कला

साइतको टीको

लघुकथा

‘मैले जसरी पनि जानै पर्छ आमा ! पहिले नै भनेको थिएँ त । अहिले सबैजना किन रुनुहुन्छ ? यो हाम्रो देशका युवाहरुका लागि रहर र बाध्यता दुबै हो । कसैलाई विजया दशमीका दिन परिवार, साना छेराछोरी र घर छाडने रहर हुँदो हो त ।’

‘साइतको टीको त लाएर जान बाबु !’ आमा झन भावुक हुनुभयो ।

‘आमा तपाईंको मायालेमात्र हुने भए त म सधैँ तपाईंकै काखमा बसी रहन्थे नि । कहिँ कतै जान्नथें । पाँचघण्टा अगाडि नै पुग्नुपर्छ एयरपोर्ट ।’ सुटकेशमा लुगा मिलाउँदै निपेश बोल्यो ।

‘लु खाना खान आउनु हजुर तयार भयो ।’ श्रीमती रीमाको हिक्का छुट्यो ।

‘रातभरी पनि रोइ रहेकी छौ, अव जाने बेलामा त चुप लाग, मेरो रहरलेमात्र जान लागेको हो त ? ठूला बडाले त अलिकति सहन पनि सिक्नुपर्छ । जाउ भित्र सानी छोरीलाई संझाउ रोई रहेकी छ ।’

बाहिर गाउँघरमा साथीभाइहरुको ओहोर दोहोर थियो । केटाकेटीहरु रमाइरहेका देखिन्थे । छिमेकीहरु आफ्नै धुनमा तल्लीन थिए । धेरैजसो घरमा सुखको लहर छाएको थियो मालसिरी र दशैँ धुन बजिरहेको थियो । बाहिरबाट हेर्दा सामाजिक एकता, धार्मिक आस्था र परिवारमा अपूर्व मिलन देखिन्थ्यो । टीकाको साइत एघार सन्ताउन्न आउन अझै तीनघण्टा बाँकी थियो तर निपेशले घर छोडने साइत आइ सकेको थियो ।

‘ल सबै टीका जमराको सामान तयार पार हजुरबा नृपध्वज बोले । अनि सानो राडी र सानो गलैँचा पनि बोक । राता अक्षता दियो, कलश, जमरा सबै गाडिमा हाल आज सबैले छोरासँगै साइतको टीको त्रिभुवन अन्तराष्द्रिय विमान स्थलमै लाउने ।’

घरमा ठूलो ताल्चा लाग्यो । सबै भावुक थिए । गाडि विस्तारै अघि बढ्यो ।

तपाईँको मत