दृष्‍टिकोण

आत्महत्या सामाजिक कि व्यक्तिगत्?

बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेको खबरले भारतको मात्र नभएर नेपालकोपनि धेरै मिडियामा चर्चा भइरहेको छ। ऊनी आफ्नो अभिनयको कारणले निक्कै चर्चित थिए र नेपालहरुले धेरैजसो हिन्दी सिनेमा हेर्ने भएको कारणले नेपालीहरुको सामाजिक संजालमा श्रद्धाञ्जलीको ओइरो नै लागेको देखिन्छ। समाचार र सामजिक संजालमा आत्महत्याप्रतिको दृष्टिकोणलाई हेर्दा उनि डिप्रेसनको कारणले मरेको, उनि व्यक्तिगत कारणले मरेको कुराहरु देख्न र सुन्न पाईराखेको छ। उनि जे जस्तो कारणले आत्महत्या गरेता पनि उनको सम्बन्ध प्रत्यक्षरुपमा उनलाई चिन्ने सबैसंग हुन्छ र मर्नुपर्ने कारण पनि सामाजिक नै हुन्छ।

यस्तै गरेर नेपालमा विगत २ महिना अर्थात लकडाउन सुरु भएदेखिको तथ्यांकलाई हेर्ने हो भने आत्महत्याको दर तिब्र गतिले बढेको देखिन्छ। विश्वको सबै देशको तुलनामा हेर्ने हो भने २०१५ मा विश्व स्वास्थ्य संगठन गरेको सर्वेक्षण अनुसार, नेपाल आत्महत्याको र्यांकमा १२६ औँ देशमा पर्दछ। यो भनेको नेपालमा एक वर्षमा ६,८४० जना आत्महत्याको कारणले ज्यान गएको देखिन्छ। लकडाउनभरिमा लगभग १२२७ जना मानिसहरुले आत्महत्या भएको समाचारमा उल्लेख छ (यो लेख लेखिरहँदा)। यद्धपी सबैले सुशान्त सिंह राजपूतले जस्तो श्रद्धाञ्जलीका शब्दहरु भने पाएनन्। विश्वको तथ्यांकलाइ हेर्ने हो भने ८०००० मानिस प्रति वर्ष आत्महत्या गरेर मरेको छन् जसको अर्थ प्रति ४० सेकेन्डमा एकजना मानिसको ज्यान गइरहेको छ।

के आत्महत्या मानिसको स्वयंको निर्णय हो? के यो व्यक्तिगत मुद्दा हो? भन्ने प्रश्नमा प्रसिद्ध समाजशास्त्री  इमाइल दुर्खिम भन्छन्- आत्महत्या व्यक्तिगत मुद्धा नभएर सामजिक मुद्धा हो। उनका अनुसार कुनै पनि व्यक्ति त्यतिकै आत्महत्या गर्दैन त्यसको केहि कारण हुन्छ जुन कारण समाजमा लुकेको हुने हुनाले गर्दा नै आत्महत्या व्यक्तिगत नभएर सामाजिक घटना हो। यो भन्दा अगाडि आत्महत्यालाई मनोबैज्ञानिक कारणको नतिजा मान्दै आएको बेला इमाइल भन्छन्- यो मनोबैज्ञानिक कारण नभएर सामजिक कारणको नतिजा हो। यस विषयमा अनुसन्धान गरेर “आत्महत्या” भन्ने किताब १८९७ मा प्रकाशित गरेका थिए। यूरोपको विभिन्न देशहरुमा गरिएको अनुसन्धानमा मानिसहरु के कारणले गर्दा आत्महत्या गर्न बाध्य हुन्छन भन्ने कुरामा अनुसन्धान गरिएको थियो भने उनले त्यतिबेलाको समाज र त्यो भन्दा धेरै  समय अगाडि देखिको तथ्यांक मगाएर अनुसन्धान गरेका थिए। उनको यो विश्लेषणमा पुरूष महिला, विवाहित अविवाहित सबै छुट्टाएर गरेका छन्। उनको भनाइअनुसार सबै दिमागी रुपमा अस्वस्थ मानिसहरुले आत्महत्या गरेका छैनन् र धेरै दिमागी रुपमा स्वस्थ मानिसहरुले पनि आत्महत्या गरेका छन् तसर्थ यो सामाजिक घटना हो।

कोभिड-१९ ले नेपालमामात्र नभएर संसारमा मानिसका सामन्य क्रियाकलापमा परिवर्तन ल्याइदिएको छ । लाखौँ हजारौँ मानिसहरुले रोजगारी गुमाएका छन्। लकडाउनको कारणले घरमा बस्दा एकातिर आर्थिक अभाव त छँदै छ भने अर्कोतिर तनावको कारणले बच्चाहरुमाथि रिस पोख्ने परिवारबीच नै भनाभन हुने कारणले सानातिना अपराधहरु पनि बढिरहेको छ। यस अवस्थामा आफूलाई अरुभन्दा अलग सम्झिने, समाजमा आफूलाई स्थापित गर्न गाह्राे हुने कारणले स्वयंकाे हत्या रोजेको हुन सक्छ।

सामाजिक संरचना अनुसार आत्महत्याको दर, प्रकति फरक पर्न जान्छ जस्तो कि कुनै समाजमा पुरूषको शरीर कुनैमा महिलाको शरीर, विवाहित-अविवाहित, धनी-गरिब, जात-धर्म यी सबैको अवस्था सामजिक संरचना अनुसार फरक पर्दछ। नेपालको सन्दर्भमा कुरा गर्ने हो भने चैत ११ देखि जेठ १० सम्मको समयमा आत्महत्याको संख्या लाई हेर्ने हो भने प्रदेश ५ मा ४ जना मानिसहरु कोरोनाबाट मृत्यु हुँदा २४२ जना आत्महत्याबाट मरेका छन्। कारण के भनेर भन्दा डिप्रेसन, तनाव, निराशापन, सिजोफ्रेनिया, भ्रम, तनाव, माईन्ड स्विङ भइरहने समस्या, व्यक्तित्व विकार, डर, अल्कोहलमा निर्भरता, जटिल दीर्घरोग भनेर मनोविदहरु बताउँछन् तर यी सब कुराको पछाडि अरु के कारण छ भनेर खासै हेरिँदैन।

मानिस किन अल्कोहल सेवन गर्छ? उ किन मानसिक रोगी हुन्छ भनेर उ बसेको सामजिक संरचनाभित्र रहेको अरु रोगहरुको बारेमा खासै छलफल गरिँदैन। तसर्थ मानिस डिप्रेसनले गर्दा आत्महत्या गरेको भन्नु भन्दापनि उ किन डिप्रेसनमा जाँदै छ, किनकी उ सामजिक प्राणी भएकोले उ कतै न कतै समाजसंगै जोडिएको छ र उसंग जोडिएको हरेक कारण खोजि गरी त्यसको समाधान खोज्न सकियो भने पक्कै पनि आत्महत्या समधान हाेइन भन्ने कुरा जनमानसमा चेतना फैल्याउन सकिन्छ।

तपाईँको मत