वातावरण

देशैभरि वर्षा, आवश्यक सतर्कता अपनाउन अनुरोध

काठमाडौं । आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । काठमाडौंलगायत देशका विभिन्न भू–भागमा गए रातिदेखि नै वर्षा भइरहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा भने मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। 

बुलेटिनअनुसार राति पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ। 

पाँचवटा प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने विभागले जनाएको छ । नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षयजस्ता प्रकोप हुनसक्ने भएकाले आवश्यक सतर्क रहन विभागले सचेत गराएको छ । 

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा रहेको छ । नेपालमा हाल भारतको केन्द्रीय मध्यप्रदेश र आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत