नाइजेरिया र केन्यामा एबोला सङ्क्रमण पुष्टि, लाइबेरियामा सतर्कता उच्च
- एजेन्सी
- ६ कार्तिक शुक्रबार, २०८३ | ०८:४१:०० मा प्रकाशित
नाइजेरियाको राजधानी अबुजामा एबोला भाइरसको सङ्क्रमण पुष्टि भएसँगै पश्चिम अफ्रिकी क्षेत्रमा पुनः महामारीको त्रास फैलिएको छ। युगान्डाबाट अन्तर्राष्ट्रिय उडानमार्फत नाइजेरिया आएकी एक महिलामा सङ्क्रमण पुष्टि भएपछि छिमेकी मुलुकहरू, विशेषगरी लाइबेरियामा स्वास्थ्यसम्बन्धी पूर्वतयारी र सतर्कता उच्च पारिएको छ।
अक्टोबर २० मा नाइजेरियाको स्वास्थ्य मन्त्रालयले अबुजास्थित एक निजी अस्पतालमा भर्ना भएकी महिलामा एबोला सङ्क्रमण पुष्टि भएको जनाएको हो। हाल ती बिरामीलाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ भने उनीसँग नजिकको सम्पर्कमा आएका ४४ जनाको पहिचान गरी कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको छ।
यसैगरी, केन्यामा प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) बाट यात्रा गरेका बिरामीसँग सम्बन्धित नौ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ। केन्याका स्वास्थ्य अधिकारीहरूका अनुसार पहिचान गरिएका १३५ जना सम्पर्क व्यक्तिमध्ये १३४ जनालाई क्वारेन्टाइनमा राखिएको छ। हालै पुष्टि भएका यी सङ्क्रमण ‘बुन्डिबुग्यो एबोलाभाइरस’ प्रजातिका रहेको पाइएको छ।
नाइजेरिया र केन्यामा सङ्क्रमण फैलिएको खबरपछि लाइबेरियामा विशेष सतर्कता अपनाइएको छ। लाइबेरिया सन् २०१४ देखि २०१६ सम्म फैलिएको विनाशकारी एबोला महामारीबाट नराम्ररी प्रभावित भएको थियो। उक्त महामारीका क्रममा लाइबेरियामा मात्रै चार हजार ८०० भन्दा बढी मानिसको मृत्यु भएको थियो।
लाइबेरियाको राष्ट्रिय जनस्वास्थ्य संस्थान र स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ देखि नै सीमा क्षेत्र तथा रोबर्ट्स अन्तर्राष्ट्रिय विमानस्थलमा निगरानी बढाएका छन्। स्वास्थ्य विज्ञहरूले रोबर्ट्स अन्तर्राष्ट्रिय विमानस्थल र स्थल सीमाबाट प्रवेश गर्ने यात्रुको कडा स्वास्थ्य जाँच गर्नुपर्ने तथा सम्भावित सङ्क्रमितसँग सम्पर्कमा आएका व्यक्तिको पहिचान र निगरानीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।
सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको एबोला महामारी सन् १९७६ मा यो रोग पहिलोपटक पहिचान भएयताकै सबैभन्दा ठूलो महामारी थियो। गिनीबाट सुरु भएको उक्त महामारी लाइबेरिया, सियरा लियोनलगायतका देशमा फैलिएको थियो। विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार सो अवधिमा २८ हजार ६०० भन्दा बढी मानिस सङ्क्रमित भएका थिए भने ११ हजार ३२५ भन्दा बढीको मृत्यु भएको थियो। लाइबेरियामा मात्रै कुल १० हजार ६७८ जना सङ्क्रमित भएका थिए भने चार हजार ८१० जनाले ज्यान गुमाएका थिए।
अन्तर्राष्ट्रिय आवतजावतका कारण भाइरस एक देशबाट अर्को देशमा फैलिन सक्ने जोखिम रहने भएकाले समयमै सङ्क्रमण पहिचान, पारदर्शी सूचना प्रवाह र क्षेत्रीय समन्वय अत्यावश्यक रहेको विज्ञहरूको ठहर छ। सम्भावित सङ्क्रमितको शीघ्र पहिचान, सम्पर्कमा आएका व्यक्तिको निगरानी र स्वास्थ्य सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयनले सङ्क्रमण थप फैलिन नदिन महत्त्वपूर्ण भूमिका खेल्ने उनीहरूको भनाइ छ।
एजेन्सी
सम्पूर्ण देशका मुख्य समाचार संस्थाहरू ।
- शक्तिशाली समुद्री आँधी चम्पी ताइवानतर्फ, सयौँ उडान रद्द
- मध्यपूर्व युद्ध, संयुक्त राष्ट्रसङ्घ स्तब्ध
- इजरायल र हमास दुवै पक्षले शान्ति योजनाको पहिलो चरणमा सहमति जनाएको घोषणा - ट्रम्प
- ६.९ म्याग्निच्युडको सेबू भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ७२ पुग्याे
- तीन सन्तान जन्माउने आमाबाबुलाई १५०० डलर
- मध्य नाइजेरियामा भारी वर्षाका कारण आएको बाढीमा परी कम्तीमा ११० जनाको मृत्यु
- चिनियाँ बस्तुमाथि ट्रम्पले लगाए १०४ प्रतिशत आयातकर
- गुजरात विस्फोट : मृत्यु हुनेको संख्या २१ पुग्यो
- भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजार ५६ पुग्याे
- म्यान्मार भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १,००० नाघ्यो
प्रतिकृया दिनुहोस