वातावरण

१८ बुँदे सहमतिपछि काठमाडौंको फोहोर आजबाट उठ्ने

काठमाडौं । काठमाडौं महानगर र सिसडोल–बञ्चरे डाँडाबिच काठमाडौंको फोहोर उठाउने सहमति भएको छ । 

यसअघि जेठ २३ गते भएको सहमतिलाई अवज्ञा गर्दै नुवाकोटको सिसडोलका बासिन्दाले फोहोर फाल्न अवरोध गरेपछि काठमाडौँ महानगरपालिका र स्थानीय जनप्रतिनिधिबीच शुक्रबार मध्यराति १८ बुँदे सहमति भएको हो ।

दुई पक्षबिच फोहोर ढुवानी रातिको समयमा गर्ने, रातिको लागि आवश्यक पूर्वाधार बत्ती तथा बाटोको निर्माण तीन महिनाभित्र गर्ने, सिसडोल र बञ्चरे डाँडामा फोहोरको दुर्गन्ध नआउने गरी काठमाडौं महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने, सहरी विकास मन्त्रालयमा भएको प्रतिबद्धताको कार्यान्वयन गर्न पहल गर्ने लगायत १८ बुँदे सहमति भएको छ । 

फोहोरमैला व्यवस्थापनको कारण प्रभावित भएका क्षेत्रको विकास निर्माणका लागि काठमाडौ महानगरपालिकाले वार्षिक रुपमा बजेट विनियोजन गर्ने, फोहोरलाई स्रोतमा वर्गीकरण गरी व्यवस्थापन गर्ने कार्यको जिम्मेवारी महानगरपालिकाको हुने, प्रभावित क्षेत्रको शिक्षाको गुणस्तर वृद्धिका लागि महानगरपालिकाले सहयोग गर्नेलगायतका विषय सहमतिपत्रमा उल्लेख गरिएको छ। 

सहमतिपत्रमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह,  उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, ककनी गाउँपालिका - १ का अध्यक्ष पदमबहादुर श्रेष्‍ठ बलामी, ककनी गाउँपालिका - २ का अध्यक्ष तिलक बहादुर लामा, धुनीबेंसी नगरपालिका - १ अध्यक्ष बहादुर तामाङ र धुनीबेंसी नगरपालिका - ३ का अध्यक्ष प्रकाश हमालले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत