आज वैशाख कृष्ण औँसी : यस्तो छ आमाको मुख हेर्ने दिनको रहस्य
- ३ बैशाख सोमबार, २०७५ | ०८:०२:०० मा प्रकाशित

काठमाडौं । वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ ।
आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा लिइन्छ । वैशाख कृष्णपक्ष औँसीका दिनलाई नेपालीले मातातीर्थ औँसी अर्थात् मातृऔँसीका रुपमा समेत मनाउँछन् । यस वर्षको आमाको मुख हेर्ने औँसी सोमबार परेको छ ।
आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।
शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देव ऋण, मनुष्य ऋण र पितृ ऋण तिर्नैपर्छ भनिएको छ । पितृ ऋण तिर्न मातापितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने मृत्युपश्चात् श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ ।
आजको दिन दिवंगत आमाको सम्झनामा थानकोट मातातीर्थमा मेला लाग्छ । आमा नहुने नरनारी आज बिहानै उक्त तीर्थमा गई स्नान तथा हरिहर ९विष्णु र शिव०को दर्शन र पूजा गर्दछन् । आमा बित्नेले सके प्रत्येक वर्ष, नसके एकपटक मातातीर्थमा श्राद्ध गर्नुपर्ने मान्यतासमेत छ ।
यस्तो छ आमाको मुख हेर्ने दिनको रहस्य
मातातीर्थको उत्पत्तिका सम्बन्धमा प्रचलित एउटा कथा यस्तो छ । कथा अनुसार धेरै वर्ष पहिले त्यस ठाउँमा गाईबस्तु चराउने चौर थियो । एक दिन एउटा गोठालाले सो चौरमा फ्याँकेको रोटीको टुक्रा हरायो । उसले अचम्म मानी रोटीको अर्को टुक्रा पनि फ्याँक्यो, त्यो पनि हरायो । अरू गोठालाहरूले पनि रोटीका टुक्रा फ्याँके, तिनमध्ये आमा जीवित हुनेले फ्याँकेको रोटी त्यहीँ रही आमा नहुनेले फ्याँकेका रोटीमात्र अलप भए ।
कथाअनुसार पहिलोचोटी रोटी फ्याँक्नेकी आमा पनि थिइनन् । त्यो दिन वैशाख कृष्णपक्षको औँसी थियो । दोस्रो दिन भने अघिल्लो दिनको जस्तो रोटी हराएन । सो कुरा चाल पाई गाउँलेहरूले औँसीका दिन मृत आमा त्यस ठाउँमा आई आफ्ना छोराछोरीले दिएको चिज खाँदा रहेछन् भन्ने विश्वास गरेर त्यस ठाउँमा कुण्ड बनाइ त्यसको नाम मातातीर्थ राखे ।
यसरी हरेक वर्ष आजकै दिन आमा नहुनेहरूले त्यहाँ गई कुण्डमा नुहाएर मीठामीठा खाद्यपदार्थ चढाई मातृ दिवस मनाउन थाले र मातातीर्थ मेला लाग्न थाल्यो ।
नेपालमा मातृदिवस
नेपालमा हिन्दू संस्कृति अनुसार यो दिवस वैशाख कृष्ण औंसीको दिन आमाको मुख हेर्ने दिन वा मातातीर्थ औंसीको रूपमा परिचित छ। उक्त दिन आफूलाई जन्म दिने आमाको मुख हेर्न छोराछोरीहरू आमा भएको ठाउँमा गएर आफ्नो गच्छेअनुसारका खाद्यपदार्थ ख्वाउनुका साथै उपहार दिएर आमालाई प्रसन्न तुल्याउँछन्। आमा जीवित हुनेहरूले आमालाई मीठा-मीठा परिकार बनाएर ख्वाउँछन्, लुगाफाटो तथा अन्य विविध उपहार दिएर कृतज्ञता जाहेर गर्छन्।
आमा नहुनेहरू भने यस दिन काठमाडौं उपत्यकाको पश्चिम दिशातर्फ थानकोट जाने बाटोमा पर्ने गुर्जुधारादेखि माथि पहाडको फेदीमा रहेको मातातीर्थ जान्छन्। कुण्डमा स्नान गरेपछि आफ्नो आमाको मुक्तिको कामना गर्दै तर्पण दिन्छन्।
मातातीर्थको पोखरीमा पवित्र मनका साथ हेरेको खण्डमा आमाको स्वरूपको दर्शन पाइन्छ भन्ने विश्वास पनि छ। उक्त कुण्डमा हेर्दा दिवंगत माता प्रसन्न भै दिएको आशीर्वादको प्रभावले छोराछोरीहरू जनधनले सम्पन्न भएर सुख भोग गर्न पाउँछन् भन्ने विश्वास छ। मातातीर्थ कुण्ड पौराणिक एवं धार्मिक तीर्थस्थल हो।
प्रतिकृया दिनुहोस