गाउँ सहर

आगलागीका कारण पछिल्लो पाँच वर्षमा चार सय २२ जनाले ज्यान गुमाए, साढे नौ अर्ब बराबरको क्षति

काठमाडौँ । आगलागीका कारण पछिल्लो पाँच वर्षमा रु साढे नौ अर्ब बराबरको क्षति भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआएम) का अनुसार आगलागीका कारण बस्तीलगायतका संरचनामा क्षति पुग्दा रु नौ अर्ब ४७ करोड ४५ लाख ९३ हजार दुई सय २७ बराबरको आर्थिक क्षति भएको छ ।

वि.सं. २०७७ देखि २०८१ को वैशाख दोस्रो सातासम्मको अवधिमा आगलागीका कारण उक्त क्षति भएको प्राधिकरणको भनाइ छ । सो आगलागीबाट चार सय २२ जनाले ज्यान गुमाएका छन् भने एक हजार सात सय छ जना घाइते भएका छन् ।

वि.सं. २०८१ मा पाँच सय ६८ वटा आगलागीका घटनाबाट करिब रु ३१ करोड ७६ लाख बराबरको क्षति भएको छ । आगलागीका कारण १६ जानाले ज्यान गुमाइसकेका छन् भने ५२ जाना घाइते भएका छन् । वि.सं. २०८० मा चार हजार ४६ आगलागीका घटनामा करिब रु दुई अर्ब ५२ करोड बराबरको आर्थिक क्षति भएको छ । यस अवधिमा एक सय आठ जनाले ज्यान गुमाएका थिए भने पाँच सय चार घाइते भएका थिए । वि.सं. २०७९ तीन हजार २४ वटा आगलागीका घटना भएकामा रु दुई अर्ब ५१ करोड बराबरको क्षति भएको थियो । सो अवधिमा भने एक सय नौ जनाको मृत्यु भएको थियो भने तीन सय ९२ जना घाइते भएका थिए ।

यसैगरी वि.सं. २०७८ मा भने दुई हजार छ सय ३१ वटा आगलागीका घटना हुँदा रु दुई अर्ब २६ करोड बराबरको क्षति हुँदा ९२ जनाले ज्यान गुमाएका छन् थिए भने तीन सय ७९ जना घाइते भएका थिए । यस अवधिमा आगलागीका कारण दुई हजार आठ सय ५७ घरपरिवार प्रभावित भएका थिए । साथै सात सय २५ घर आंशिक तथा सात सय ४९ घरमा पूर्णरुपमा क्षति पुगेको थियो । यस अवधिमा छ सय १३ गोठमा क्षति पुगेको र नौ सय ६८ पशु चौपयामा क्षति पुगेको थियो ।

वि.सं. २०७७ मा दुई हजार छ सय ३१ वटा आगलागीका घटना भएकामा रु एक अर्ब ८५ करोड बराबरको क्षति पुगेको थियो । साथै ९७ जनाको मृत्यु भएको थियो भने तीन सय ७९ जना घाइते भएका थिए । यस अवधिमा तीन हजार चार सय २७ परिवार प्रभावित भएका थिए साथै छ सय ९५ घरमा आंशिक र एक हजार एक सय ३८ घरमा पूर्णरुपमा क्षति पुगेको प्राधिकरणकाे भनाइ छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत