कला

लघुकथा: टिकटक जाम

"दिदी एकछिन है । हामी टिकटक बनाउँदै छौँ ।" विवाह भइरहेको पार्टी प्यालेसको  प्रवेशद्वारमै झुम्मिएर टिकटक बनाउन लागेकाहरुले रमितालाई अगाडि बढ्न दिएनन् । बल्लतल्ल टिकटकको भिडियो तयार भएपछि उसले भित्र प्रवेश पाई । दुई पाइला मात्रै के अगाडि सारेकी थिई, एउटा अपरिचित आवाजले उसलाई पछ्यायो " आन्टी एकछिन त्यहीँ रोकिनुहोस् न । हाम्रो टिकटक सकिनै लाग्यो ।" चर्को घाममा पनि टिकटकमा व्यस्त ती महिलाहरुको आवाजले फेरि ऊ रोकिएर बसी । 

केही समयपछि ऊ फेरि अगाडि बढी । 

"एक छिन है । हाम्रो टिकटक सकिनै लाग्यो ।" फेरि टिकटकको अर्को जमातले उसलाई रोक्यो । अब त उसलाई कम्पारो तातेर आयो । उसले बडो अधीर हुँदै भनी," यसरी टिकटक बनाउने नाममा अरुलाई बारम्बार बिथोल्न त भएन नि ।" त्यहाँ निकै लामो बहस चल्यो । एकैछिनमा पार्टीप्यालेसका व्यवस्थापक पनि त्यहाँ आइपुगे । जब उसले यो कुराको सुइँको पाई तब उनीमाथि खनिदै भनी," अफिसबाट २ घण्टाको छुट्टी लिएर आएको छ, यहाँको हालत यस्तो छ । म्यानेजर साहेब ! अब तपाईंको पार्टी प्यालेसमा टिकटक जाम हटाउने कर्मचारी पनि राख्नुपर्‍यो ।"

तपाईँको मत