा, विश्वकप खेल्न पठाउने तयारी
- सन्दीप लामिछानेकाे जिल्ला अदालतको फैसला उच्चले उल्टायो, पाए सफाइ
- यस्ताे छ प्रतिनिधिसभा बैठकका सम्भावित कार्यसूची
प्रतिकृया दिनुहोस