कला

लघुकथा - गणतन्त्र

"के दियो गणतन्त्रले ?" रामे मन्त्री हर्केश तिर राता आँखा देखाउँदै भन्यो ।

"भ्रष्टाचार, महंगी, अपराध त्यही दिएको छ । हामी जनताले रगतको बद्लामा ल्याएको गणतन्त्र आज हामीलाई नै घाणो भयो ।"- बिरवल पनि मन्त्रीको नजिकै आयो र चर्को स्वरमा भन्यो ।

हर्केशले चुपचाप उनीहरूका कुरा सुनिरहेको थियो तर जवाफ भने दिएन ।

आज गणतन्त्रको विषयमा मन्त्रीसमेत उपस्थित गराएर नागरिकहरूले छलफल गर्दै थिए ।

"ज्यानमारा छुटेका छन्, देश ऋणमा परेको छ । यो गणतन्त्र भन्दा त पहिलेकै तानाशाही व्यवस्था ठिक थिए ।" रमा देवी पनि मन्त्री हर्केशलाई क्वाप्पै खालिन् झैँ राता आँखा देखाउँदै भनिन् ।

"यही मन्त्री हर्केशलाई पनि पिट्दिम झैँ लाग्छ मलाई त ।" रामेले मन्त्री हर्केशको कठालो च्याप्पै छोप्दै भन्यो ।

"सकियो हजुरहरूको कुरा ? म बोल्न पाउँछु ?" मन्त्री हर्केश रामेको हात आफ्नो कठालाबाट हटाउँदै बोल्ने अनुमति माग्यो ।

सबैले मोन समर्थन् गरे ।

"भाई रामे, दाजु बिरवल, आमा रमादेवी लगायत सबैले सुनौँ ! हजुरहरूले भन्नुहुन्छ गणतन्त्रले के दियो ? तर म भन्छु गणतन्त्रले अधिकार दिएको छ हजुरहरू सबैलाई आज एउटा मन्त्रीको कठालो छोप्ने हैसियत पाएकाछौँ नागरिकहरूले । यो पनि त गणतन्त्रकै देन हो । सबैले नकारत्मक मात्र नहेरौँ सकारात्मक तर्फपनि नियालौँ ।"

मन्त्री हर्केशले सबै तिर नजर घुमाउँदै भन्यो।

"माफ गर्नुहोला मन्त्रीजी म आवेसमा आएँ ।" रामेले सर्मिन्दगी जाहेर गर्यो ।

दाङ घोराही १८ ।

तपाईँको मत