अर्थतन्त्र

शेयर बजार नकारात्मक भएर बन्द

काठमाडौं । राष्ट्र बैंकले १ सय २५ प्रतिशत रहेको शेयर धितो कर्जाको जोखिम भार घटाएर १ सय प्रतिशत कायम गर्ने घोषणा गरेको भोलिपल्टको शेयर बजार नकारात्मक भएर बन्द भएको छ । नेप्से सामान्य घटेपनि कारोबारमा झिनो सुधार देखिएको छ । 

यस दिन नेप्से सूचक २.९७ विन्दुले घटेर २६७७ अंकमा झरेको छ । ७ अर्ब ५८ करोडभन्दा बढीको शेयर कारोबार भएको बजारमा एउटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा २ वटा भने नकारात्मक सर्किट लेबलमा पुगेका छन् ।

नयाँ गभर्नरको नियुक्तिसँगै नेपाल राष्ट्र बैंक शेयर कर्जामा थप लचिलो नीति देखाएपनि यसको सकारात्मक प्रभाव भने देखिएन् । आइतबार गभर्नर विश्व पौडेलले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा जारी गर्दै शेयर कर्जाको जोखिम भार घटाएर १ सय प्रतिशत कायम गरेका थिए ।
‘विद्यमान शेयर धितो कर्जाको जोखिम भार १ सय २५ प्रतिशतबाट घटाई १ सय प्रतिशत कायम गरिनेछ,’ समीक्षामा भनिएको छ । वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेका बेला शेयर कर्जालाई प्रोत्साहन गर्न जोखिम भार घटाइएको राष्ट्र बैंकले जनाएको छ । 

समीक्षा मार्फत ५० लाखभन्दा माथिको शेयर धितो कर्जामा जोखिम भार घटाइएको हो । ५० लाख रुपैयाँसम्मको शेयर धितो कर्जा भने यसअघि नै जोखिम भार घटाएर १०० प्रतिशत बनाइएको थियो । राष्ट्र बैंकले २०७८ मा मार्जिन प्रकृतिको शेयर धितो कर्जाको जोखिम भार बढाएर १५० प्रतिशत पुर्याएको थियो । 

गाउँ सहर संवाददाता

तपाईँको मत