गाउँ सहर

काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियार

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत फेरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई मधेसी आयोगमा सरुवा गर्दै राष्ट्रिय योजना आयोगका सहसचिव प्रदीप परियारलाई महानगरको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त गरेको हो ।

काठमाडौँ महानगरको कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा भएको अनियमितताको विषयमा अधिकारीको नाम जोडिएको थियो  । उनको नाम जोडिएपछि मेयर बालेन साहले उनलाई बिदामा बस्न भनेका थिए । अन्ततः अधिकारीको सरुवा आयोगमा भएको हो । 

युवा तथा कान्छा सहसचिव परियारका लागि यो निकै राम्रो अवसर पनि हो भने त्यतिकै चुनौती पनि छ । सङ्घीय राजधानीस्थित ठुलो महानगरमा मेयर साहको योजना अनुरूप सबैलाई मिलाएर अघि बढ्नु पर्ने चुनौती छ । यद्यपि मेयर साहकै रोजाईमा उनी त्यहाँ गएकोले लय मिलाउन सके उतिकै सहज पनि छ ।

काठमाडौं महानगरमा केही करार कर्मचारी थप्ने सम्बन्धी प्रस्तावमा गडबडी गरिएको पाइएपछि मेयर बालेन्द्र साहले चार कर्मचारीलाई निलम्बनमा राखेका थिए । उनकै सचिवालयकी एक कर्मचारीले छलछाम गरेर आफ्नी छोरीलाई करार जागिरमा घुसाउने प्रयास गरेकी थिइन् । उक्त काममा प्रमुख प्रशासकीय अधिकृतको पनि हस्ताक्षर प्रयोग भएको पाइएपछि बालेनले उनलाई पनि अफिस नआउन निर्देशन दिएका थिए । उनको गाडी पनि खोसिएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत