गाउँ सहर

स्कुटर दुर्घटना हुँदा मकवानपुरमा ३ जनाको मृत्यु

काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका—९ भलादमी चोक नजिक सवारी साधनको ठक्करबाट तीनजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटरमा सवार मनहरी गाउँपालिका ८ का ३२ वर्षीय धर्मराज मोक्तान, ३० वर्षका मिलन मोक्तान र राक्सिराङ गाउँपालिका—३ का २९ वर्षका रुपेश तामाङ छन् ।

धर्मराज मोक्तानलाई आज (शुक्रबार) बिहान ३:३५ बजे तथा मिलन मोक्तान र रुपेश तामाङलाई अस्पताल पुर्याउनासाथ गएराति सवा १२ बजे डाक्टरहरुले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्ष कृष्णराज ढकालले जानकारी दिए ।

गएराति करिब पौने ११ बजेतिर मनहरी गाउँपालिका–९ को ज्यामिरे, भलादमी चोकमा स्कुटर दुर्घटना भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो । प्रहरीले तीनैजनालाई गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज पठाएको थियो ।

स्थानीयले भने सवारी साधनले ठक्कर दिंदा स्कुटरमा सवार तीनै जनाको मृत्यु भएको भन्दै दोषीलाई कारबाहीको माग गर्दै केहीबेर सडक बन्द गराएका थिए ।

ठक्कर दिने सवारीको पहिचान गरी नियन्त्रणमा लिन माग गर्दै स्थानीयले आज बिहान करिब २:५० बजेदेखि बन्द गराएको सडक प्रहरीले आज बिहान ६:२५ बजे खुलाइएको छ । ठक्कर दिने सवारीलाई यथाशीघ्र पत्ता लगाइ नियन्त्रणमा लिने निष्कर्षसहित सडक खुलाइएको प्रहरीले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत