शिक्षा

काठमाडौं महानगरपालिकाद्वारा कक्षा १० सम्मका विद्यार्थीलाई खाजाको व्यवस्था

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ६-१० का विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने भएको छ ।

गत वर्ष कक्षा ८ सम्म दिंदै आएको महानगरले यो वर्ष बढाएर कक्षा १० सम्म दिने भएको हो ।

संघीय सरकारले प्रतिविद्यार्थी १५ रुपैयाँ कक्षा ६ सम्म दिंदै आइरहेकोमा काठमाडौं महानगरले गत वर्ष १० रुपैयाँ थप गरेर २५ बनाएको थियो । साथै, कक्षा ७ र ८ लाई पनि महानगरले दिवा खाजा दिँदै आइरहेको थियो ।

यो वर्ष अर्थमन्त्रालयले कक्षा ५ सम्मकालाई मात्रै दिवा खाजा रकम छुट्याएको छ । त्यसमा महानगरले कक्षा ५ सम्मकालाई संघीय सरकारले दिँदै आएको १५ रुपैयाँमा महानगरले १५ रुपैयाँ थप गर्दै ३० पुर्‍याएको छ भने कक्षा ६-१० लाई पनि दिवा खाजा दिने निर्णय गरेको छ ।

काठमाडौं महानगरपालिका शिक्षा विभागका शिक्षा अधिकारी सीताराम कोइरालाले सबै विद्यालयहरुलाई भदौ महिनादेखि कक्षा १० सम्मका विद्यार्थीको लागि प्रतिविद्यार्थी ३० रुपैयाँ उपलब्ध गराउने भएकोले त्यही अनुसार लागू गर्न पत्राचार गरेका छन् ।

काठमाडौं महानगरले यो वर्ष शिक्षामा ७५ करोड ९ लाख ३३ हजार रकम विनियोजन गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत