गाउँ सहर

एनसेलको सेयर खरिदबिक्री रोक्न उच्च अदालत पाटनको अल्पकालीन आदेश

काठमाडौं । उच्च अदालत पाटनले एनसेलको शेयर खरिद विक्री सम्बन्धी काम विद्यमान कानून बमोजिम भए नभएको निर्क्यौल गर्नु पर्ने भन्दै तत्काल सो कारोबार रोक्न र खरिदबिक्री भएका शेयर दर्ता किताबमा दर्ता नगर्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश पुरुषोत्तम ढकालको एकल इजलासमा बिहीबारको सुनुवाइपछि यस्तो आदेश दिएको हो ।

गोकुलबहादुर रोकायको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले साउन २५ गते विपक्षीलाई समेत उपस्थित गराउन र यस सम्बन्धी दायर अन्य रिटलाई पनि लगाउमा राख्न आदेश दिएको छ ।

गोकुलबहादुर रोकायाले एनसेलको शेयर खरिदबिक्रीको निर्णय सार्वजनिक भएलगत्तै उक्त कारोबारलाई नेपालभित्र मान्यता नदिन माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेका थिए ।

गत हप्ता मलेसियाली कम्पनी आजियटाले एनसेलको आफ्नो सेयर गैरआवासीय नेपाली सतीशलाल आचार्यलाई बिक्री गरेको जानकारी गराएको थियो । उसले एनसेलको ८० प्रतिशत शेयर स्वामित्व भएको रेनोल्ड होल्डिङ्स नामक कम्पनी सतीशलालको कम्पनी स्पेक्ट्रलाइट यूके लिमिटेडलाई करिब ६ अर्ब नेपाली रुपैयाँमा बिक्री गरेको उल्लेख गरेको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत