अर्थतन्त्र

कीर्तिमानी रेमिट्यान्समा निरन्तरता

काठमाडाैं । अघिल्लो आर्थिक वर्षको सुरुदेखि नै रेमिट्यान्स वृद्धिदर उच्च देखिएकाे दर कीर्तिमान रच्दै निरन्तर पाइरहेकाे छ ।

चालू आर्थिक वर्षको आधा अवधि अर्थात्‌ पुस मसान्तसम्म विदेश गएका नेपालीले ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) पठाएका छन्‌ । कूल वार्षिक बजेटको झण्डै ५० प्रतिशत बराबर हुन आउने रकम रेमिट्यान्सबापत प्राप्त भएको हो । 

नेपाल राष्ट्र बै‌कले मंगलबार सार्वजनिक गरेको दशकाे वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा उल्लेख भएअनुसार पुस मसान्तसम्म नेपाललाई ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ विप्रेषण प्राप्त भएको हो । पुस महिनामा मात्रै १ खर्ब २० अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स आप्रवाह भएको छ ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २२.६ प्रतिशतले वृद्धि भई ५ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।

डेढ वर्षअघि निकै कमजोर अवस्थामा रहेको विदेशी मुद्रा सञ्चिति गत मंसिरमा अमेरिकी डलरमै हालसम्मकै सबैभन्दा उच्च भएको छ । नेपाली रुपैयाँमा गत कात्तिकमै सबैभन्दा धेरै बनेको विदेशी मुद्रा सञ्चिति गत मंसिरयता अमेरिकी डलरमा पनि हालसम्मकै धेरै पुगेको हो ।

मुलुकको विदेशी विनिमय सञ्चितिमा रेमिट्यान्सको योगदान दुई तिहाइभन्दा बढी छ । तर, निर्यात, पर्यटन, विदेशी सहयोग, अनुदान, ऋणलगायतका स्रोत प्रभावकारी बन्न नसकिरहेका बेला रेमिट्यान्समाथिको परनिर्भरता भने बढ्दै गएकामा अर्थविद्हरूको चिन्ता छ । ‘निजी क्षेत्र निरुत्साहित छ, सरकारले विकास खर्च बढाउन सकेको छैन ।

प्राप्त रेमिट्यान्स गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा २५.३ प्रतिशत बढी हो । तर, रेमिट्यान्स बढे पनि अघिल्लो वर्षको सोही अवधि तुलनामा यो वर्षको पुससम्म वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ । 

गत आर्थिक वर्षको पुससम्म अन्तिम श्रम स्वीकृतितर्फ २ लाख ७५ हजार ६४३ र पुनः श्रम स्वीकृति लिएर १ लाख ४२ हजार ५४८ जना विदेश गएका थिए ।

यो पुससम्म भने जम्माजम्मी १ लाख ३५ हजार ४३५ जनाले पुनः श्रम स्वीकृति लिएको केन्द्रीय बैंकले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत