ब्लग

नेपालीको आय

विश्वका आठ अर्ब जनसंख्याको कामकाजी जनशक्तिले उत्पादन गरेको वस्तु तथा सेवाको योगलाई विश्वको कुल गार्हस्थ्य उत्पादन भनिन्छ । नेपालका पौने तीन करोड जनसंख्याको कामकाजी नेपालीले देश र विदेशमा उत्पादन गरेको कुल योगलाई नेपालको कुल गार्हस्थ्य उत्पादन भनिन्छ ।

अहिले नेपालको कुल गार्हस्थ्य उत्पादन ६१ अर्ब अमेरिकी डलरको हाराहारीमा रहेको छ । नेपालको कुल गार्हस्थ्य उत्पादनलाई नेपालको कुल जनसंख्याले भाग गरि आएको परिणामलाई वार्षिक कुल गार्हस्थ्य प्रतिव्यक्ति आय भनिन्छ ।

यही जुन महिनामा अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्वका १९० देशहरूको प्रतिव्यक्ति आयको प्रतिवेदन सार्वजनिक गरे अनुसार एउटा नेपालीको वार्षिक प्रतिव्यक्ति आय १,४५८ अमेरिकी डलर रहेको छ जुन विश्व जनसंख्याको औसत वार्षिक प्रतिव्यक्ति आय १२,९०० अमेरिकी डलरभन्दा धेरै कम देखिन्छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले सार्वजनिक गरेको १९० देशको वार्षिक प्रतिव्यक्ति आयको यहाँ मैले स्वछ्नोट (परपोसिभ स्याम्पलिङ) बाट केही देशहरूको उदाहरण जानकारीका लागि राख्ने जमर्को गरेको हुँ ।

प्रतिव्यक्ति आयको क्रममा लक्जेम्बर्ग १,४०,९४१ अमेरिकी डलर, स्वीट्जरल्यान्ड १,०४,८९६ सिंगापुर ९२,९३२ अमेरिका ८९,१०५ कतार ७१,६५३ अष्ट्रेलिया ६४,५४७ जर्मनी ५५,९११ बेलायत ५४,९४९ क्यानाडा ५३,५५८ फ्रान्स ४६,७९२ दक्षिण कोरिया ३४,६४२ जापान ३३,९५६ माल्दिभ्स १८,२०७ रुस १४,२५८ चीन १३,६८७ ब्राजिल ९,९६४ थाइल्यान्ड ७,७६७ दक्षिण अफ्रिका ६,३९७ युक्रेन ६,२६१ भियतनाम ४,८०६ भुटान ४,३०२ ईरान ३,८९७ भारत २,८७८ बंगलादेश २,६८९ नेपाल १,४५८ सोमालिया ७६६ सुडान ६२५ दक्षिण सुडान २५१ अमेरिकी डलर वार्षिक प्रतिव्यक्ति आय रहेको छ ।

नेपालीहरूलाई पंच्यायतले नेपाललाई जापान बनाउने, बहुदलले नेपाललाई सिंगापुर बनाउने, गणतन्त्रले नेपाललाई स्वीट्जरल्यान्ड बनाउने आउटलायर्स नारामा भुलाए ।

आउटलायर्स बुझ्न म यहाँ एउटा उदाहरण दिन्छु । नारायणहिटी सामुन्ने हिमालय जाभा कफीसपमा एक दिन २० जना कफी खाइरहेका हुन्छन् । नारायणहिटी हेर्ने उनीहरूको फरक प्रत्यक्षीकरण हुन्छ । कोही वीरेन्द्र वंशनाश स्थल, कोही राजतन्त्रको अन्त्य स्थल, कोही जन उत्पीडन केन्द्र, कोही राजतन्त्र आगमनको आशमा नारायणहिटी नियालिरहेका हुन्छन् ।

उनीहरूको दैनिक आय हजारमा (एकदेखि ९९ हजार) छ । औसत निकाल्दा उनीहरूको आय हजार भित्र पर्छ । केही समयपछि नेपाली धनाड्य विनोद चौधरी कफी खान त्यहाँ पस्छन् । अब त्यो कफीसपमा बसेकाहरूको दैनिक आय करोड नभए पनि लाखमा पुग्छ । सानो समयको अन्तरालमा २० मानिसहरूको दैनिक आय हजारबाट करोड वा लाखमा पुग्छ । विनोद चौधरी कफी खाएर बाहिरिएपछि त्यहाँ बसेकाको आय फेरि दैनिक हजारमा आउँछ ।

नेपाली जनताको जीवन स्तरमा पंचायतदेखि गणतन्त्रसम्म तात्विक अन्तर आएन । पंचायत, बहुदलीय व्यवस्था, गणतन्त्रमा शासन गर्नेहरू सबै उस्तै हुन् भन्न कुनै नेपालीले अप्ठ्यारो मान्नै पर्दैन । जापान, सिंगापुर र स्वीट्जरल्यान्ड त जनता ठग्ने आउटलायर्स अन्योल हो ।

तपाईँको मत