राजनीति

विद्या भण्डारीको सदस्यता स्थगन अवस्थामा छ : एमाले

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण ‘पेन्डिङ’ अवस्थामै रहेको जनाएको छ ।

एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पोलिटब्युरो बैठकको बारेमा जानकारी गराउँदै भने, “उहाँको सदस्यता पेन्डिङमा छ अर्थात् जहाँ जस्तो अवस्थामा छ स्थगन अवस्थामा छ ।”

एमालेको विधानको धारा ८मा सदस्यता त्याग गरेको व्यक्तिको नवीकरण हुन नसक्ने उल्लेख गरिएको उनको धारणा थियो ।

धारा ८ मा पार्टी सदस्यताको समाप्ति र पुनः प्राप्तिबारे व्यवस्था गरिएको छ ।

जहाँ स्वेच्छाले सदस्यता परित्याग गरेको व्यक्तिको सदस्यता समाप्ति हुने र पुनः प्राप्तिसम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुने व्यवस्था गरिएको छ ।

संगठन विभागबाट कहीँ त्रुटि भएको भए पनि सच्याउन तयार भइसकेको बताउँदै उनले भने, “यो राजनीतिक विषयको कुरा हो । पूर्वराष्ट्रपतिलाई कानुनी अड्चन खडा गरेर पार्टी प्रवेश गर्न दिइँदै छैन भन्ने अफवाहमात्रै हो । उहाँलाई दिएको गौरवको अस्तित्व के हुने भन्नेमात्रै विषय हो । यो कुनै व्यक्ति विशेषको कुरा भएन । यो गणतन्त्रसँग जोडिएको विषय पनि हो ।”

पोलिटब्युरो बैठकले उमेर हदको व्यवस्था खारेज गरेको छ भने दुई कार्यकाल भन्दा बढी हुन नपाइने बुँदालाई पनि खारेज गरिदिएको छ ।

जिल्ला कमिटीलाई जिल्ला समन्वयमा लैजाने कि भन्ने कुरा भएको थियो तर अहिलेलाई जिल्ला कमिटीलाई नै कार्यकारी बनाउने सुझाव आएको हुँदा त्यसैलाई पारित गरिएको उनले जानकारी दिए ।

विशेष गरी बैठकमा भण्डारीको सदस्यता नवीकरण कि पुनः लिनुपर्ने भन्ने विषय गम्भीररुपमा उठेको हुनाले अझ ठूलो फोरममा छलफल गर्ने निष्कर्ष निकालिएको उनले बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत