कृषि

रामेछापका लक्ष्मण केसी बने विश्वकै पहिलो कृषि रियालिटी शोका च्याम्पियन

  • १६ असार मंगलबार, २०८३ | २०:३७:०० मा प्रकाशित

काठमाडाैं । गोकुलगंगा गाउँपालिकास्थित सप्तभूमे एग्रो एण्ड रिसर्च सेन्टरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लक्ष्मण केसी विश्वकै पहिलो कृषि आधारित गेम रियालिटी शो ‘रिभुलुस्नरी एग्रीकल्चर वार (रअ)’ को पहिलो सिजनमा किसानतर्फ विजेता बनेका छन्।

राष्ट्रिय धान दिवसको अवसरमा सम्पन्न ग्राण्ड फिनालेमा उनी उत्कृष्ट किसान घोषित हुँदै १३ लाख रुपैयाँ बराबरको पुरस्कार जित्न सफल भएका हुन्। यससँगै उनी मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका ब्रान्ड एम्बेसडरसमेत बन्ने भएका छन्।

करिब सात वर्षको अध्ययन, अनुसन्धान तथा तयारीपछि सञ्चालनमा आएको महानायक राजेश हमाल महाहोस्ट रहेको उक्त कार्यक्रमले कृषि, उद्यमशीलता र जलवायु परिवर्तनका विषयलाई केन्द्रमा राख्दै कृषिलाई सम्मानित पेशा र किसानलाई समाजका अग्रणी व्यक्तित्वका रूपमा स्थापित गर्ने उद्देश्य लिएको थियो। देशभरका ७७ जिल्लाबाट करिब १,६०० किसान तथा कृषि प्राविधिकको सहभागिता रहेको प्रतिस्पर्धामा विभिन्न चरण पार गर्दै रामेछापका केसी विजेता बन्न सफल भएका हुन्।

विगत एक दशकदेखि १५० हेक्टर जग्गामा व्यवसायिक रूपमा किबी खेती र अनुसन्धानमा रमाइरहेका केसीको सफलताप्रति गोकुलगंगा गाउँपालिकाले हार्दिक बधाई ज्ञापन गर्दै उनको उपलब्धि व्यक्तिगत सफलतामात्र नभई नेपाली कृषिको आधुनिकीकरण, व्यावसायीकरण, वैज्ञानिक व्यवस्थापन तथा युवालाई कृषिप्रति आकर्षित गर्ने अभियानको महत्वपूर्ण उपलब्धि भएको जनाएको छ।

गाउँपालिकाले बाँझो जमिनलाई उत्पादनशील बनाउने, किसानको आय वृद्धि गर्ने तथा गोकुलगंगालाई ‘किवी हब’का रूपमा विकास गर्न केसीले पुर्‍याएको योगदान प्रेरणादायी रहेको उल्लेख गरेको छ।

कृषि, उद्यमशीलता तथा जलवायु परिवर्तनका चुनौतीलाई केन्द्रमा राखेर निर्माण गरिएको यस कार्यक्रमले कृषिलाई सम्मानित पेशा र किसानलाई समाजका अग्रणी व्यक्तित्वका रूपमा स्थापित गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा देशका ७७ वटै जिल्लाबाट करिब १,६०० किसान तथा कृषि प्राविधिकको आवेदन परेको थियो । विभिन्न चरणका प्रतिस्पर्धापछि उत्कृष्ट प्रतिस्पर्धी ग्राण्ड फिनालेसम्म पुगेका थिए ।

शैलेश कँडेल क्षेत्रीको परिकल्पना तथा निर्देशनमा सञ्चालन भएको शोले प्रतियोगितासँगै सामाजिक रूपान्तरणका विभिन्न अभियानसमेत सञ्चालन गरेको जनाएको छ ।

जागरण अभियानमार्फत विद्यार्थीलाई कृषिको सम्भावना र अवसरबारे प्रेरित गरिएको, नेतृत्व अभियानमार्फत कृषि विषयलाई नीति निर्माण तहसम्म पुर्‍याउने प्रयास गरिएको तथा अन्तर्राष्ट्रिय मञ्चमा २७ भन्दा बढी देशका प्रतिनिधिसमक्ष नेपालको कृषि र किसानको आवाज प्रस्तुत गरिएको कार्यक्रमका क्रममा जानकारी दिइयो ।

प्रतिस्पर्धीमार्फत सामाजिक सञ्जालमा प्रत्यक्ष अन्तरक्रिया गर्दै कृषि सचेतना फैलाउने अभियान पनि सञ्चालन गरिएको थियो । रअले वृक्षारोपणमा आधारित भोटिङ प्रणाली लागू गर्दै मतदानलाई वातावरण संरक्षणसँग जोड्ने नयाँ अभ्यासको सुरुवात गरेको जनाएको छ । यस अभियानअन्तर्गत करिब २ लाख ७० हजारभन्दा बढी बिरुवा रोपिएको आयोजकको दाबी छ ।

आयोजकका अनुसार पहिलो सिजनमै रअले कृषि क्षेत्रलाई नयाँ ढंगले प्रस्तुत गर्दै सम्भावित विश्व कीर्तिमानी उपलब्धि हासिल गरेको छ । कार्यक्रमले प्रतिस्पर्धीलाई केवल विजेताका रूपमा नभई कृषि परिवर्तनका अभियन्ताका रूपमा स्थापित गर्ने उद्देश्यलाई प्राथमिकतामा राखेको जनाएको छ ।

तपाईँको मत