गाउँ सहर

एमसिसीको व्याख्यात्मक घोषणासँग सहमत छौँ : अमेरिकी दूतावास

अमेरिकी राजदूतावासले गत वर्ष संसदबाट एमसिसी पारित हुँदा थपिएको व्याख्यात्मक घोषणासँग सहमत भएको पुनः स्पष्ट पारेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत सत्तारुढ दलका नेताले नै व्याख्यात्मक टिप्पणीबारे प्रश्न उठाएपछि अमेरिकाले प्रतिक्रिया जनाएको हो ।

 अमेरिकाले नेपालमा ५० करोड अमेरिकी डलर अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट (एमसीसी) कार्यान्वयनमा जानु अघिल्लो दिन मंगलबार फेरि उक्त सम्झौतालाई लिएर वक्तव्य जारी गरेको छ । 

नेपालको संघीय संसद्को प्रतिनिधिसभाले २०७८ फागुन १५ मा १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित एमसीसीलाई अनुमोदन गरेको थियो । सोही दिन बेलुकी काठमाडौंस्थित अमेरिकी दूतावासले उक्त अनुमोदनलाई लिएर स्वागत गरेको थियो ।

नेपालमा बुधबारदेखि एमसीसी कार्यान्वयनमा जाँदैछ । त्यसअघि नेपालमा भइरहेको टीकाटिप्पणीलाई मध्यनजर गरेर अमेरिकी दूतावासले वक्तव्यमार्फत मंगलबार प्रतिक्रिया दिएको छ । ‘एमसीसीले गत वर्ष व्याख्यात्मक घोषणा प्राप्त गरेको थियो । हामी उक्त व्याख्यात्मक घोषणासँग सहमत छौं र नेपालको संविधान एमसीसी नेपाल कम्प्याक्टभन्दा माथि छ भन्ने लगायत कम्प्याक्टका सर्तहरुसम्बन्धी हाम्रो बुझाईसँग उक्त व्याख्यात्मक घोषणा सम्मत छ भन्ने हामीलाई लागेको छ,’ दूतावासको भनाइ छ ।

नेपालको संसद्‌बाट अनुमोदन भएपछि एमसीसी मुख्यालयले पनि त्यसलाई लिएर स्वागत गरिसकेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत