अर्थतन्त्र

पहिलो तीन महिनाको औसत उपभोक्ता मुद्रास्फीति ७.७४ प्रतिशत

काठमाडाैँ । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा अनुसार आव २०८०/८१ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.५० प्रतिशतको सीमाभित्र रहने गरी मौद्रिक व्यवस्थापन गरिने नीति लिइएकोमा पहिलो तीन महिनाको औसत उपभोक्ता मुद्रास्फीति ७.७४ प्रतिशत कायम भएको बताएकाे छ ।

उसका अनुसार समीक्षा अवधिमा खासगरी खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि दर उच्च रहेको छ । कम्तिमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य रहेकोमा २०८० असोज मसान्तमा १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति कायम रहेको छ । मौद्रिक नीतिको कार्यदिशा र विप्रेषण आप्रवाहमा आएको सुधारका कारण शोधनान्तर बचत कायमै रहेकोले विदेशी विनिमय सञ्चिति वृद्धि भैरहेको छ ।

मौद्रिक नीतिमा भनिएकाे छ- बैकिङ प्रणालीको तरलतामा आएको सुधारले गर्दा २०८० असोजमा बैंक तथा वित्तीय संस्थाहरुको भारित औसत अन्तरबैंक दर २.२६ प्रतिशत कायम भएको छ । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जाको वृद्धि दर न्यून रहेको स्थितिलाई दृष्टिगत गरी पछिल्लो केही समय खुला बजार कारोबारबाट पर्याप्त मात्रामा तरलता प्रशोचन गरिएको छैन ।

आर्थिक वर्ष २०८०/८१ मा विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाह हुनेकर्जा ११.५ प्रतिशतसम्मले वृद्धि हुने प्रक्षेपण गरिएकोमा २०८० असोज मसान्तमा वार्षिक बिन्दुगत आधारमा विस्तृत मुद्राप्रदाय १४.० प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा ४.८ प्रतिशतले वृद्धि भएको छ । विस्तृत मुद्राप्रदायमा भएको वृद्धिले तरलता सहज हुँदै गएको मौद्रिक नीतिमा उल्लेख छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत