“न्यून पारिश्रमिकले छलिया नृत्य लाेपाेन्मुख, नर्तकहरुलाई गुजारा चलाउनै धाै-धाै
- गाउँ सहर संवाददाता
- ३ बैशाख मंगलबार, २०७६ | १४:५३:०० मा प्रकाशित

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ दीपनगरका श्याम दमाईले छलिया नृत्य देखाउन थालेको डेढ दशक भयो । नृत्य देखाएवापत मुश्किलले उनको महीनामा पाँच हजार रुपैयाँ जति कमाइ हुन्छ । कुनै महीना नृत्यका लागि माग नआए खाली हात घरमै बस्नु पर्ने हुन्छ ।
छलिया नृत्यमा सहभागी हुने दशजनाको टोली उहाँसँग छ । टोलीका सदस्यहरुमध्ये दुई जनाले नृत्य देखाउने, गीत गाउने र अरुले बाजा बजाउने गर्छन् ।
टोलीले छलिया नृत्य देखाए वापत विवाह, व्रतबन्ध र अन्य कार्यक्रममा रु १० हजारदेखि रु २५ हजारसम्म लिने गर्छ । आम्दानी दश जनामा बाँड्दा हरेकलाई थोरै मात्र हात पर्छ ।महीनामा दुईदेखि तीन वटासम्म छलिया नृत्य देखाउने माग आउने गरेको दमाई बताउन्छन्।
पहिला विवाह, व्रतबन्ध, न्वारानलगायतका कार्यका लागि मात्रै छलिया नृत्य देखाउने माग आउने गथ्र्यो । दमाईले भने– “हाल यसको क्षेत्र विस्तार भएको छ । राजनीतिक र सांस्कृतिक समारोहमा माग छ तर, दाम छैन ।”
उनले भने – “कुनैमा निःशुल्क छलिया नाच देखाउने माग हुन्छ । कुनैमा खाना खर्च दिएर विदा गरिन्छ । यसरी जीविका चलाउन सकिँदैन ।”
छलिया नृत्य देखाएर मात्रै जीविका नचल्ने भएकाले धेरैले सिलाइ पेशा अङ्गाल्दै आएका छन् । यसबाट परिवारको खर्च जेनतेन धानिन्छ । सिलाइ पेशा पहिला दमाई समुदायसँग मात्रै थियो । अहिले अन्य समुदायले पनि यो पेशा अपनाउन थालेपछि यसबाट समेत दमाई समुदाय विमुख हुन पुगेको छ । पुस्तौंदेखि छलिया नृत्य पिंढी दर पिंढीमा हस्तान्तरण हुँदै आएको छ ।
सुदूरपश्चिम प्रदेशको लोकनृत्यका रुपमा रहेकोे छलिया नृत्यका नर्तकहरुको कमाइ गतिलो नहुँदा धेरैले पेशा छाडेका हुन् । पुस्तौंदेखि छलिया नृत्य दमाई, आउजीलगायतका दलित समुदायले देखाउँदै आएका छन् ।
पहिले पहिले यो नृत्य देखाउँदा नर्तकहरुले पारिश्रमिकका रुपमा खसी, बोका, गाई, भैंसी र केही बक्सिसका रुपमा नगद पाउने गर्थे । अहिले परिवर्तित समयानुसार पारिश्रमिकका रुपमा उनीहरुले नगद पाउन थाले तर त्यो ज्यादै थोरै हुन्छ । करे दमाईले भने – “न्यून पारिश्रमिकले पेशा चलाउन निकै मुश्किल छ ।”
यथेष्ट कमाइ नहुने भएपछि युवा पिंढीले छलिया नृत्य सिक्न नाइँनास्ति गर्न थालेका छन् । उनीहरु छलियाको विकल्पका रुपमा अन्य पेशा रोज्न थालेका छन् । छलिया नृत्य देखाउने दलित समुदायकै हुने भएकाले जातीय विभेदसमेत हुने गरेको छ ।
“विवाह, व्रतबन्ध, न्वारानलगायतका कार्यक्रममा अहिले पनि एक छेउमै बसेर नृत्य देखाउनु पर्दछ,” करेले भने – “भान्सामा छुन मिल्दैन । खाना खाने ठाउँमा जान दिइँदैन । टाढैबाट खाना र पानी थाप्नु पर्दछ ।”
आम्दानी थोरै, त्यसमाथि जातीय विभेद । त्यसै भएर पछिल्लो पुस्ता छलिया नृत्य कला सिक्न रुचि देखाउन छाडेको उनको भनाइ छ । छलिया नृत्यमा प्रयोग हुने दमाहा, झ्याली, बिगुल, तुरी, नागफनी, मसकविन, मिजुरा सहनाई लगायतका बाजासमेत अर्थाभावले खरिद गर्न नसक्दा धेरैले भारतको कुमाउँबाट भाडामा ल्याएर बजाउने गरेका छन् ।
बाजा किन्नसमेत धेरै पैसा लाग्ने भएकाले बाजा खरिद गरिदिन रकमको जोहो गरिदिन नगरपालिकासँग माग गर्दै आएपनि आफूहरुले अहिलेसम्म त्यस्तो सहयोग नपाएको दुःखेसो हर्क बहादुर टमटाले पोखे।
