वर्षभरिकै प्याराे चाड: तिहार
- शिवांशी खड्का
- २२ कार्तिक आइतबार, २०८३ | ०८:५५:०० मा प्रकाशित
साथीहरु, तपाईँहरुलार्ई सबैभन्दा मनपर्ने चाडपर्व कुन हो ? कसैलाई दसैँ, कसैलाई छठ त कसैलाई ल्होसार मनपर्ला तर मलाई भने वर्षभरि आउने चाडपर्वमध्ये तिहार सबैभन्दा मन पर्छ । तिहारलाई यमपञ्चक पनि भनिन्छ । यो पाँच दिनसम्म मनाइने उज्यालो, खुसी, माया र सद्भावको पर्व हो । तिहार नजिकिँदै गर्दा मेरो मनमा छुट्टै उत्साह आउँछ । विद्यालय बिदा हुने, घर सफा गर्ने, फूलका माला उन्ने, घर सजाउने, मिठा परिकार खाने र साथीहरूसँग देउसी–भैलो खेल्न पाइने भएकाले मलाई खुसी लाग्छ ।
तिहारका पाँचै दिन आफ्नै विशेषता र महत्व छन् । पहिलो दिन काग तिहार मनाइन्छ । यस दिन कागलाई यमराजको सन्देशवाहक मानेर मीठा खानेकुरा खुवाउने चलन छ । दोस्रो दिन कुकुर तिहार मनाइन्छ । कुकुरलाई फूलको माला लगाइदिने, टीका लगाउने र मीठो खानेकुरा दिने गरिन्छ । कुकुर मानिसको इमानदार साथी र घरको रक्षक पनि हो । यस दिनबाट हामीले पशुपन्छीलाई माया र सम्मान गर्नुपर्छ भन्ने कुरा सिक्न सक्छौँ ।
तेस्रो दिन गाई तिहार र लक्ष्मी पूजा मनाइन्छ । बिहान गाईलाई माला र टीका लगाएर पूजा गरिन्छ भने साँझ धनकी देवी लक्ष्मीको पूजा गरिन्छ । यस दिन घर, आँगन र कोठाहरू सफा गरी झिलिमिली बत्ती बालिन्छ । घरको ढोकादेखि पूजाकोठासम्म दीप बालेर लक्ष्मीको स्वागत गरिन्छ । घरभरि बत्ती बल्दा निकै सुन्दर देखिन्छ । म पनि आमा, हजुरआमा र परिवारका अन्य सदस्यसँग मिलेर घर सजाउन र पूजा गर्न सहयोग गर्छु ।
तिहारको अर्को विशेष आकर्षण फूलका माला हुन् । सयपत्री, मखमली र गोदावरी फूलले घरको वातावरण नै रमाइलो बनाउँछन् । हामी फूल टिपेर माला उन्छौँ । मखमली फूल लामो समयसम्म नओइलाउने भएकाले यसले दाजुभाइ र दिदीबहिनीबीचको माया र सम्बन्धलाई पनि झल्काउँछ । फूलका माला लगाएर फोटो खिच्न मलाई निकै मन पर्छ ।
चौथो दिन गोरु तिहार, हल तिहार वा गोवर्धन पूजा मनाइन्छ । यस दिन गोरुलाई माला र टीका लगाएर पूजा गर्ने चलन छ । गोरुले खेतीपातीमा किसानलाई ठूलो सहयोग गर्छ । यसबाट हामीले पाल्ने गोरु र किसानको महत्व बुझाउँछ ।
पाँचौँ दिन भाइटीका मनाइन्छ । यो दिन दिदीबहिनी र दाजुभाइका लागि निकै विशेष हुन्छ । दिदीबहिनीले दाजुभाइको लामो आयु, राम्रो स्वास्थ्य र सुखी जीवनको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिन्छन् । मखमली, सयपत्री र दुबोको माला लगाइदिएर मिठा खानेकुरा खुवाउने चलन छ । टीका लगाइसकेपछि दाजुभाइले पनि दिदीबहिनीलाई दक्षिणा र उपहार दिन्छन् । यस दिन परिवारका सबै सदस्य एकै ठाउँमा भेला हुँदा घरमा छुट्टै खुसी छाउँछ । दाजुभाइ दिदीबहिनी नहुनेहरुले काठमाण्डौस्थित रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा गएर एकअर्कालाइ टीका लगाउने पनि गर्दछन् ।
