गाउँ सहर

गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको परिमार्जित आधारपत्र, २०८१ सार्वजनिक

पाेखरा । गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको परिमार्जित आधारपत्र, २०८१ सार्वजनिक गरिएको छ । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषदको गत जेठ ४ गतेको निर्णयअनुसार स्वीकृत दोस्रो पञ्चवर्षीय योजना (२०८१/८२–२०८५/०८६) को परिमार्जित आधारपत्र मंगलबार मुख्यमन्त्री खगराज अधिकारीले सार्वजनिक  गरे ।

राष्ट्रिय योजना आयोगले प्रदेशलाई परिपत्र गरी १४ वटा विषयगत क्षेत्र निर्धारण गरी योजना बनाउन निर्देश गरे पनि त्यसलाई अवलम्बन नगरेको पाइएकाले आधारपत्र परिमार्जन गरिएको उनकाे भनाई छ । ‘गरिबी न्यूनीकरण, समतामूलक समाज स्थापना र स्थानीय आर्थिक विकासलाई आधारपत्रले समेटेको रहेनछ, हामीले दिनको १८ घन्टाभन्दा बढी काम गरेर यसमा परिमार्जन गरेका छौं ।’ मुख्यमन्त्री अधिकारीले भने 

प्रदेश नीति तथा योजना आयोगको अध्यक्ष समेत रहेका मुख्यमन्त्री अधिकारीले दोस्रो आवधिक योजनाका उद्देश्य आर्थिक वृद्धि एवम् विकासका लाभको समतामूलक र न्यायोचित वितरण मार्फत समाजवाद उन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु रहेको बताए।

संघीयता कार्यान्वयनको हालसम्म प्राप्त महत्वपूर्ण उपलब्धि र अनुभव समेतका आधारमा संविधान निर्दिष्ट एकल तथा साझा अधिकारका विषयलाई कार्यान्वयन गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय आकांक्षा पुरा गर्न गण्डकी प्रदेश सरकार अग्रसर रहेको मुख्यमन्त्री अधिकारीको भनाई छ ।

समाजवाद उन्मुख स्वतन्त्र, आत्मनिर्भर र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्यलाई सार्थकता प्रदान गर्न “समृद्ध प्रदेशः सुखी प्रदेशवासी“ लाई मूल उद्घोष मान्दै दोस्रो पञ्चवर्षीय योजनाको सोच तय गरिएको अधिकारीले वताए  ।

उक्त प्रादेशिक सोच हासिल गर्न उत्पादकत्व वृद्धि मर्यादित जीवन र सामाजिक न्याय सहितको सुशासनयुक्त समुन्नत प्रदेश निर्माण गर्ने लक्ष्य निर्धारण गरिएको छ । समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न अभिप्रेरित रही गरिबी न्यूनीकरण, आर्थिक असमानताको न्यूनीकरण, सामाजिक समानता र स्थानीय आर्थिक विकासमा जोड दिँदै उल्लेखित लक्ष्य प्राप्तिका लागि प्रादेशिक उद्देश्य सहितका समष्टिगत रणनीति र प्रादेशिक विकास तथा रूपान्तरणका प्राथमिक क्षेत्रहरू पहिचान गरिएको छ ।

प्रदेश विकासका समष्टिगत रणनीतिहरूमा उत्पादन तथा उत्पादकत्व र दिगो आर्थिक वृद्धि गर्ने, मानव पुँजी निर्माण तथा न्यायपूर्ण समाजको स्थापना गर्ने, दिगो तथा उत्थानशील पूर्वाधार विकास तथा अन्तर आबद्धता अभिवृद्धि गर्ने, हरित,कार्बन तटस्थ तथा जलवायु अनुकूलनका कार्य र स्वच्छता अभिवृद्धि गर्ने रहेको छ ।

यसैगरी विकास प्रक्रिया तथा नतिजामा लैङ्गिक समानता तथा समावेशिता कायम गर्ने,नवीन ज्ञान तथा प्रविधिको अभ्यास र प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्ने, स्रोत परिचालन, सुशासन, अन्तरसम्बन्ध र साझेदारीलाई सबलीकरण तथा सुदृढीकरण गर्ने र प्रदेश नीति, योजना तथा विकास नतिजालाई अध्ययन, अनुसन्धान तथा प्रमाणमा आधारित बनाउने समेत प्रदेश विकासका समष्टिगत रणनीति हुन् ।

तय भएका प्राथमिक क्षेत्रमा सुदृढ प्रादेशिक अर्थतन्त्रको निर्माण, प्रभावकारी आर्थिक नीति तथा स्रोत व्यवस्थापन, व्यावसायिक कृषि तथा आत्मनिर्भरता, दिगो वन व्यवस्थापन, जैविक विविधता तथा जलाधार संरक्षण, बजारमुखी औद्योगीक उत्पादन एवम् दिगो पर्यटन, सर्वसुलभ स्वास्थ्य तथा जनसाङ्ख्यिक लाभ, शिक्षित, सुसंस्कृत तथा सिपयुक्त मानव पुँजी निर्माण रहेको छ ।

मर्यादित श्रम, गरिबी न्यूनिकरण तथा सामाजिक संरक्षण, दिगो तथा उत्थानशील पूर्वाधार निर्माण,स्वच्छ ऊर्जा, जलस्रोत तथा खानेपानी व्यवस्थापन, सन्तुलित वातावरण र जलवायु तथा विपद् उत्थानशीलता, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, सुदृढ शासन, सेवा प्रवाह र तहगत सम्बन्ध र सुसूचित नीति, योजना तथा विकास व्यवस्थापन प्रादेशिक विकास तथा रूपान्तरणका प्राथमिक क्षेत्रहरू हुन् ।

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.श्रीकान्त शर्मा खतिवडाले शिक्षा, स्वास्थ्य, लैंगिक समानता, सामाजिक समावेशीताको क्षेत्रमा केही परिमार्जन गरिएको बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत