अर्थतन्त्र

यस्ताे छ मुलुककाे पछिल्लाे आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दश महिना अर्थात बैशाखसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले वृद्धि भई १० खर्ब ५ अर्ब १८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले बढेको थियो ।

त्यसैगरी, वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.८७ प्रतिशत रहेको थियो । यस अवधिमा चालु खाता ५४ अर्ब ६७ करोड रुपौयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.५४५ अर्ब ६ करोडले घाटामा रहेको थियो ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२८८ अर्ब ५० करोडले घाटामा रहेको थियो  ।

त्यस्तै २०७९ असार मसान्तमा.१२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले वृद्धि भई चालु आवको वैशाख मसान्तमा १४ खर्ब ७० अर्ब ३३ करोड पुगेको छ ।

आर्थिक वर्ष २०७९/८० को दश महिनामा संघीय सरकारको कुल खर्च नेपाल सरकार, अर्थ मन्त्रालय ( महालेखा नियन्त्रक कार्यालय) का अनुसार १० खर्ब ४७ अर्ब ७६ करोड भएको छ ।

समीक्षा अवधिमा चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्था खर्चतर्फ क्रमशः ७ खर्ब ८६ अर्ब ७४ करोड, १ खर्ब २५ अर्ब ६८ करोड र १ खर्ब ३५ अर्ब ३४ करोड रहेको छ । यस अवधिमा संघीय सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ७ खर्ब ५६ अर्ब २५ करोड भएको छ ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा यस अन्तर्गत कर राजस्व तर्फ रु.६८४ अर्ब ६३ करोड र गैर कर राजस्व तर्फ रु.७१ अर्ब ६२ करोड परिचालन भएको छ । आर्थिक वर्ष २०७९/८० को दश महिनामा कुल आन्तरिक कर्जा ५.७ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ११.६ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८० वैशाख मसान्तमा यस्तो कर्जा ८.४ प्रतिशतले बढेको छ ।

रेमिट्यान्स

चालु आर्थिक वर्षबाट प्रतिमहिना औसत एक खर्ब रेमिट्यान्स आउन थालेको छ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो १० महिना (साउन–वैशाख) मा औसत १० खर्ब ५ अर्ब १८ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्‍कअनुसार यो परिमाण गत वर्षको यस्तै अवधिको तुलनामा २३.४ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यस्तै अवधिमा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले बढेको थियो ।

१० महिनाको अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.४ प्रतिशतले बढेर ७ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.२ प्रतिशतले घटेको थियो ।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.४ प्रतिशतले बढेको छ । १० महिनामा ४ लाख २१ हजार २७९ जना श्रमिक नयाँ श्रम स्वीकृति लिएर विदेश गाएका छन् ।

विदेशी मुद्राको सञ्चिति

चालु आर्थिक वर्ष २०७९/८० को १० महिनाको अवधिमा नेपालमा विदेशी मुद्राको सञ्चिति १४ खर्ब ७० अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । यो चैत महिनासम्मको सञ्चिति भन्दा ३६ अर्ब ६० अर्ब रुपैयाँ धेरै हो । चैतसम्म १४ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ विदेशी मुद्राको सञ्चिति थियो । सो रकमले ९.४ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्थ्यो । १० महिना (वैशाखसम्म)को सञ्चितिले भने ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको नेपाल राष्ट्र बैंकको तथ्याङ्‍कमा उल्लेख छ ।

२०७९ असार मसान्तसम्म विदेशी मुद्राको सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रहेको थियो । वैशाख २०८० सम्म आइपुग्दा सञ्चितिमा २०.९ प्रतिशत थप भएको हो । अमेरिकी डलरमा २०७९ असार मसान्तसम्म ९ अर्ब ५४ करोडको सञ्चिति रहेकोमा २०८० वैशाखसम्म ११ अर्ब २१ करोड देखिएको छ ।

शोधनान्तर स्थिति

नेपालबाट मुलुकबाहिर हुने कारोबार भन्दा विदेशबाट नेपाल भित्र बढी रकमको कारोबार हुँदा शोधनान्तर स्थिति अहिले २ खर्ब भन्दा बढीले बचतमा छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७९/८० को १० महिना (जेठ मसान्त)सम्म शोधनान्तर स्थिति २१४ अर्ब ६७ करोडले बचतमा रहेको छ । यसअघि चैत मसान्तसम्म सोधनान्तर स्थिति १ खर्ब ८० अर्ब १७ करोड रुपैयाँ बचतमा थियो । एक महिनाको अवधिमा साढे ३४ अर्ब रुपैयाँ थप भएको तथ्याङ्‍कले देखाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ को १० महिनामा शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोड रुपैयाँले घाटामा थियो । यस वर्ष वस्तु आयातमा आएको उल्लेख कमी, रेमिट्यान्स र पर्यटन आयमा भएको सुधारको सकारात्मक प्रभाव शोधनान्तरमा देखिएको छ । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ४१ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ६३ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार १० महिनामा चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५४५ अर्ब ६ करोड रुपैयाँले घाटामा रहेको थियो । पूँजीगत ट्रान्सफर २०.५ प्रतिशतले घटेर ६ अर्ब ३६ करोड कायम भएको छ । खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ३६ करोड रहेको छ । अघिल्लो आवको यसै अवधिमा पूँजीगत ट्रान्सफर ७ अर्ब ९९ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ६५ करोड रहेको थियो ।

चालु आर्थिक वर्षको दश महिना अर्थात बैशाखमा उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको दशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.८७ प्रतिशत रहेको थियो ।

उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.५४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८९ प्रतिशत रहेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २६.६१ प्रतिशत, रेष्टुरेण्ट तथा होटलको १४.८७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.६९ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.४१ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४९ प्रतिशतले बढेको छ ।

गैर–खाद्य तथा सेवा समूह अन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५.७५ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको १३.०८ प्रतिशत, शिक्षाको १०.५६ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ९.६५ प्रतिशत र फर्निसिब तथा घरायसी उपकरणहरुको ८.२७ प्रतिशतले बढेको छ ।

यस अवधिमा महिनामा काठमाडौं उपत्यकामा ७.६८ प्रतिशत, तराईमा ७.१५ प्रतिशत, पहाडमा ७.५७ प्रतिशत र हिमालमा ७.१२ प्रतिशत मुद्रास्फीति रहेको छ । गत आवको वैशाख महिनामा यी क्षेत्रहरुमा क्रमशः ७.३९ प्रतिशत, ८.१५ प्रतिशत, ७.८९ प्रतिशत र ८.२१ प्रतिशत मुद्रास्फीति रहेको थियो।

पूर्णपाठ

गाउँ सहर संवाददाता

तपाईँको मत