तिहारको अर्को रमाइलो पक्ष भनेको देउसी र भैलो हो । तिहारमा विद्यालय केही दिन बन्द हुन्छ । विद्यालय बिदा भएपछि साथीहरूसँग भेटघाट गर्ने र रमाइलो गर्ने अवसर मिल्छ । हामी साथीहरू मिलेर देउसी र भैलो खेल्ने तयारी गर्छौँ । कसैले मादल बजाउँछन्, कसैले गीत गाउँछन् त कसैले नाच्छन् । घरघरमा गएर देउसी–भैलो खेल्दा घरका मानिसहरूले पनि खुसी भएर स्वागत गर्नुहुन्छ र दक्षिणा दिनुहुन्छ । हामी उहाँहरूलाई सुख, शान्ति शुभकामना दिन्छौँ ।
देउसी–भैलो खेल्दा जम्मा भएको रकमबाट हामी आफूलाई मन परेको सामान किन्न सक्छौँ । कहिलेकाहीँ सबै साथी मिलेर वनभोज जाने योजना पनि बनाउँछौँ । देउसी–भैलो हाम्रो मौलिक संस्कृति भएकाले यसलाई जोगाउनु पनि हामी सबैको जिम्मेवारी हो ।
तिहारमा खानेकुराको पनि छुट्टै रमाइलो हुन्छ । मलाई सेलरोटी सबैभन्दा मन पर्छ । आमा र हजुरआमाले सेलरोटी बनाउँदा घरभरि मिठो बासना फैलिन्छ । सेलरोटीसँगै अचार, मिठाई, फलफूल र अन्य परिकार पनि खान पाइन्छ । घरमा आफन्त र पाहुना आउनुहुन्छ । सबैजना मिलेर खाने, रमाइलो गर्ने र एकअर्कालाई शुभकामना दिने गर्दा तिहार अझ विशेष लाग्छ ।
तिहारमा घरघर, मठमन्दिर, ठूला भवन र कार्यालयहरूमा रङ्गीविरङ्गी बत्ती बालेर झिलिमिली बनाइन्छ । रातको समयमा गाउँ र सहर नै उज्यालो देखिन्छ। दीपावलीले अन्धकारमाथि उज्यालो र खराबीमाथि असल कुराको विजय भएको सन्देश दिन्छ भन्ने कुरा मैले बुझेकी छु ।
मलाई लाग्छ, तिहार केवल रमाइलो र मिठो खाने पर्व मात्र होइन, यो सिकाइको अवसर पनि हो । काग तिहारले चराचुरुङ्गीको महत्व बुझाउँछ । कुकुर र गाई तिहारले पशुपन्छीलाई माया गर्न सिकाउँछ । गोरु तिहारले किसान र कृषिको सम्मान गर्नुपर्छ भन्ने सन्देश दिन्छ । लक्ष्मी पूजाले सरसफाइ र उज्यालोको महत्त्व बुझाउँछ भने भाइटीकाले दाजुभाइ र दिदीबहिनीबीचको माया र सम्बन्धलाई बलियो बनाउँछ । देउसी–भैलोले मिलेर काम गर्न, साथीभाइसँग सद्भाव राख्न र आफ्नो संस्कृति जोगाउन सिकाउँछ ।
हामीले तिहार मनाउँदा पटाका पड्काएर वातावरण प्रदूषित गर्नु हुँदैन । आगलागी हुन नदिन बत्ती बाल्दा सावधानी अपनाउनुपर्छ । जनावरलाई डराउने गरी आवाज निकाल्नु हुँदैन । आफ्नो खुसी मनाउँदा अरूलाई दुःख दिनु हुँदैन ।
त्यसैले, मलाई तिहार मन पर्नुको मुख्य कारण यस पर्वले परिवार, साथीभाइ र आफन्तलाई नजिक ल्याउँछ । यसमा माया छ, सद्भाव छ, संस्कृति छ र रमाइलो पनि छ । फूलका माला, झिलिमिली बत्ती, सेलरोटी, देउसी–भैलो र सप्तरङ्गी टीकाले तिहारलाई अझ सुन्दर बनाउँछन् । हामी सबैको घरमा उज्यालो छाओस्, सबैको जीवनमा खुसी र सुख आओस् । सबैलाई मेरो तर्फबाट शुभ दीपावली तथा तिहारको हार्दिक मंगलमय शुभकामना!
शिवांशी खड्का
कक्षा ६, रिलायन्स इन्टरनेशनल एकेडेमी
बुढानीलकण्ठ मिलनचोक, काठमाण्डौ
प्रतिकृया दिनुहोस