गाउँ सहर

विभिन्न देशहरूमा पठाइदिने भन्दै १० करोड बढी रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै १० करोड रूपैयाँभन्दा बढी रकम ठगी गरेको अभियोगमा ललितपुर कोन्जोसोम गाउँपालिका- १ बस्ने सी स्टार ट्रेनिङ सेन्टरका सञ्चालक ४७ वर्षीय लालबहादुर लामालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं महाराजगञ्जमा उक्त ट्रेनिङ सेन्टर सञ्चालन गर्दै आएका लामा वैदेशिक रोजगारीको लागि लिथोनिया, क्यानडा, सिंगापुर जस्ता मुलुकहरूमा आकर्षक तलबको प्रलोभनमा पारी उक्त रकम ठगी गरी फरार रहेका थिए । पीडितहरुको उजुरीपछि उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको छोलीले काठमाडौं महानगरपालिका- ३१ शंखमूलबाट नियन्त्रणमा लिएको हो ।

लामाले पीडितहरूबाट ५ देखि १५ लाख रूपैयाँसम्म लिई वैदेशिक रोजगारमा पठाउन नसकेको र कतिपय व्यक्ति सिंगापुर पुगेपछि विमानस्थलबाटै नेपाल फर्काइएकोसमेत अनुसन्धानमा खुल्न आएको छ । उक्त ट्रेनिङ सेन्टरबाट ९९७ थान राहदानीसमेत बरामद भएको छ ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत