गाउँ सहर

गजुर नभएकाे अशोकविनायक (मरुगणेश)

  • २१ माघ मंगलबार, २०७६ | ००:१४:०० मा प्रकाशित

काठमाडौँको मरुटोलमा मरुगणेशको मन्दिर छ, जसलाई अशोकविनायक भनिन्छ । यो गणेशस्थानमा गणेशका थुप्रै मूर्तिहरू छन् । मरुगणेशलाई हनुमानढोका गणेशको स्थान दिइएको छ । राजदरबारमा हुने धार्मिक कार्यमा सम्मानपूर्वक मरुगणेशको पूजा गर्ने चलन लामो समयसम्म चलेको थियो । राजकुमारको पास्नीको समयमा राजकुमारलाई मरुगणेशको दर्शन गर्न ल्याउने चलन थियो भने राज्याभिषेकमा पनि राजा–महाराजहरू मरुगणेशको दर्शनमा आउने गर्दथे । यो गणेशको स्थापना एघारौँ–बाह्रौँ शताब्दीतिर भएको मानिन्छ ।

मरु गणेशको उत्पत्तिबारे एउटा किंवदन्ती पाइन्छ । त्यसअनुसार, उहिले यस क्षेत्रमा एकजना सत्पात्र गृहस्थ बस्थे । उनले एकरात अशोक वृक्ष झलमल्ल उज्यालो भएको देखेछन् । त्यस रूखमा के रहेछ भनेर हेर्न जाँदा उनले गणेशलाई रूखमाथि चढ्दै गरेको देखेछन् । ती गृहस्थले पछि त्यहीँ गणेशको मन्दिर बनाएर मूर्ति प्रतिष्ठापन गराएको भनाइ पाइन्छ । यस मन्दिरमा गणेश मूर्ति सुखासनमा बसेको छ । साथै यस मन्दिरको गजुर नहुनाले यसलाई मरुगणेश भनिएको जनश्रुति पनि छ । नेवारीमा मरुको अर्थ छैन भन्ने हो ।

राजदरबारमा हुने धार्मिक कार्यमा सम्मानपूर्वक मरु गणेशको पूजा गर्ने चलन लामो समयसम्म चलेको थियो । यस मन्दिरमा वि.सं. १९०४ सालमा सुरेन्द्रविक्रम शाहको पालामा सुनको छाना हालियो । यो गणेशको स्थापना एघारौं–बाह्राैं शताब्दीतिर भएको मानिन्छ । यो गणेश उपत्यकाका चार गणेशमध्येको एक हो ।

 

तपाईँको मत