गाउँ सहर

गृहमन्त्री लेखक भन्छन्-'मेरोविरुद्ध कुनै उजुरी छ ? काहीँ छानबिन भइरहेको छ ?'

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफूविरुद्ध राजनीतिक रूपमा षड्यन्त्र भएको बताएका छन् । बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनमा पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफूविरुद्ध राजनीतिक रूपमा पूर्वाग्रह राखी षड्यन्त्र भएको बताएका हुन् । 

गृहमन्त्री लेखकले कर्मचारीमाथि प्रश्न उठ्दा मन्त्रीले राजीनामा दिन नपर्ने जिकीर गरेका छन् । पक्रकार सम्मेलन गरी लेखकले यस्तो जिकीर गरेका हुन् ।

उनले यसअघिका गृहमन्त्री रवि लामिछानेमाथि नै प्रश्न उठेपछि राजीनामा मागिएको बताए । उनले अध्यागमन विभागका प्रमुख तीर्थ भट्टराईमाथि राज्यका निकायले अनुसन्धान गरिरहेको बताए ।

‘कर्मचारीका माथि प्रहरीले अुनसन्धान गरिरहेको छ’ उनले भने, ‘यसरी पूर्वाग्रहमा कर्मचारीमाथि भएको छानबिन राजनीतिक नेतृत्वमाथि जोड्दै जाने हो भने कसरी सम्भव हुन्छ ?’ गृहमन्त्री लेखकले सञ्चारमाध्यमले आफूप्रति पूर्वाग्रह राखेको दाबी गरे । 

‘मैले कसैकाप्रति आग्रह पूर्वाग्रह राखेको छैन । न्याय त मैले पनि पाउनुपर्ने होला नि । कि मैले न्याय पाउन नहुने हो ? मेरा विरुद्ध कतै उजुरी छ ?’ उनको प्रश्न थियो । लेखकले विगतमा सञ्चारमाध्यमबाट समाचार आएका केहीलाई यसअघि नै अभियोजनसमेत दर्ता गरिसकेको बताए ।

यस्तै, तीर्थराजलाई आफूले नल्याएको पनि जिकीर गरे । उनले भने, ‘तीर्थराजजीलाई मैले सरुवा गरेर ल्याएको होइन। मभन्दा पहिले महत्वपूर्ण जिम्मेवारी दिएका हुन् ।’

कर्मचारीमाथि भइरहेको अनुसन्धानलाई राजनीतिक नेतृत्वसँग जोड्दै जाने हो भने व्यवस्था चल्न नसक्ने उनको भनाइ छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत