स्वास्थ्य

किस्ट अस्पतालले भन्याे : संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक

काठमाडाैं । बिरामी भएर अस्पताल भर्ना हुनुभएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको अस्पतालले जानकारी दिएको छ ।

जाेशीकाे अवस्था चिन्ताजनक रहेको किस्ट अस्पतालले आज शुक्रवार बुलेटिन निकालेर जानकारी दिएको हो । २२ दिनदेखि उपचाररत उनलाई हिजो बिहीवार आईसीयूमा सारेर उपचार थालिएको थियो । तर औषधिले शरीरमा राम्रो काम नगरेको अस्पतालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

शुक्रबार साँझ अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले विज्ञप्ति जारी गर्दै जोशीलाई पुरानो रोगले ग्रसित पारेका कारण औषधिले काम नगरेको जनाएका छन् ।

उनले जोशीको पछिल्लो अवस्थाबारे जानकारी दिँदै भनेका छन्, 'समग्रमा जोशीज्यूको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएकोले अवस्था चिन्ताजनक रहेको छ ।' जोशीको उपचारका प्रा. डा. मिलेशजंग सिजापतिको संयुक्त नेतृत्वमा उपचार भइरहेको पनि अस्पतालले जनाएको छ ।

१०३ वर्षीय जोशीको स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गते ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् । पछिल्लो समय स्वास्थ्यमा थप प्रतिकूलता देखिएपछि अहिले सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार भइरहेको छ ।

जोशीलाई लामो समयदेखि निमोनिया सङ्क्रमणका साथै मुटुको चालसम्बन्धी समस्या छ । साथै उनलाई डेङ्गी पनि भएको थियो ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत