सरस्वतीलाई कमलको फूलमाथि नै देखाइनुको खास अर्थ ?
- २७ असार शनिबार, २०७७ | ००:०५:०० मा प्रकाशित

सरस्वतीलाई कमलहरूकाे बीचमा र कतिपय चित्रमा कमलको फूलमाथि नै देखाइनुको पनि खास अर्थ छ । कमल हिलो, मैलो र दूषित पानीमा हुर्कने र फूल्ने भएर पनि आफूले त्यो हिलो ग्रहण नगरेर सदा सफा रहिरहन सक्दछ । कमलको पात पानीमा भए पनि पानीको एक थोपा पनि कमलका पातमा अडिँदैन । फलस्वरूप, कमलको पात सधैँ ओभानो हुन्छ । त्यसैले, कमललाई कूटस्थ र तटस्थ साक्षी-मात्रको प्रतीकका रूपमा लिइन्छ ।
त्यसैले एउटा ज्ञानीमा पनि द्रष्टा भावको उचाइ हासिल हुँदै जाँदा ऊ एकदिन स्थितप्रज्ञ बन्छ, विषयको बासनाबाट असंलग्न बन्छ र आत्मभावमा नै स्थिर रहन सक्छ भनेर यसले जनाउँछ । कमलको फूल देवीदेवताहरूको आसन बनेको देखाइनुको सन्देश यही हो । कमलको फूललाई पवित्रता र प्रसन्नताको प्रतीक पनि मानिन्छ । जसले जनाउँछ कि, ज्ञानी मानिसहरु निष्कलङ्क, गुणी, उपकारी र सधैँ-प्रसन्न रहन्छन् ।
कमललाई प्राचीन हिन्दू र बौद्ध दार्शनिकहरूले सत्य-असत्य, साँचो-झूठो, पुण्य-पाप र राम्रो-नराम्रोको बीचबाट जे सत्य, साँचो, पुण्य र राम्रो हो त्यसलाई मात्रै ग्रहण गर्ने र असत्य, झूठो, पाप र नराम्रो बाट लिप्त नहुने क्षमता वा गुणको प्रतीकको रूपमा लिएका थिए । ज्ञानको एउटा यात्रीले यो विपरीतता, अन्तर्विरोध र असङ्गतिले भरिएको संसारमा सत्य र तथ्य को निरूपण गरेर प्रामाणिक सत्य मात्रै ग्रहण गर्नु पर्ने तथ्यको उजागर गर्न कमललाई प्रतीकका रूपमा लिएका थिए । प्रामाणिक तथ्यलाई मात्रै सत्यका रूपमा लिनु पर्ने कुराको महत्ता दर्शाउने प्रतीकका रूपमा पनि कमललाई लिएका थिए ।
वैदिक परम्परामा ब्रह्म अर्थात् सृष्टिको अनादि बीजलाई ॐ शब्दले जनाइन्छ, अनि सत्यलाई पद्म वा कमलले र शीर्षस्थ रत्नलाई मणिले जनाइन्छ । पाली ‘हुँ' शब्दले नेपाली 'हो' भन्ने अर्थ बोक्छ । त्यसैले, “ॐमणिपोहँ" अर्थात् “ब्रह्म नै सत्यको मणि हो” वा “ब्रह्म नै सबै सत्यको सारभूत तत्त्व हो” भन्ने बौद्ध मन्त्र सत्यभित्रको पनि सत्यको उपासना गर्ने भावलाई उठाउन उपयोगमा ल्याइन्छ । यहाँ कमललाई सत्यको प्रतीक र मणिलाई सारभूतको प्रतीकका मा लिइएको छ । यसरी, बौद्ध परम्परामा पनि सत्यको खोज र सारभूतको उपासनालाई उच्च महत्व दिएकाे देखिन्छ ।
सारमा भन्दा विद्यार्थी य ज्ञानकाे यात्रीले आफ्नाे उन्नयनका लागि सत्यकाे उपासना गर्नुपर्छ भन्ने सन्देश सरस्वतीकाे मूर्तिमा चित्रित कमलले बाेकेकाे हुन्छ ।
प्रतिकृया दिनुहोस