कला
कविता : झरी
- एमबी खड्का
- २२ असार शनिबार, २०८१ | ११:१४:०० मा प्रकाशित

आकाश
प्रियाले छोडेको रात झैँ
एक्कोहोरो रोईरहेछ
झरी
बाँसका पातहरु सँग
लडिरहेछ अबिरल युद्ध
भेल
भूकम्पले चिरेको जमिन खोज्दै हिँड्छ
डोजरले उधिनेको गोरेटो हुँदै
पहाडकातिर गरिबका बस्ती खोज्दै हिँड्छ
पहिरो
दुखियाका बुकुरा झुपडी तिर
खाली पैताला
भोका पेट
र नाङ्गा जिउ खोज्दै हिँड्छ
बिहान उठेर बाँसझ्याङमा
पातहरुसँग झरीको जस्तो संवाद
तिमी पनि गर्छ्यौ
म पनि गर्छु
र पनि तिमी र म
हिमालको मुस्कान हेरेर
पर्खी बस्छौँ जिन्दगीको उज्ज्यालो ।
प्रतिकृया दिनुहोस