गाउँ सहर

जनतालाई सेवा छिटो छरितो दिन नसकेकाे भन्दै मन्त्री र सचिवसँग प्रधानमन्त्री असन्तुष्ट

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई दिने सेवा छिटो छरितो सेवा दिन नसकेकाे भन्दै मन्त्री तथा सचिवहरूप्रति असन्तुष्टी व्यक्त गरेका छन् ।

जनतालाई दिने सेवा छिटो छरितो हुन नसकेको बताउँदै प्रधानमन्त्री देउवाले बुधबार मन्त्री र सचिवसँगको छलफलमा असन्तुष्टी जनाएका हुन् ।

प्रधानमन्त्री देउवाले राष्ट्रिय गौरवका आयोजनाको काम भए पनि जनतालाई छिटो सेवा दिन निर्देशन दिए ।

‘राष्ट्रिय गौरवका योजनाको काम भइराखेको छ’, प्रधानमन्त्री देउवाले भने, ‘जनतालाई दिने सेवा छिटो छरितो हुन सकेको छैन । यसमा हामीले ध्यान दिनुपर्छ ।’

प्रधानमन्त्री देउवाले कृषि प्रधान देशमा मलको समस्या भएकाले यसको व्यवस्थापनमा लाग्नुपर्नेमा जोड दिएका छन् । ‘हाम्रो कृषि प्रधान देश भएकाले मलको समस्या छ । हामीले मल अभाव हुन दिनु हुँदैन’, प्रधानमन्त्री देउवाले भने, ‘हामी सबैले मलखादका लागि पर्नुपर्छ ।’

जनतालाई अत्यावश्यक सेवा दिनु सरकारको कर्तव्य भएकाे उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भने-‘अत्यवाश्यक वस्तुको सेवा जनताले पाउनुपर्छ अत्यावश्यक सेवा दिनु सरकारको कर्तव्य हो ।’

प्रधानमन्त्री देउवाले खोप वितरण राम्रो भए पनि खोपका लागि जनतालाई सचेतना दिनुपर्नेमा जोड दिए । सबैले खोपलाई महत्व दिनुपर्ने उनको भनाइ छ ।

‘खोपका लागि जनतालाई सचेतना दिनुपर्ने देखिएको छ । खोप वितरण राम्रो भएको छ’, प्रधानमन्त्री देउवाले भने, ‘अझै पनि सबैले खोपलाई महत्वपूर्ण रुपमा ध्यान दिनुपर्ने छ ।’

निर्वाचनका सम्बन्धमा देउवाले भने- ‘निर्वाचन आयोगले निर्वाचनको तयारी गरिराखेको छ । निर्वाचनको सम्बन्धमा हामीले आयोगलाई सक्दो सहयोग गर्नुपर्छ । निष्पक्ष निर्वाचन होस् भन्ने हाम्रो चाहना रहेको छ । निर्वाचनमा गठबन्धनको सरकारले आपसी तालमेल गर्दै जानेछौँ भन्ने विश्वास छ ।’

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रको अवस्थाबारे प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत