गाउँ सहर

पोखराको ल्यान्डफिल्ड साइट सम्बन्धमा ३३ नं वडा कार्यालयको सकृयता

पोखरा । पोखराको ल्यान्डफिल्ड साइट सम्बन्धमा ३३ नं वडा कार्यालयले सकृयता देखाएको छ । पोखरा महानगरपालिकाले वडा नं ३३ भरतपोखरीको टिमुरपाटामा ल्यान्डफिड साइट राख्ने तयारी गरिरहेको र स्थानीयवासीले त्यसको विरोध गरिरहेको सन्दर्भलाई मध्यनजर गर्दै ३३ नं वडा कार्यालयले शनिवार  अन्तर्क्रिया सम्पन्न गरेको हो ।

अन्तर्क्रियामा विषयमाथि प्रकास पार्दै पोखरा–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले भरतपोखरीमा ल्यान्डफिल्ड साइट राख्ने सम्बन्धमा आफूहरू नेतृत्वमा आउनुपूर्व अघिल्लो स्थानीय सरकारको पालामा महानगर कार्यपालिकाको ५५औँ बैठकले निर्णय गरेको जानकारी गराएका थिए । उनले आफूहरु कुनै पनि हालतमा जनताको भावना विरुद्ध नजाने बताए ।

अन्तर्क्रियाका  वक्ताले सरोकारवालाबीच छलफल नै नगरी गरिएको निर्णय तुरुन्त खारेजी गर्न माग गरेका थिए ।

कार्यक्रममा उक्त वडाका निवर्तमान वडाध्यक्ष शिवप्रसाद आचार्यले आफ्ना कार्यकालमा महानगर कार्यपालिकाको ५५औँ बैठकमा कुरा आएको वताउदै उद्योग खोल्नेमा आफ्नो सहमत भएपनि डम्पिङ्ग साइटका लागि सहमति नरहेको प्रष्ट पारेका थिए । उनले साबिक भरतपोखरी गाउँ विकास समितिका पूर्वअध्यक्ष यज्ञप्रसाद अधिकारीले यो विषय आम वडावासीको चासो र सरोकारको विषय भएको बताउँदैे जनताको भावना अनुसार अघि बढ्न सुझाव दिए ।

युवा नेता हेमबहादुर थापा किरणले जनताको हितमा निणर्य हुनुपर्नेमा जोड दिए ।  वक्ता विष्णुप्रसाद भण्डारीले महानगरपालिकाको वडा नं ३३का दक्षिण भेकका जनता विस्थापित गर्न खोजिएको विचार राखे ।

युवा श्रीधर पौडेलले भौगोलिक अवस्थिति अनुसार  पोखराकै उत्कृष्टस्थलका रुपमा रहेको भरतपोखरी पर्यटकीय गन्तव्य समेत भएकोे बताउँदै  यस स्थानमा कुनै पनि रुपमा ल्यान्डफिल्ड साइट राख्न स्थानीयवासी तयार नरहेको धारणा राखे । अर्का वक्ता शेषराज आचार्यले भरतपोखरीमा ल्यान्डफिल्ड साइट राख्ने षड्यन्त्रका विरुद्घ एक हुन आग्रह गरे ।

सरस्वती टीका माध्यमिक विद्यालयका अध्यक्ष ऋषिराज आचार्य, भरतपोखरी विकास मञ्चका अध्यक्ष डिल्लीराम बराल ,स्थानीय वासिन्दाहरु दिनेश आचार्य, माधव कँडेल,  वसन्तराज आचार्य, गोविन्द आचार्य, धनबहादुर भुजेल, अङ्कित गुरुङ्ग, अरुण त्रिपाठी, कृष्णप्रसाद आचार्य लगायतले ल्यान्डफिल्ड साइट राख्ने जस्तो निर्णयमा सरोकारावालाबीच छलफल नै नगरिनु दुःखद भएको बताउँदै निर्णय खारेज गराउन यहाँका जनप्रतिनिधि र दलहरुको जागरुकता आवश्यक भएकामा जोड दिएका थिए ।

यसअघि शनिवार नै पोखरा–३३ का दलहरुको बैठकले एकताबद्ध भएर ल्यान्डफिल्ड साइट राख्ने निर्णय खारेज गराउन लागिपर्ने गरी निर्णय भैसकेको कांग्रेस ३३ का सभापति तिलक अधिकारीले सुनाएका थिए ।

वडाले भरतपोखरीमा ल्यान्डफिल्ड साइट राख्ने निर्णय तत्काल खारेज गर्न माग गर्दै यस सम्बन्धमा विस्तृत छलफलका लागि वडाका जनप्रतिनिधिमार्फत सर्वपक्षीय भेला गरी अन्तर्क्रिया सम्पन्न गरेको हो ।

ल्यान्डफिल्ड साइट व्यवस्थापनका लागि महानगरले रु १० करोड विनियोजन गरेको विषयप्रति आपत्ति जनाउँदै यस वडामा शुक्रवार पनि ‘भरतपोखरीमा ल्यान्डफिल्ड कति ठीक ? कति बेठिक ?’ शीर्षकमा  छलफल कार्यक्रम भएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत