उखु किसानको अनुदान भुक्तानी गर्न सरकारले गर्यो ७५ करोड निकासा
- १० भदौ मंगलबार, २०८२ | १९:०३:०० मा प्रकाशित

काठमाडौं । सरकारले उखु किसानले पाउनुपर्ने अनुदानबापतको रकम निकासा गरेको छ । अर्थ मन्त्रालयले ७५ करोड ४९ लाख ३८ हजार २४० रुपैयाँ निकासा गरेको हो ।
निकासा गरिएको रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत किसानको बैंक खातामा भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रिपरिषद्को बैठकले यसपटक उखु किसानलाई प्रति क्विन्टल ३५ रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरेको थियो । प्राविधिक कारण जनाउँदै अर्थ मन्त्रालयले निकासा गर्न ढिलाइ गरेको थियो ।
अनुदान रकम प्राप्त हुन नसक्दा उखु किसानले आइतबारदेखि केन्द्रित आन्दोलन थालेका छन् ।
यसअघि, उखु किसानले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान पाउँदै आएका थिए । तर, चालु आर्थिक वर्षका लागि सरकारले प्रतिक्विन्टल ३५ रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
यसैबीच, काठमाडौंमा जम्मा भएका उखु किसान र कृषि मन्त्रालयका प्रतिनिधिबीच सिंहदरबारस्थित मन्त्रालयमा वार्ता भएको छ । वार्तामा मन्त्रालयका तर्फबाट कृषि विभागका उपमहानिर्देशक ललन कुमार सिंह, मन्त्रालयका उपसचिव लालकुमार श्रेष्ठ र मणिरत्न अर्याल र उद्योग मन्त्रालयका प्रतिनिधि सहभागी छन् ।
उखु किसानका तर्फबाट श्यामबाबु राय लगायत सहभागी छन् ।
प्रतिकृया दिनुहोस