गाउँ सहर

एमसिसी प्रसारण लाइनको टेन्डर रद्द

काठमाडौं ।  न्यूनतम लागत भन्दा बढीमा प्रस्ताव परेपछि एमसिसी प्रसारण लाइनको टेन्डर रद्द भएको छ। 

एमसिए नेपालले गरेको अनुमानित लागतभन्दा न्यूनतम लागत नै ६१ प्रतिशत महँगो हुने गरी टेन्डर परेपछि रद्द भएको हो।

एमसिसी परियोजना अन्तर्गतको प्रसारण लाइन निर्माणका लागि तीन चरणमा विभाजन गरेर अघि बढाइएको ठेक्का प्रक्रियामा गत जेठ ८ गते टेन्डर खुला गरिएको थियो।

प्रसारण लाइन निर्माणको लागि एमसिए नेपालले २२ करोड ६ लाख डलरको अनुमानित लागत निकालेको थियो। तर, न्यूनतम बोलपत्रको रकम ३६ करोड ५९ लाख डलर पुगेको थियो।

अमेरिकी अनुदानमा निर्माण हुने विद्युत्तीय प्रसारण लाइन सम्बन्धी तीनवटै प्याकेजको ठेक्का रद्द भएको हो। 

यो परियोजना कार्यान्वयन गर्ने निकाय एमसिए नेपाललाई एमसीसी मुख्यालयले ठेक्का रद्द गरेर नयाँ प्रक्रियामा जान सुझाव दिएपछि यस्तो निर्णय लिइएको हो। 

काउन्डाउन सुरु भएको उक्त परियोजनामा ढिलाइ गर्ने विकल्प उपलब्ध नभएका कारण केही दिनमै स्पेसिफिकेसन र स्काकेप अफ वर्क परिर्वतन गरेर बोलपत्र निकाल्ने एमसिएको तयारी छ।

एमसिए नेपालले यसअघि आह्वान गरेको बोलपत्रमा ६७ प्रतिशत भन्दा धेरै दाबी गरेर ठेकेदारहरूले बोलपत्र हालेका थिए। त्यसपछि एमसिएले त्यसको न्यूनतम दाबी गर्नेसँग अनौपचारिक छलफल समेत गरेको थियो। सँगै मुख्यालयलाई कसरी अघि बढ्ने भनी राय पनि माग गरेको थियो।

एमसिएले २२ करोड डलरमा  चार सय केभी क्षमताको ३ सय १५ किलोमिटर विद्युत प्रसारणलाइन बनाउन गत वर्षको मंसिर १२ गते बोलपत्र आह्वानसम्बन्धी पहिलो सूचना जारी गरेको थियो।

तीन वटा प्याकेज बनाएर अलगअलग बोलपत्र आह्वान गरिएकोमा ६ वटा कम्पनीले प्रस्ताव पेस गरेका थिए। तीमध्ये प्राविधिक मूल्यांकनबाट ५ वटा मात्र छनोट भएका थिए। ५ वटाको वित्तीय प्रस्ताव खोल्दा न्यूनतम कबोल नै दुई तिहाइभन्दा बढीको परेको थियो।यी सबै प्रस्तावक कम्पनी भारतीय थिए। ५ वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने परियोजनाको दिन गन्तीमा डेढ महिना बितिसकेको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत