गाउँ सहर

स्वास्थ्य बीमा बोर्डकाे निर्णय : दीर्घ रोगीलाई थपियाे यस्ताे सुविधा

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको बैठक बसेको छ । बोर्डका अध्यक्ष डा. गुणराज लोहनी बुधबार बैठक राखेर दाबी भुक्तानीलाई चुस्त बनाउन कार्यदल गठन गर्ने र सुविधाको थैलीमा पर्ने औषधिको मूल्य समायोजनको कार्यलाई अघि बढाउने निर्णय गरेको छ ।

नियमित औषधि खाने दीर्घरोगीहरूलाई तीन-तीन महिनाको औषधि दिन मिल्ने । एउटै रोगका लागि फलोअपमा जानु पर्ने बिरामीले पटक पटक रेफर बनाउन नपर्ने लगायतका निर्णय गरेको छ । 

निर्णयहरू यस्ता छन्:

१. २०८० असार मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य संस्थाहरूबाट पेश भएका दाबीहरूलाई पुनरावलोकन गर्नका लागि सातै प्रदेशमा परिचालन भई अनुगमन गर्ने गरी पाँच सदस्यीय विज्ञ समूहको एक स्वतन्त्र दाबी पुनरावलोकन समिति गठन गरी, समितिको कार्य विवरण तयार गर्ने र एक महिनाभित्र दाबी पुनरावलोकन गराउने व्यवस्थाका लागि जिम्मेवारी दिने निर्णय गरेको छ । पाँच जनाको विज्ञ समूहमा चिकित्सा शास्त्रमा स्नातकोत्तर गरेको विशेषज्ञ चिकित्सक, एक जना मेडिकल अधिकृत, एक जना फार्मेसी अधिकृत, बोर्डको दाबी व्यवस्थापन शाखाबाट एक जना र आइटी शाखाबाट एक जना रहनेछन् ।

२. स्वास्थ्य बीमाको सुविधा थैली अन्तर्गतको औषधिको शुल्क समयानुकूल समायोजन गर्न एक समिति बनाई एक महिना भित्र प्रतिवेदन पेश गर्न लगाउने । औषधिको शुल्क तीन वर्षमा समायोजन गर्ने भनिए पनि अहिलेसम्म गरिएको छैन ।

३. स्वास्थ्य बीमा ऐन २०७४ को दफा ७ मा भएको व्यवस्था बमोजिम सहभुक्तानी (को पेमेन्ट) प्रणाली लागू गर्नका लागि बनेको कार्यविधि – २०८० लाई परिमार्जनसहित स्वीकृत गरी आगामी १ माघ देखि कार्यान्वयनमा ल्याउने ।

४. सेवा प्रदायक स्वास्थ्य संस्थाले दाबी गर्ने व्यवस्थालाई एपीआईको माध्यमबाट रियल टाइम गर्न सक्ने गर्ने व्यवस्था मिलाउन जोड दिने ।

५. नियमित औषधि सेवन गरिरहेका दीर्घ रोगीलाई स्वास्थ्य बीमा कार्यक्रमबाट हाल एक–एक महिनाका लागि दिइरहेको औषधि अब चाहि तीन–तीन महिनाका लागि दिने व्यवस्था मिलाउने ।

६. एक पटक रेफर भई आएका बिरामीलाई सोही रोग निर्क्योल नहुँदासम्म फलोअपका लागि आउँदा पुन: प्रेशण स्वीकृत (रेफर) लिई रहन नपर्ने व्यवस्था मिलाउने ।

७. स्थायी संगठन संरचनाको स्वीकृतिका लागि पहल गर्ने ।

८. स्वास्थ्य बीमा बोर्डको आवश्यक जनशक्तिको माग गरी मिति २०८० वैशाख १४ गते प्रकाशित सूचना अनुसार २ असारमा लिइएको परीक्षाको नतिजा यथाशक्य छिटो प्रकाशित गर्ने ।

गाउँ सहर संवाददाता

तपाईँको मत