स्वास्थ्य

स्तन क्यान्सरका बिरामीलाई पाटन अस्पतालले निःशुल्क औषधि उपलब्ध गराउने

काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्तन क्यान्सरका बिरामीहरूलाई निःशुल्क औषधि उपलब्ध गराउन थालेको छ ।

पाटन अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा.अरुण शाहीले प्रतिष्ठानले स्तन क्यान्सरविरुद्धको मेटास्टेटिक (चौथो स्टेज)को हार्मोन पोजेटिभ भएका बिरामीलाई राइबोसिक्लिब लेट्रोजोल भन्ने ट्याब्लेट स्तन क्यान्सरका बिरामीलाई निःशुल्क उपलब्ध गराउन थालेको जानकारी दिए ।

अस्पतालबाट अहिलेसम्म चार जनाले सेवा लिइसकेका छन् । डा.शाहीका अनुसार यी औषधिहरू मेटास्टेटिक अवस्थामा पुगेका बिरामीका लागि अत्यन्तै प्रभावकारी छन् । युएसएफडीए मान्यता प्राप्त यो औषधि युरोप अमेरिकामा पहिलो रोजाइमा पर्दछ ।

किमो थेरापीको विकल्पमा स्तन क्यान्सर भएकालाई यो औषधि दिइने उनले जानकारी दिए ।  

उनले भने, “यो औषधि क्यान्सर उपचारका प्रयोग हुने किमोथेरापीको विकल्पमा आएको एक किसिमको टार्गेटेड थेरापी हो । यो औषधि किमोको तुलनामा बढी प्रभावकारी भएको अध्ययनहरूले पुष्टि गरेको छ ।” 

डा.शाहीका अनुसार यो औषधि महिनामा २१ दिन प्रयोग गर्नुपर्छ । उनले भने, “यो औषधि महिनाको २१ दिन प्रयोग गर्नुपर्छ फेरि एक हप्ता छोड्ने र फेरि अर्को महिना २१ दिन सेवन गर्ने गर्नुपर्छ ।”

पाटन अस्पतालले म्याक्स फाउन्डेशनको सहयोगमा यस अघि पनि फोक्सोको केही प्रकारको क्यान्सर, रगतको क्यान्सर, पेटको एक किसिमको क्यान्सर र मिर्गौला लगायतको क्यान्सरबाट गम्भीर अवस्थामा पुगेकाहरूका लागि ‘टार्गेटेड थेरापी’ अन्तर्गत विश्वस्तरीय औषधि निःशुल्क उपलब्ध गराउर्दै आएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत