शिक्षा

यी कलेजले छात्रवृत्तिका विद्यार्थीसँग शुल्क मागेपछि काठमाडाैं महानगरले थाल्याे अनुगमन

काठमाडौं । चालु शैक्षिक सत्रको कक्षा ११ मा छात्रवृत्ति कोटाबाट भर्ना भएका विद्यार्थीसँग विद्यालयहरुले शुल्क मागेको गुनासो आएपछि काठमाडौं महानगरपालिकाले छानबिन तथा अनुगमन थालेको छ । शिक्षा विभागबाट शिक्षा अधिकृत नेत्रनारायण पौडेल, प्रमुखको सचिवालयबाट सस्मित पोखरेल र सहरी योजना आयोगका सदस्य शैलेन्द्र झा रहेको टोलीले मंगलबारबाट छानबिन र अनुगमनको काम थालेको छ । विभिन्न माध्यमबाट १० वटा विद्यालयले शुल्क लिएको भन्ने उजुरी महानगरपालिकामा आएका छन् । 

सोमबार, मंगलबार र बुधबार ३ दिनमा टोलीले गोल्डेन गेट, ग्लोबल, सिफल सेकेण्डरी स्कूल (डियरवक), काठमाडौं मोडेल कलेज, एभरेष्ट फ्लोरिडा, सीसीआरसी गरी ६ वटा विद्यालयको अनुगमन भयो । यीमध्ये एभरेष्ट फ्लोरिडाबाहेक अरु विद्यालयले कुनै न कुनै रुपमा शुल्क माग गरेको देखियो । प्रमुखको सचिवालय सदस्य पोखरेलले भने, ‘सिफल स्कूलले मासिक ९ हजार ५ सय रुपैयाँसम्म माग गरेको देखियो ।’ पोखरेलका अनुसार, पुस्तकालय, प्रयोगशाला, अतिरिक्त कक्षा, अतिरिक्त क्रियाकलाप, दर्ता जस्ता शीर्षकमा शुल्क मागेको देखिन्छ । 

अनुगमनपछि विद्यालयहरुले छात्रवृत्ति कोटामा भर्ना भएका विद्यार्थीहरुसँग कुनै पनि शीर्षकमा शुल्क नउठाउने बताएका छन् ।  

काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को परिच्छेद १० मा को कुल विद्यार्थी सङ्ख्याको कम्तीमा १० प्रतिशतमा नघटाई जेहेन्दार, विपन्न, असहाय तथा गरिब, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द्व पीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने ब्यवस्था छ । यही ब्यवस्थाअनुसार महानगरपालिकाले कक्षा ११ मा भर्ना भएर छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका बिच परीक्षा लिएर म्याचिङ् लिष्टबाट नाम शिफारिस गरेको हो । यसरी शिफारिस गरिएका विद्यार्थीहरुले कक्षा ११÷१२ मा कुनै पनि प्रकारको शैक्षिक शुल्क तिर्नु पर्दैन ।

काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई अनलाइन प्रणालीबाट आवेदन माग गरेको थियो । यसबाट ३ हजार ९१३ जना छात्र र २ हजार १०४ जना छात्रा गरी ६ हजार १७ जनाले आवेदन दिएका थिए । साउन २० गते लिइएको प्रवेश परीक्षामा आवेदकमध्ये ३ हजार ४ सय छात्र र १ हजार ७७२ जना छात्रा गरी ५ हजार १७२ जना विद्यार्थी सहभागी थिए । परीक्षाको प्रारम्भिक नतिजा प्रकाशन गरेर चित्त नबुझ्ने विद्यार्थीलाई पुनर्योगका लागि २ दिन समय दिइएको थियो । त्यसपछि साउन २९ गते २ हजार ३२२ जना परीक्षार्थीको नाम छात्रवृत्तिका लागि म्याचिङ् लिष्ट, भर्नाको पहिलो सूचीमा सार्वजनिक भएको थियो । त्यसपछि कोटाका आधारमा म्याचिङ् लिष्ट सार्वजनिक गरिएको थियो । 

छात्रवृत्ति कोटामा शिफारिस भएका विद्यार्थीहरुसँग शुल्क उठाउने विद्यालयहरुलाई कारवाही गर्ने महानगरपालिकाको तयारी छ । 

छात्रवृत्ति र शुल्कसँग सम्बन्धी गुनासो गर्नु परे छानबिन तथा अनुगमन टोलीका अधिकारीहरुसँग (नेत्रनारायण पौडेल, फोन नं. ९८५११९९९४५, सस्मित पोखरेल, फोन नं. ९८४००७१५५५ र शैलेन्द्र झा फोन नं. ९८५११४६८९६) लाई फोन गर्न सकिने अधिकारीहरुको भनाइ छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत