गाउँ सहर

एआईजी बढुवाविरुद्धको मुद्दा न्यायाधीश रेग्मीको इजलासमा

काठमाडाैं । नेपाल प्रहरीका तीनजना डीआईजीले एआईजी बढुवाविरुद्ध दायर गरेको रिटको सुनवाई न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ ।

डीआईजीहरु ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाश कार्कीले एआईजी पदमा भएको बढुवा सिफारिस निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

हिजो पनि रिटको पेशी तोकिएको थियो । हिजो सो हेर्न नमिल्नेमा राखिएको थियो ।

डीआईजीहरु आफूभन्दा कनिष्ठलाई एआईजी बढुवा गरिएको भन्दै सर्वोच्च पुगेका हुन् । सरकारले वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गरेको थियो ।

उनीहरुले  दर्ज्यानी चिन्हसमेत लगाइसकेका छन् ।  तीन डीआईजी गृह सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले एआईजी पदमा बढुवा गर्दा विभेद गरेको भन्दै सर्वोच्च अदालत पुगेका हुन् ।

रिटमा उनीहरूले कनिष्ठ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिँदा आफूहरूमाथि विभेद भएको भन्दै बढुवा सिफारिस गर्ने निर्णय बदरको माग गरेका छन् ।

सर्वोच्च जानुअघि उनीहरूले बढुवाविरुद्धको सुनुवाइ समिति पुगेर उजुरी दिएका थिए । समितिले बढुवा गर्ने निर्णयमा कैफियत नदेखिएको ठहर गरेको थियो ।

गएको बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले बढुवा सिफारिस भएका डीआईजीहरू वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई बढुवा गर्ने निर्णय गरेको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत