लघुकथा : विलाप
- डीबी जिरेल रवि
- २८ भदौ शनिबार, २०८२ | १५:५८:०० मा प्रकाशित

मंगलबारको बिहान थियो। गाउँका केटाकेटीहरूको ठुलो हुल कालिजको शिकारमा जंगल पसे। हातमा एउटा पुरानो बन्दुक, मनमा उत्साह, र झोलामा केही बारुद र छर्राहरू। जंगलको बिचमा पुगुन्जेल पनि कालिज भेटिएन। उनीहरू हिँड्दै थिए। त्यति नै बेला एकाएक झाडीभित्रबाट सिंह निस्क्यो। डरले हतारमा बन्दुक ताके। फाइरिङ भयो। गोली लागेर बाघ घाइते भएर भाग्यो।
जीतको गर्वले उनीहरू हर्षित भए। “हामीले सिंहलाई हानेका छौं! हामी जंगलका राजा हौँ। अब हामी यो जंगलको कायापलट गर्छौँ।” एकले चिच्यायो। "हो, हो, तिमीहरूले सक्छौ। अब आगो लाउनु पर्छ।" उक्साहटको आवाज तिनले सुने। चारैतिर आगो सल्काए। भएका सबै कुरासँगै केही केटाहरू जले। आगो सिंहको गुफासम्मै पुग्यो।
सिंहको शिकारमा गुफा पसे र सिंहलाई धपाउन खोजे सकेनन्। फकाए, थर्काए सकेनन। नसकेपछि घर फर्किने सोच गरे। एउटाले भन्यो, “छोड्न मिल्दैन,” अर्कोले थप्यो, “हामीले सिंहको शिकार गरेको गाउँमा सबैले थाहा पाउनुपर्छ।” उनीहरूले जिउँदो सिंहको छाला तार्ने सल्लाह गरे।
त्यत्तिकैमा वन रक्षक आइपुग्यो। सिंहको शिकार गर्ने न तिनको लक्ष्य थियो न तिनलाई अनुमती थियो। सिंह संरक्षित प्राणी थियो। केटाकेटीहरूलाई सोधपुछ गर्ने काम भयो। उनीहरूले भने, “हामीले आत्मरक्षाका लागि यसो गरेका हौँ।" रक्षकले भन्यो, "वनमा आगो लायौ, ठूलो गल्ती भयो। तर फेरी भोली हरियो पाउँला, आशा गरौँ। तर तिमीहरू घर फर्क।"
"साहस र शक्ति बचाउन र विकासमा लाउनुपर्छ, विध्वंसमा होइन।" जनजिब्रोको उखान एकै स्वरमा भने र त्यहाँबाट हिँडे।
प्रतिकृया दिनुहोस