सुदूरपश्चिमको प्राचीन लोकनृत्य छलिया जोगाउन स्थानीय बासिन्दा सँगै प्रदेश सरकारले चासो देखाउनु पर्ने यहाँका संस्कृतिका जानकारहरु बताउँछन् । छलिया नर्तकहरुको जीविकोपार्जन सुनिश्चित गर्न सकिए यसप्रतिको आकर्षण बनाइराख्न सकिन्छ ।
प्राचीन कालमा ढाल, तरबारले लडिने युद्धको प्रतीकका रुपमा छलिया नृत्यलाई लिने गरिन्छ । यो नृत्य खस राजाको शासन कालदेखि अस्तित्वमा आएको विश्वास गरिन्छ ।
दशौं शताव्दीदेखि अस्तित्वमा आएको भनिएको छलियाको शाब्दिक अर्थ छलकपट हो । प्राचीन कालमा युद्धमा सहभागी सैनिकले छलकपट गरी युद्ध जित्न जुन कला अपनाउँछन् कालान्तरमा त्यसलाई नृत्यका रुपमा प्रस्तुत गर्न थालिएको हो । युद्ध जितेपछि राजमहलमा मात्रै सैनिकहरुको हौसला बढाउन वीरताको वर्णनसँगसँगै देखाइने नृत्य विस्तारै वाह्य समाजका लागि खुला गरिएको डोटेली संस्कृतिका जानकार सेवानिवृत शिक्षक धर्मानन्द जोशी बताउन्छन्।
“छलियालाई तरबारबाजीको नृत्यका रुपमा समेत लिन सकिन्छ,” उनले भने – “सङ्गीतको धूनमा क्रमबद्ध तरीकाले तरबार र ढालको कलाबाजी यस नृत्यमा देखाउने गरिन्छ । यस नृत्यको विशेषता नै प्राचीन युद्ध कौशलको प्रदर्शन हो ।”
छलिया नृत्यमा तरबारबाजीको रोमाञ्चकारी खेल प्रस्तुत गरिन्छ । नृत्य हेर्नेहरुलाई साँच्चिकै युद्ध भैरहेको हो कि प्रतीत हुन्छ । नृत्य गर्नेहरुको अनुहारमा उग्रभाव रहन्छ । कलाकार युद्धमा सहभागी योद्धा झै लाग्छ । यस नृत्यमा परम्परागत वाद्ययन्त्रहरुको प्रयोग हुने गरेको छ । छलिया नृत्यमा परम्परागत पहिरनमा सजिएर दुई जनाले तरवारबाजी गर्ने, पाँचदेखि नौजनाले गीत गाउँदै वाद्यवादन बजाउने गर्दछन् । भारतका कुमाउँ गढवाल लगायतका क्षेत्रमा समेत छलिया नृत्य लोकप्रिय रहेको छ ।
दमाहा, तुरी, नागफनी, मसकविन, झयाली लगायतका बाजाहरु पहिला युद्धका बेला सैनिकको मनोबल उच्च राख्न प्रयोग हुने गर्थे । नर्तकहरुले तरबारबाजी देखाउँदा लगाउने पोशाक पनि युद्धमा सहभागी सैनिककै जस्तो देखिने भएकाले दर्शक रोमाञ्चित हुन्छ । छलिया नृत्यमा युद्ध लड्दाका बेला देखाइने कलाबाजी, वाद्यवादनको समायोजनसँगै वीरविरङ्गनाहरुको जीवनीमा आधारित वीरताका गीतहरु गाइन्छ ।
यस नृत्यले इतिहासको झल्को दिने भएकाले यसलाई जोगाउनु सबैको दायित्व भएको राघवप्रसाद अवस्थीले बताए । “नयाँ पिँढीलाई यसको महत्व दर्शाई सुदूरपश्चिमको इतिहासबारे जानकारी दिन सकिन्छ,” उनले भने । समयको प्रवाहसँगै यस नृत्यले व्यावसायिक रुप धारण गरेपछि नृत्यको मौलिकता, कलाबाजी र गीत समेत परिवर्तन भई विकृत बन्न थालेका छन् । राससः राजेन्द्रप्रसाद पनेरु

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै गरे संसद् अवरुद्ध
- कामीरिता शेर्पा ३१ औं पटक सगरमाथामा, अर्को विश्व रेकर्ड
- के छ सगरमाथा बेसक्याम्पबाट कांग्रेस महामन्त्री शर्माले प्रधानमन्त्रीलाई लेखेकाे पत्रमा ?
- प्रतिनिधिसभा बैठक बस्दै, आर्थिक सर्वेक्षण पेस हुने
- रामबहादुर बमजनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश
- सात दिनभित्र बैठक बोलाउन बालेनलाई अल्टिमेटम, उपमेयर डंगोलसहित ४१ सदस्यले बुझाए पत्र
- शेयर बजार नकारात्मक भएर बन्द
- गङ्गानारायण नेतृत्वको नेसपा माओवादी केन्द्रमा समायोजन, पाए सचिवको जिम्मेवारी
- जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प
- ‘फोहरबाट मोहर’ कमाउँदै स्नातक गरेका युवा
प्रतिकृया दिनुहोस